Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्चमा हिजोआज के गर्दैछन् प्रधानन्यायाधीश जबरा ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २१ २०७८
  • 3.9K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले मंसिर १५ गतेदेखि नियमित रुपमा गोला प्रक्रियाबाट इजलास गठन र मुद्दा छनौटको अभ्यास गरिरहेका छन् ।

हिजोआज हरेक दिन विहान १० बजे मुख्य रजिष्ट्रारको कार्यालयसँगको हलमा भेला हुने उनीहरुले गोला तान्छन् र त्यही गोलामा लेखिएको अनुसार इजलास गठन हुन्छ । कोही न्यायाधीश ढिलो भएमा अरु सहकर्मी वा कर्मचारीलाई आफ्नो भागको गोटी तानिदिन आग्रह गर्छन् ।

करिव सवा १० देखि साढे १० बजेसम्म गोला प्रक्रियाबाट इजलास गठन टुंगिन्छ । न्यायाधीशहरु त्यसपछि केही समय चेम्बर (कार्यकक्ष) मा बिताउँछन् । अनि १२ बजे कानून व्यवसायीहरुको धर्ना सकिएपछि इजलासमा पुग्छन् । दिउँसो साढे १ बजेदेखि ४५ मिनेट चिया समयमा इजलासबाट उठ्ने उनीहरु पुन मुद्दा सुनुवाइमै फर्किन्छन् र करिव साढे ३ देखि ४ बजेभित्र इजलासबाट बाहिरिन्छन् । तर सर्वोच्च अदालतको यो दैनिकीमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहभागी छैनन् ।

कोरोना संक्रमणपछि स्वास्थ्य लाभ गरिरहेका प्रधानन्यायाधीश जबरा न्याय सम्पादनको प्रक्रियाबाट अलग छन् । एक साताको अवधिमा फाट्टफट्ट प्रसंग निस्किएको बेलामा बाहेक न्यायाधीशहरुले उनको बारेमा लामो कुराकानी र छलफल गरेका छैनन् । ‘हामीले गोला तान्न थालेदेखि सम्माननीयज्यू (प्रधानन्यायाधीश जबरा) हलमा आउनुभएको छैन, हामीसँग भेट पनि भएको छैन’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘हामी पनि उहाँको कार्यकक्षमा गएका छैनौं ।’

२०७८ मंसिर १३ गते कोरोना संक्रमित भएर बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश जबरा १७ गते नेगेटिभ रिपोर्ट आएपछि घर फर्किए । त्यसपछि आइतबारदेखि नियमित अदालत आइरहेका छन् । २०७८ साल मंसिर १४ गते सर्वोच्च अदालतले कोरोना संक्रमित न्यायाधीश र कर्मचारीले सञ्चित विदाबाट कट्टा नहुने गरी १४ दिन विदा पाउने निर्णय गरेको थियो । तर आफू कोरोना संक्रमित हुँदा प्रधानन्यायाधीश जबराले यो सुविधा उपयोग गरेनन् ।

उनी अस्पताल भर्ना भएकै बेलामा सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रणालीबाट इजलास गठन सुरु भइसकेको थियो । उनी अदालत आइसकेपछि गोला प्रणालीमा सहभागी भएका छैनन् । सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘त्यसपछि उहाँ लगातार सर्वोच्च अदालत आउनुभएको छ । आउनुहुन्छ, बस्नुहुन्छ र फर्कनुहुन्छ ।’ एक कर्मचारीका अनुसार, कानून व्यवसायीहरुले ११ देखि १२ बजेसम्म सर्वोच्च अदालतमा धर्ना जारी राखेकाले त्यसपछि अदालत प्रवेश गर्ने जबरा बेलुकी भने अरु न्यायाधीशहरु इजलासबाट उठ्नुअघि नै निवास फर्किन्छन् ।

कोरोना संक्रमणपछि स्वास्थ्य लाभ गरिरहेका प्रधानन्यायाधीश जबरा न्याय सम्पादनको प्रक्रियाबाट अलग छन् । एक साताको अवधिमा फाट्टफट्ट प्रसंग निस्किएको बेलामा बाहेक न्यायाधीशहरुले उनको बारेमा लामो कुराकानी र छलफल गरेका छैनन् । केही कर्मचारीले भने उनलाई भेटेर स्वास्थ्य अवस्थावारे जिज्ञासा राखेको सर्वोच्च अदालत उच्च स्रोतले बतायो । न्याय सम्पादनबाट विमुख भएका प्रधानन्यायाधीश जबरा दुई महत्वपूर्ण जिम्मेवारी रहेका न्यायिक निकायमा पनि सक्रिय छैनन् । न्याय परिषदको अध्यक्षसमेत रहेका जबराले यो अवधिमा सर्वोच्च अदालत परिसरमै रहेको न्यायपरिषद र न्याय सेवा आयोगको सचिवालयमा गएका छैनन् ।

दुवै निकायमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश पनि सदस्य हुने भएकाले अहिलेको अवस्थामा कुनै बैठक बस्ने र निर्णय लिने सम्भावना पनि छैन । न्यायपरिषदमा त नेपाल बार एशोसिएसनबाट प्रतिनिधित्व गर्ने सदस्य समेत छन् । बारले यी दुवै निकायमा प्रधानन्यायाधीश जबराको उपस्थिति हुँदासम्म सहभागी नहुन आग्रह गर्दै सदस्यहरुलाई पत्र समेत पठाइसकेको छ । पछिल्ला दिनहरुमा कुनै प्रशासनिक निर्णय नगरेका प्रधानन्यायाधीश जबराले चाहँदा बढीमा केही न्यायाधीश र सहसचिव स्तरका कर्मचारीको काज सरुवा गर्नसक्ने सर्वोच्चका कतिपय न्यायाधीशहरु बताउँछन् । तर त्यसका लागि पनि सर्वोच्च अदालत प्रशासनले उनलाई सहयोग गर्नुपर्छ । न्यायाधीशको सरुवाका लागि न्यायपरिषद र न्याय सेवाका कर्मचारीहरुको न्याय सेवा आयोगबाट निर्णय गर्नुपर्छ ।

‘कतिपय अवस्थामा प्रधानन्यायाधीशले न्यायाधीश र कर्मचारीको काज सरुवा गर्ने र न्यायपरिषदको बैठकबाट त्यसको अनुमोदन गराउनसक्ने चलन छ’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘प्रशासनका कर्मचारीहरुले जोखिम मोलेर साथ दिएमा उहाँले गर्नसक्ने त्यति नै हो, नभए उहाँको अरु उपाय देखिदैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४