नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्र ढकालले बन्द रहेका खानीहरू निजी क्षेत्रलाई संलग्न गराएर सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । रामेछाप उद्योग वाणिज्य संघको १४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले बन्द रहेका खानी सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् ।
उनले स्थानीय स्तरमा रहेका फलाम, शिशा, कोइलालगायतका खानीहरू कुनै बन्द तथा कतिपय निकै रुग्ण अवस्थामा रहेकाले तिनको सञ्चालन गर्न सुझाव दिँदै यी खानीहरूको सञ्चालनमा ल्याउन निजी क्षेत्रलाई पनि संलग्न गराउनुपर्ने बताए । रामेछापको ठोसेमा रहेको फलाम खानी अहिले बन्द अवस्थामा रहेकाले त्यसलाई सञ्चालनमा ल्याउन र त्यसमा निजी क्षेत्रलाई संलग्न गराउनुपर्ने उनको भनाई छ ।
‘पहिले सञ्चालनमा रहेको सो खानीबाट फलाम निकालेर हातहतियार लगायत उत्पादन गर्ने गरिन्थ्यो । अहिले बन्द हुनु राष्ट्रकै लागि क्षति हो । म यस खानी तत्काल सञ्चालनमा ल्याउन नेपाल सरकारलाई माग गर्दछु,’ उनले भने । ढकालले स्थानीय स्तरका उत्पादन र तिनको औद्योगिकिकरण एवं बजारीकरणमा पनि निजी क्षेत्रलाई संलग्न गराउने खालका नीति नियमहरूमा आवश्यक परिमार्जन गर्नुपर्ने बताए।
