Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेन्ट्रल जोन भलिबल फाइनल : लगातार दोस्रो उपाधिमा नेपालको नजर


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १३ २०७८
  • 5.9K
    SHARES

काठमाडौं । साविक विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि रक्षाका लागि आज उज्वेकिस्तानसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।

६ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । फाइनलसम्म अपराजित रहेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो पटक उपाधि भित्राउने योजनामा छ ।

उपाधि रक्षा गर्ने लक्ष्यसहित ढाका पुगेको नेपाल सिंगल राउण्ड रोविनमा सबै पाँच खेल जित्दै १४ अंक जोडेर शीर्ष स्थानमा रह्यो । उज्वेकिस्तान भने चार खेल जित्दै ११ अंक जोडेर दोस्रो हुँदै फाइनल पुगेको हो ।

उज्वेकिस्तानले लिगमा नेपालसँग मात्र हार व्यहोरेको थियो । नेपाल र उज्वेकिस्तानले श्रीलंकालाई समान ३-२ को सेटमा हराएका थिए ।

पहिलो खेलमै श्रीलंकासँग खेलेको नेपालले तालमेल नमिल्दा सुरुवाती दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै ५ सेटको खेलमा ३-२ ले पराजित गरेको थियो । त्यसपछि भने नेपालले माल्दिभ्स, बंगलादेश, उज्वेकिस्तान र कीर्गिस्तानलाई सोझो सेटमा हरायो ।

पछिल्लो पटक सन् २०१९ मा बंगलादेशमै भएको पहिलो संस्करणमा नेपालले माल्दिभ्सलाई फाइनलमा हराएर अपराजित रहँदै उपाधि जित्दा कुनै सेट गुमाएको थिएन । यस पटक सुरुमै दबाबमा परे पनि त्यसपछि भने नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

नेपालले सुधार गर्नुपर्ने पक्ष

उज्वेकिस्तान राम्रो टिम छ । विपक्षीलाई कमजोर नठानी हामीले हाम्रो खेल खेल्ने हो भने थोरै अंकमै जित्न सकिन्छ जस्तो लाग्छ -क्याप्टेन अरुणा शाही

अब फाइनलमा पनि त्यही लय कायम राख्दै उपाधि जित्ने नेपालको लक्ष्य छ । यद्यपि फाइनलमा लिग चरणमा भन्दा राम्रो प्रदर्शन गर्नुपर्ने प्रशिक्षक जगदिश भट्टले ढाकाबाट अनलाइनखबरलाई बताए । उनले भने, ‘उज्वेकिस्तानसँग लिगमा चरणमा पहिलो पटक खेल्दा उनीहरुले निकै राम्रो प्रदर्शन गरे । सुरुमा नेपाललाई पनि केही गाह्रो बनाएको थियो । नेपालले सम्हालिएर राम्रो खेल्यो । फाइनलमा नेपालले लिगमा भन्दा राम्रो प्रदर्शन गर्नुपर्छ ।’

त्यसका लागि नेपालले केही पक्षमा सुधार गर्नुपर्ने प्रशिक्षक भट्टले बताए । ‘हामीले ब्लक र रिसिभमा अझ सुधार गर्नुपर्छ । अन्य क्षेत्रमा सुधार भइरहेको छ,’ प्रशिक्षक भट्टले भने ।

श्रीलंकासँग ५ सेट खेलेको नेपालले बाँकी चार टिमलाई ३-० को सेटमा हराए पनि उज्वेकिस्तानले नेपाललाई कडा चुनौती दिएको थियो । पहिलो खेलमा केही दबाबमा देखिएको नेपालले त्यसपछि भने विपक्षीलाई नै दबाबमा राखेको छ । पछिल्लो पटक फाइनल खेलेको माल्दिभ्स, बंगलादेश र कीर्गिस्तानलाई नेपालले सहजै हराएको थियो ।
श्रीलंकालाई नेपालले दुई वर्षअघि नेपालमै भएको १३औं सागमा पनि पराजित गरेको थियो । उज्वेकिस्तानसँग पहिलो पटक खेले पनि नेपालले खेल जितेको थियो । त्यही लय कायम राख्दै लगातार दोस्रो पटक उपाधि भित्राउने योजना नेपालको छ ।

लगातार दोस्रो पटक आफ्नै कप्तानीमा नेपाल फाइनलमा पुगेकोमा अरुणा शाही पनि उत्साहित छन् । लिगमै सोझो सेटमै हराइसकेको टिम भएकाले पनि नेपालको मनोबल उच्च छ । तैपनि कप्तान अरुणाले विपक्षीलाई कहिल्यै कमजोर नआँक्ने बताइन् । ‘लिगमा ३-० ले जिते पनि उज्वेकिस्तान राम्रो टिम छ । विपक्षीलाई कमजोर नठानी हामीले हाम्रो खेल खेल्ने हो भने थोरै अंकमै जित्न सकिन्छ जस्तो लाग्छ ।’

२०१९ मा बंगलादेशमै पहिलो संस्करणमा उपाधि जित्दा धेरै नै सहज भएको स्मरण गर्दै कप्तान अरुणाले यस पटक भने सुरुमै केही कठिन भएको तर त्यसपछि खेल राम्रो हुँदै आएको बताइन् । ‘पहिलो खेल सोचे जस्तो हुन सकेन । त्यसपछि भने राम्रो हुँदै आयो,’ उनले भनिन् ।

डेब्यु गरेका खेलाडीको उत्साजनक प्रदर्शन

यस पटक टिममा तीन नयाँ खेलाडी समावेश गरिएकोमा शान्ती थारुले सेटमै खेल्दै आएकी छिन् । शान्तीसँगै कामना विष्ट र लक्ष्मी चन्दले पनि राष्ट्रिय टिममा डेब्यु गरे । यी तीनसँगै पुनरागमन गरेका कृपा अधिकारी र मनिषा चौधरी अनि १३औं सागमा राष्ट्रिय टिममा डेब्यु गरेकी उषा भण्डारीले पहिलो पटक सेन्ट्रल जोनको फाइनल खेल्दैछन् ।
कप्तान अरुणासहित सरस्वती चौधरी, प्रतिभा माली, सलिना श्रेष्ठ, सुनिता खड्का र सफिया पुन लगातार दोस्रो पटक फाइनल खेल्दैछन् । सलिना, सुनिता र सफियाले पहिलो संस्करणमा डेब्यु गरेका थिए ।

यस पटक नयाँ खेलाडीले पनि राम्रो प्रदर्शन गरेको प्रशिक्षक भट्ट र कप्तान शाहीले बताए । त्यसमा पनि शान्तीले उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् ।

शान्तीले डेब्यु गर्दा नै अन्तर्राष्ट्रिय प्रतियोगिता गरेको प्रदर्शन उत्साहजनक छ । प्रशिक्षक भट्टले भने । यस्तै कप्तान अरुणाले पनि शान्तीले डेब्युमै नियमित सेटमै खेलिरहेको र राम्रो खेलेको बताइन् ।

पुरुष टोलीलाई अवसर

पछिल्लो पटक नेपालमै सेन्ट्रल जोन भलिबल हुँदा नेपालको पुरुष टोलीले समूह चरण पनि पार गर्न सकेको थिएन । नेपाल पाँचौ भएको थियो । यस पटक पाँच राष्ट्र सहभागी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले कम्तीमा तेस्रो हुँदै कास्य पदक जित्ने लक्ष्य बनाएको थियो ।

लिगमा बंगलादेश र माल्दिभ्सलाई हराउने लक्ष्य राखेको नेपालले घरेलु टोली बंगलादेशसँग सोझो सेटमा हार व्यहोर्यो । तर उज्वेकिस्तानसँग पुनरागमन जित हात पारेको नेपालले माल्दिभ्सलाई सोझो सेटमै पराजित गर्यो । लिगमा दुई खेल जित्दै तेस्रो भएको नेपालले अब कास्य पदकका लागि उज्वेकिस्तानसँग नै प्रतिस्पर्धा गर्दैछ ।

सन् २०१७ मा माल्दिभ्समा भएको तेस्रो संस्करणमा तेस्रो हुँदै कास्य जितेको नेपालसामु यस पटक पनि पदक जित्ने अवसर छ ।

पुरुष टोलीका प्रशिक्षक नेदरल्याण्ड्सका हान अबिङ यस प्रतियोगितापछि उतैबाट नेपाल नआई आफ्नो देश फर्कने छन् । त्यसैले नेपाली टोली उज्वेकिस्तानलाई पराजित गर्दै अबिङका लागि पनि नयाँ वर्षको गिफ्ट दिन चाहन्छ । हान अबिङले बंगलादेश प्रस्थान गर्नुअघि नै आफू नेपाल नर्फकने र अंग्रेजी नयाँ वर्ष मनाउन सिधै नेदरल्याण्ड्स जाने बताएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४