Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसमा धर्मको बहस : दस्तावेजले छोड्यो, केही नेताले छाड्न सकेनन्


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २२ २०७८
  • 4.3K
    SHARES

काठमाडौं । २०७५ मंसीर ९ देखि पुस ८ गतेसम्म काठमाडौंमा भएको नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी १४०० मध्ये ७०९ महासमिति सदस्यले ‘नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ’ भन्दै हस्ताक्षर गरे । संकलित हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइयो । महासमितिले त्यसउपर कुनै छलफल भने गरेन।बरु महासमितिले पास गरेको समसामयिक १६ बुँदे प्रस्तावको बुँदा नम्बर २ मा धार्मिक स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गरिएको छ । ‘नेपाली कांग्रेस धार्मिक स्वतन्त्रता, एक-अर्काको धर्मप्रति सम्मान र धार्मिक सहिष्णुता र समभावमा विश्वास गर्दछ’ प्रस्तावमा भनिएको छ, ‘कसैको पनि धर्म परिवर्तन गराउने वा अर्को धर्ममा खलल गर्ने काम वा व्यवधान गर्नु दण्डनीय हुनेछ भन्ने संविधानको व्यवस्थालाई अक्षरशः कार्यान्वयन हुनुपर्दछ भन्ने कुरामा विश्वास गर्दछ ।’

कांग्रेस सांसद राजेन्द्रकुमार केसी महासमिति सदस्यहरूले हस्ताक्षर संकलन गरेर बुझाएपछि निर्णय नहुनुबाटै यो विषयको अन्त्य भएको बताउँछन् ।

तर, कांग्रेसभित्र हिन्दू राष्ट्रको विषय बेलाबेला उठ्ने गरेको छ । नेताहरूका अनुसार हिन्दू राष्ट्रबारे तीनथरी धारणा छ । पहिलो- हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने पक्ष । यो पक्ष कमजोर छ, तर पार्टीभित्र धार्मिक पक्षधरताको आवाज उठाइरहन्छ ।

दोस्रो- हिन्दू धर्मावलम्बीको भोट पाउन धार्मिक पक्षधरता देखाउनेहरू छन् । ‘संविधानमै धर्मनिरपेक्षता लेखिसकेकाले यो सम्भव छैन भन्नेमा विश्वस्त भएर पनि निहित उद्देश्यका लागि, भोटका लागि हिन्दू राष्ट्रको एजेण्डामा सहमत छु भनेर बोल्नेहरू छन्’ एक नेता भन्छन्, ‘अब धार्मिक पक्षधरता सिंगो कांग्रेसको एजेण्डा भने हुनसक्दैन ।’
कांग्रेसभित्र हिन्दू राष्ट्र बनाउनुपर्छ भन्नेको ठाडै विरोध गर्ने तेस्रो पक्ष पनि छ । जसमा कृष्ण सिटौला लगायत नेताहरू पर्छन् । उनीहरूको तर्क छ- कांग्रेसले नै नेतृत्व गरेर बनाएको संविधानमा धर्मनिरपेक्षता भएकाले यसमा फेरबदलको सम्भावना छैन र यो मुद्दा बोकेर हिंड्न हुँदैन ।

अब कांग्रेसको औपचारिक मञ्च, महाधिवेशन आदिमा हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर संकलन गर्ने जस्ता गतिविधि नदेखिएला भन्नेमा यो पक्षका नेताहरूको विश्वास छ ।

महासमिति सदस्यहरुले हस्ताक्षरसहित बुझाएको पत्र

कमजोर बन्दै धार्मिक एजेण्डाका संवाहक

नेपाली कांग्रेसमा कुनैबेला खुमबहादुर खड्काको दबदबा थियो । उनी धर्मनिरपेक्ष नेपालको विरोधमा थिए । उनले हिन्दू राष्ट्रको मुद्दा उठाउँदा पार्टीभित्र र बाहिरबाट समेत साथ पाएका थिए ।

खुमबहादुर खड्काको देहावसानसँगै हिन्दू राष्ट्र बनाउनुपर्छ भनेर लागिपरेका कांग्रेस नेताहरू पनि कमजोर बन्दै गए । हिन्दू राष्ट्रको एजेण्डामा खड्कालाई साथ दिएका शंकर भण्डारी, देवेन्द्रराज कँडेल, कर्णबहादुर मल्ल, मोहन बस्नेत लगायत नेताहरू अहिले कांग्रेसभित्र प्रभावकारी पनि छैनन् ।

नेता सञ्जय गौतम अब कांग्रेसभित्र ‘नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ’ भन्ने आवाज उठे पनि त्यसले आकार लिने सम्भावना देख्दैनन् । यद्यपि, यो विषय कुन स्तरका नेताले उठाउँछ भन्ने कुराले भने अर्थ राख्ने उनको भनाइ छ ।

हिन्दू राष्ट्रको मुद्दा उठाउनेमा कांग्रेसका ‘हेभी वेट’ नेताहरू छैनन् । यो कारण पनि मुद्दा कमजोर भएको हिन्दू राष्ट्र पक्षधर कांग्रेस नेताहरू स्वीकार्छन् ।

‘खुमबहादुर खड्का रहनुभएन, हिन्दू राष्ट्र बनाउने एजेण्डा लिएर अगाडि बढेको हिन्दू महासंघ पनि तितरवितर भयो’ नेता देवेन्द्रराज कँडेल भन्छन्, ‘नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने प्रस्ताव पार्टीमा टेबुल गर्ने खड्का जत्तिको नेता नभएर पनि समस्या भयो ।’

धर्मनिरपेक्षताको सवाललाई जनमत संग्रहबाट छिनोफानो गर्नुपर्ने मत राख्दै आएका कांग्रेस महामन्त्री डा. शशांक कोइराला भने यस्तो अभिव्यक्तिका कारण विवादमा परेपछि पछिल्लो समय धर्मको विषयमा बोलिरहेका छैनन् ।

नेताहरूको दोहोरो चरित्र

एकातिर धर्मको कुरा उठाएर हिन्दू मतदातालाई आफूतिर खिच्ने अर्कोतिर आफू परिवर्तनको पक्षमा पनि रहेको देखाउने कतिपय कांग्रेस नेताहरूको रणनीति देखिन्छ ।

विमलेन्द्र निधिले पार्टी सभापतिमा उठ्ने घोषणा गर्दै गत ११ भदौमा काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय खोल्दा पनि यस्तै देखियो ।

निधिले हिन्दू गुरु कमलनयनाचार्यसँग आशीर्वाद लिएर, जानकी मन्दिरका महन्थ तपेश्वर दास सहित पशुपतिनाथ, दक्षिणकाली, सूर्यविनायक, डोलेश्वर महादेव, पञ्चमहालक्ष्मी, बगलामुखी लगायत मन्दिरका पुजारीबाट कार्यालयको पूजा गराएर सम्पर्क कार्यालय उद्घाटन गरेका थिए । उनले भाषणमा पनि धर्मको सन्दर्भमा बढी प्रयोग हुने शब्दहरू बोलेका थिए ।

निधिले पशुपतिको मूल भट्टका प्रतिनिधि, कमलनयनाचार्यका प्रतिनिधि, जानकी मन्दिका महन्थ, काठमाडौंका विभिन्न मन्दिरका पुजारी, बौद्ध धर्मका लामा गुरु र मुस्लिम समुदायका मौलानाहरूले आफ्नो सफलताको कामना गरेको सुनाए । निधि उनै नेता हुन्, जसले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजुले रुद्राक्षको माला र राधे राधे लेखिएको बर्काे ओढेर खिचेको आफू, पति र छोरा जयवीरको फोटो ९ असार २०७८ मा सार्वजनिक गरेकी थिइन् । त्यसलाई हिन्दू पक्षधरको विश्वास जित्ने चेष्टाका रूपमा अथ्र्याइएको थियो ।

संविधानमा के छ ?

नेपालको संविधान २०७२ ले नेपाललाई ‘धर्मनिरपेक्ष राज्य’ भनेको छ । ‘धर्मनिरपेक्ष’ शब्दको व्याख्यामा ‘सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भनिएको छ ।

संविधानको धारा २६ मा धार्मिक स्वतन्त्रताको हक सम्बन्धी व्यवस्था छ । ‘… कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ’ संविधानको धारा २६(३) मा भनिएको छ ।

यस्तो संवैधानिक व्यवस्थालाई नेपाली कांग्रेसले धार्मिक स्वतन्त्रताको रूपमा समेत व्याख्या गर्दै आएको छ । संविधान कार्यान्वयनमा आएका ६ वर्षमा पनि कांग्रेसभित्र हिन्दू राष्ट्रको आवाज उठिरहनुको पछाडि भारतको ‘चासो’ को रूपमा समेत लिन्छन् कांग्रेसकै कतिपय नेता ।

नेता डिला संग्रौला कांग्रेसका संस्थापक बीपी कोइराला धार्मिक स्वतन्त्रताको पक्षधर भएको र उनकै नीति अनुसार अहिले पनि पार्टी धार्मिक स्वतन्त्रताको पक्षधर रहेको बताउँछिन् ।

राजा महेन्द्रले २०१९ सालमा पहिलो पटक नेपाललाई संविधानबाट हिन्दू राष्ट्र घोषणा गरेका थिए । त्यसअघि नेपाल औपचारिक रूपमा हिन्दू राष्ट्र थिएन । २०६२/६३ सालको जनआन्दोलनपछि लेखिएको संविधानबाट नेपाल धर्मनिरपेक्ष भयो ।

नेपालको अन्तरिम संविधान २०६३ बनाउने कार्यदलमा नेपाली कांग्रेसका कृष्ण सिटौला, नेकपा (एमाले)का सुवास नेम्वाङ र नेकपा (माओवादी)का नेता लीलामणि पोखरेल थिए । कार्यदलले ‘हिन्दू राष्ट्र’ शब्द हटाएर ‘धर्मनिरपेक्ष’ शब्द राख्न सिफारिश गरेको थियो ।

यसरी ४४ वर्ष औपचारिक रूपमा हिन्दू राष्ट्र रहेको नेपाल १५ वर्षयता विश्वमञ्चमा धर्मनिरपेक्ष राष्ट्रको हैसियतमा चिनिंदै आएको छ ।

नेपाली कांग्रेसले यो महाधिवेशनमा केवल नेतृत्व चयन गर्ने, नीतिको महाधिवेशन नयाँ कार्यसमितिले बोलाउने जनाएको छ । नेतृत्वले हिन्दू धर्मसँग नजिक हुने गरी अगाडि बढ्ने संकेतसम्म गरे पनि यसलाई एजेन्डाकै रूपमा ल्याउने छनक देखाएको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४