Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महामन्त्रीमा विश्वप्रकाश : विद्रोहको अनुमोदन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १ २०७८
  • 3.9K
    SHARES

विश्वप्रकाशसामू विकल्प थियो, आफूले नेविसंघको सभापति बनाएका प्रदीपलाई नेता मान्ने वा विद्रोह गर्ने । विश्वप्रकाशले विद्रोहको बाटो रोजे, जसलाई देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले अनुमोदन गरिदिएका छन् ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चार वर्षसम्म प्रवक्ताका रुपमा साथ दिएका विश्वप्रकाश शर्माको अपेक्षा थियो, १४ औं महाधिवेशनमा उनकै समूहबाट महामन्त्री लड्ने ।

अर्को समूहबाट गगनकुमार थापा महामन्त्रीको उम्मेदवार भएकाले युवाहरुको मतका लागि पनि देउवाले आफूलाई अघि सार्नेमा उनी आशावादी थिए ।

तर सभापतिमा आफ्नो जित सुनिश्चित गर्ने नाममा देउवाले कृष्णप्रसाद सिटौलासँग सौदा गरे । सिटौला समूहका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएका देउवाले विश्वप्रकाशलाई सहमहामन्त्रीको उम्मेदवार बन्न आग्रह गरे ।

त्यतिबेला विश्वप्रकाशसामू विकल्प थियो, आफूले नेविसंघको सभापति बनाएका प्रदीपलाई नेता मान्ने वा विद्रोह गर्ने । विश्वप्रकाशले विद्रोहको बाटो रोजे, जसलाई देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले अनुमोदन गरिदिएका छन् ।

विद्रोहको अनुमोदन

२४ भदौमा वीपी जयन्तीको अवसर पारेर उम्मेदवारी घोषणा गरेको भएपनि महामन्त्रीका लागि शर्माले लामै तयारी गरेका थिए । पार्टीको प्रवक्ताका रुपमा कांग्रेस नेता, कार्यकर्ताको मन जितेका थिए, आफूलाई स्थापित गर्दै लगेका थिए । नेताहरुसँग पनि उनले आफ्नो आकांक्षा लुकाएका थिएनन् ।

तर धेरैले उनलाई पत्याएनन्, महामन्त्री भनेर सहमहामन्त्री पदमा चित्त बुझाउने अनुमान गरे । देउवा समूहमा महामन्त्रीका पदको दावेदार बालकृष्ण खाँण, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद भएकाले पनि देउवाले विश्वप्रकाशलाई अघि सार्लान् भन्नेमा धेरैको आशंका थियो ।

सधैं प्यानललाई भोट हालिरहेका प्रतिनिधिले यसपटक विश्वप्रकाशलाई जिताउनुको अर्थ अब मतदाता सचेत भइसके भन्ने हो –  इन्द्रबहादुर बुढाथोकी,  विश्वप्रकाशका सहपाठी एवं झापा क्षेत्र नं. १ का कांग्रेस सभापति

भयो पनि त्यस्तै । दोस्रो चरणको निर्वाचनमा जाँदा आफूविरुद्ध मोर्चाबन्दी हुन्छ भन्ने विश्लेषण गरेका देउवाले कृष्णप्रसाद सिटौलाको साथ खोजे । देउवाले उनलाई उपसभापति प्रस्ताव गरे, तर सिटौलाले प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउनुपर्ने अडान राखे ।

देउवालाई विश्वप्रकाशभन्दा आफ्नो जित ठूलो लाग्यो, त्यसैले विश्वप्रकाशलाई छाडेर प्रदीप रोजे । निकटवर्तीहरुका अनुसार देउवाले खाँण र महतलाई महामन्त्रीको उम्मेदवार बनाएको भए पनि  विश्वप्रकाश रोकिन सक्थे ।

तर आफूभन्दा जुनियर प्रदीपलाई महामन्त्रीमा अघि सारेपछि विश्वप्रकाशले देउवा समूहबाट विद्रोह गरे । त्यसपछि उनको स्वाभाविक रोजाइ डा. शेखर कोइरालाको समूह थियो । गगन र विश्वप्रकाशको जोडी बनाउने चाहना यो समूहमा पनि थियो, तर समूह व्यवस्थापनमा समस्या भएपछि उनी त्यहाँ पनि अटाएनन् । उनले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिए ।

यो चरणमा उनले पटक पटक परीक्षा दिनुपर्‍यो । उम्मेदवारी दर्ता गर्दैगर्दा पनि कतिपयले आफ्नो उम्मेदवारीमा टिक्लान् र ? भनेर शंका गरे । देउवालाई समर्थन गर्नसक्ने अनुमान गरे । उनले त्यो परीक्षा पास गरे । महाधिवेशनमा युवा प्रतिनिधिको संख्या उल्लेख्य थियो, जसमा पार्टी नेतृत्वमा परिर्वतनको आकांक्षा थियो । त्यसलाई बुझेका उनले विश्वप्रकाशहरु (युवाहरु)लाई मत दिन आग्रह गरे ।

मतदान सम्पन्न भयो, सभापतिको मतगणनामा संस्थागत दुई गुट नै बलियो देखियो । प्रकाशमान (३७१) र विमलेन्द्र निधि (२५०) ले पाएको मतका आधारमा धेरैले अड्कल गरे, विश्वप्रकाशले पनि धेरै मत ल्याउँदैनन् ।

तर बिहीबार विहान जब मतपेटिका खुल्यो, त्यसले धेरैलाई तरंगित बनायो । महामन्त्रीका ६ उम्मेदवारमध्ये गगन थापा पहिलो नम्बरमा रहँदा विश्वप्रकाश दोस्रो नम्बरमा रहे । मतगणनाका क्रममा प्रकाशशरण र प्रदीपले उनलाई पछ्याइरहे, तर भेट्टाउन सकेनन् । १९८४ मतका साथ उनी निर्वाचित भए ।

विश्वप्रकाशको जितले सभापतिमा दोहोरिएका देउवालाई सन्देश दिएको राजनीतिक विश्लेषक जुगल भर्तेल बनाउँछन् । ‘संस्थापन इतर समूहमा छाडेर देउवाका साथ दिँदा आलोचना खेपेका उनले विद्रोह गरेर उम्मेदवारी दिएपछि प्रतिनिधिहरुले पनि साथ दिए,’ भुर्तेल थप्छन्, ‘यो विद्रोहको राम्रै अनुमोदन हो ।’

विश्वप्रकाशका सहपाठी एवं झापा क्षेत्र नं. १ का कांग्रेस सभापति इन्द्रबहादुर बुढाथोकी पनि सधैं प्यानललाई भोट हालिरहेका प्रतिनिधिले यसपटक विश्वप्रकाशलाई जिताउनुको अर्थ अब मतदाता सचेत भइसके भन्ने हो । भन्छन्, ‘यसपटक मतदाताले प्यानल होइन, विवेक प्रयोग गरेर विश्वप्रकाशलाई जिताएका छन् ।’

विगतमा गृहजिल्ला झापामा निरन्तर ‘अन्याय’मा पारेका कृष्णप्रसाद सिटौलाले यो पटक पनि रोक्न खोजेको कुरालाई महाधिवेशन प्रतिनिधिले अस्वीकार गरिदिएको राजनीतिक विश्लेषक भुर्तेल बताउँछन् । उनी भन्छन्, ‘यसमा शर्माको लोकप्रिय छविले पनि काम गरेको हो ।’

‘झोलामा राजनीतिक पर्चा बोकेर हिँड्थे’

झापाका विश्वप्रकाश राजनीतिक परिवारका सदस्य हुन् । उनका बुबा पर्शुराम भण्डारी पनि कांग्रेसका नेता थिए । पञ्चायत कालमा पार्टी भूमिगत भएका बेला उनी झापा जिल्ला सदस्य थिए ।

‘राजनीतिक परिवारको सदस्य भएकाले पनि होला, उहाँमा सानैदेखि राजनीतिक चेतना थियो’ शर्माका सहपाठी बुढाथोकी भन्छन्, ‘मलाई अझै याद छ, कक्षा ४ मै पढ्दा उहाँको झोलामा राजनीतिक पर्चाहरु हुन्थ्यो ।

 

धुलाबारी माविमा कक्षा ८ मा पढ्दा उनी नेविसंघको इकाइ सभापति भए । राजनीतिमा शर्माको औपचारिक प्रवेश त्यहीँबाट भयो । २०४३ मा झापाको मेची क्याम्पसमा नेविसंघको सभापति बने भने २०४७ सालमा जिल्ला सभापति ।

त्यसको एक वर्षमा उनी नेविसंघको केन्द्रीय सदस्यमा चुनिए । २०५३ सालमा महामन्त्री बनेका उनी चार वर्षपछि नेविसंघको सभापति बने ।

दुई वर्षे कार्यकाल सकिनु एक साताअघि निर्वाचन गराएर गुरु घिमिरेलाई पद हस्तान्तरण गरे । घिमिरेलाई कुर्सीमा बसाएपछि झ्यालबाट डुब्दै गरेको घाम देखाउँदै उनले भनेका थिए, ‘हेर आज घाम डुब्यो, अब नेविसंघको नेतृत्व गरेको दुई वर्ष पुग्यो, अब तिमीहरुले नेतृत्व गर्नू ।’

२०६७ सालमा भएको कांग्रेसको १२ औं महाधिवेशनका क्रममा उनी पार्टीको झापा जिल्ला सभापतिका लागि उम्मेदवार बने । तर कृष्ण सिटौला पक्षका उम्मेदवार उद्धव थापासँग झिनो अन्तरले पराजित भए ।

जिल्लामा हारेका उनले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न चाहेनन् । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य चुनिए । २०७४ को आम चुनावमा झापा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भए ।

आम चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरेपछि धनराज गुरुङ, गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल लगायतका युवाहरुले नेतृत्व परिर्वतनको एजेण्डा उठाए । त्यसको काउन्टरमा सभापति देउवाले पुस २०७४ मा विश्वप्रकाशलाई पार्टी प्रवक्ता बनाए । यसले युवा समूहमा फुट मात्र आएन, कांग्रेसमा नेतृत्व परिर्वतनको एक हदसम्म रोक्न सफल भए ।

तर महाधिवेशनलाई टार्न सक्ने अवस्था थिएन, जहाँ देशभरबाट आएका प्रतिनिधिहरुले विश्वप्रकाश र गगनलाई महामन्त्रीमा निर्वाचित गरेर नेतृत्व परिर्वतन आवश्यक छ भनेर सन्देश दिएका छन् । नवनिर्वाचित महामन्त्री विश्वप्रकाश भन्छन्, कांग्रेस जसरी हिजो चलेको थियो, अब त्यसरी चल्दैन । कांग्रेस रुपान्तरित भएर जान्छ ।

  • आफ्नै प्रश्नहरुको कठघरामा गगन थापा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४