Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नाडामा केन्द्र र मोफसलबीच भिडन्त, कसले मार्ला बाजी ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १८ २०७८
  • 2.5K
    SHARES

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा यतिखेर नयाँ कार्यसमिति चयन निम्ति चुनावी सरगर्मी बढ्दो छ । यही मंसिर २२ र २३ गते राजधानीमा नाडाले ४५ औँ साधारणसभा आयोजना गर्दैछ । सोही साधारणसभामा संघको नयाँ नेतृत्वका लागि दुई समूहबीच भिडन्त हुने भएपछि निर्वाचन रौनक बढेको हो । नाडाको भावी नेतृत्वका लागि दुई व्यवसायी करण चौधरी र ध्रुव थापा आमुन्नेसामुन्ने हुँदैछन् । त्यसो त चौधरी र थापाले आ–आफ्नो एकल उम्मेदवारी मात्र दिएका छैनन्, नाडामा आफ्नो बलियो उपस्थिति देखाउन प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् ।

एकातर्फको समूहको नेतृत्व ठूला घरानाका व्यवसायी करण चौधरीले गरेका छन् भने अर्को पक्षको नेतृत्व व्यवसायी ध्रुव थापाले गर्दैछन् । चौधरीको समूहमा नाडाका वर्तमान कार्यसमिति महासचिव सुनिल रिजालसहित सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती लगायत अन्य सदस्यहरूमा विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, पंकज अग्रवाल, प्रकाश कपुरी, निलममणि पाठक, वरदान बस्नेत, निसान ढकाल, गोपाल भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारीले सदस्यमा उम्मेदवारी दिएका छन् । थापा समूहबाट व्यवसायी दीपक अग्रवालसहित निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी,  शुभाशिष थपलिया, अमरज्योति रञ्जित, बीएन पाठक, दीपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायण पौडेल, प्रदीप प्रधान, प्रकाश सिग्देल, रिद्धी कार्की, सगुन बीएस कंशाकार, सञ्जय खेतान र एकमात्र महिला उमेद्वार यमुना श्रेष्ठले समेत थापाकै समूहबाट सदस्यमा उम्मेदवारी दिएकी छिन् ।

निर्वाचनको मिति नजिकिएसँगै यी दुईवटै समूहले निकै सक्रियता बढाएका हुन् । एक महिना अघिदेखि नै पूर्व–पश्चिम चुनावी अभियानमा लागेका चौधरी र थापा दुबै समूहले व्यवसायीहरूको मत आफूतिर पार्न निकै कसरत गरिरहेका छन् ।

  • यसपटक नाडामा केन्द्र र मोफसलबीच लडाइँ
नाडालाई बजारले धनीहरूको संस्था भनेर बुझ्ने गरेको छ । ठूला व्यवसायीहरू, करोड÷अर्ब रुपैयाँ खेलाउने व्यवसायीहरूको संस्था हो भन्ने बजारको बुझाइ छ । यद्यपि, नाडामा ठूला व्यवसायीहरू मात्र छैनन्, मोफलसका साना तथा मझौला अटो व्यवसायीहरूको पनि उल्लेखनीय सहभागिता छ । केन्द्रका ठूला गाडीवालाहरू (शोरुम, डिलर) हरूको मात्र संस्थाको रूपमा बुझिने नाडामा मोफसलका साना अटो, पार्टस्, टायर, लुब्रिकेन्ट तथा वर्कशप व्यवसायीहरूको समेत बाक्लो उपस्थिति रहेको छ ।

झन् यसपटक नाडाको नेतृत्वका लागि मोफसलबाटै व्यवसायी ध्रुव थापाले अध्यक्षमा उम्मेदवारी दिएपछि निर्वाचनलाई केन्द्र र मोफसलबीचको लडाइँको रूपमा हेरिएको छ । यद्यपि, नाडाका वर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल र केह पूर्वअध्यक्षहरू पनि उपत्यका बाहिरबाटै आएका हुन् । तर, यी अध्यक्षहरूले मोफसलबाट नभइ राजधानीबाटै व्यापार÷व्यवसाय सञ्चालन गरेकाले केन्द्रकै मानिएको छ ।  यतिमात्र होइन, यसपटकको नाडाको निर्वाचलाई ठूला र साना व्यवसायिक संस्थाबीचको लडाइँको रूपमा समेत बुझिएको छ । ठूलो व्यवसायिक घराना चौधरी ग्रुपबाट आएका करण चौधरीले साना व्यवसायीहरूको प्रतिनिधित्व गर्ने ध्रुव थापासँग चुनाव लड्ने भएपछि यसरी बुझिएको हो । तर, पकडका हिसाबले थापाको उपस्थिति पनि निकै बलियो रहेको उनीनिकटहरू बताउँछन् ।

  • कसको पल्ला भारी ?

नाडामा दुई समूहबीचको चुनावी प्रतिस्पर्धाबाट निस्कने नतिजाबारे अहिले नै किटानसाथ प्रक्षेपण गर्ने अवस्था छैन । तथापि, यसपटकको चुनावमा दुई बलिया समूहबीच निकै कडा प्रतिस्पर्धा हुने देखिन्छ । चौधरीले राजधानीकेन्द्रित ठूला व्यवसायीहरूको समर्थनमा प्रतिस्पर्धा गर्दैगर्दा उता थापाले अधिकतम ६० प्रतिशत भोटरहरूको प्रतिनिधित्व गर्ने मोफसलका साना व्यवसायीहरूलाई प्रतिनिधित्व गर्दैछन् । यसले पनि निर्वाचन निकै रोचक र प्रतिस्पर्धात्मक हुने आम अटो क्षेत्रका जानकारहरू बताउँछन् ।

ठूला र केन्द्रका व्यवसायीहरूले चौधरीलाई समर्थन गर्ने र बाहिर मोफसलमा समेत चौधरीको राम्रो उपस्थिति रहेकाले यस पटक चौधरीले नै बाजी मार्ने केहीको विश्लेषण छ । यसो त चौधरी आफैँले पनि कुल मतको अधिकतम ६० प्रतिशत आफ्नो पक्षमा रहेको दाबी गरिरहेका छन् । उता, थापाको पनि आफ्नै दाबी छ । ६० प्रतिशत बढी व्यवसायीहरूको प्रतिनिधित्व गर्ने मोफसलका व्यवसायीहरूका साथै राजधानीका ठूला व्यवसायीहरूको समेत आफूलाई साथ र समर्थन रहेकाले आफ्नो जितमा कुनै शंका नभएको थापाको दाबी छ ।

  • चौधरीमाथि प्रोक्सी दुरुपयोगको आरोप

अध्यक्षका प्रत्यासी थापा समूहले चौधरी समूहमाथि प्रोक्सी (भोटिङ राइट्स) दुरुपयोगको आरोप लगाएको छ । चुनाव नजिकिँदै गर्दा आफ्नो पक्षको बलियो उपस्थिति देखेपछि चौधरी समूह अत्ताल्लिएर गलत तरिकाले प्रोक्सी दुरुपयोग गर्न लागेको थापा समूहको आरोप छ ।

‘हामीले प्रमाण पाइसकेका छौं । हाम्रा विपक्षी साथीहरूले जालझेल गरेर भोटरहरूको भोटिङ राइट्स (प्रोक्सी) को दुरुपयोग गर्दै हुनुहुन्छ । यसले नजिता राम्रो दिँदैन । हामी साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छौं–यस्तो कार्या तत्काल रोकियोस् । नत्र जे पनि हुनसक्छ,’ एक प्रतिनिधिले जन न्युज नेपाल खबर सँग भने । उनका अनुसार अहिले चौधरी समूहले आफ्नो पक्षमा भोट बढाउन सम्बन्धित भोटिङ अधिकार बोक्ने व्यवसायीहरूको प्रमाण (प्रोक्सी) अर्कैको नाममा धमाधम दर्ता गराइरहेका छन् ।

नाडाले निर्वाचनमा आफू स्वयम् उपस्थित हुन नसक्ने व्यवसायीहरूलाई प्रतिनिधिको रूपमा कर्मचारी वा आफन्तलाई भोटिङ अधिकार हुने गरी प्रोक्सीको व्यवस्था गर्न सक्ने व्यवस्था गरेको छ । यही व्यवस्था दुरुपयोग गर्दै चौधरी समूहले कम्पनीको गलत लोगो, स्ट्याम्प तथा लेटरप्याड प्रयोग गर्दै प्रोक्सीको दुरुपयोग गरिरहेको थापा समूहले आरोप लगाएको हो ।

तर, यता चौधरी समूहले यो आरोप अस्वीकार गरेको छ । आफूहरूले अहिलेसम्म कुनैपनि गलत कार्य नगरेको र नाडामा आफूहरूको जित सुनिश्चित भएकाले विपक्षीले निराधार आरोप लगाएको सो समूहको दाबी छ । हाल नाडामा काठमाडौं उपत्यकासहित देशभरबाट निर्वाचनका लागि भोटिङ अधिकार बोक्ने तीन हजार १९० व्यवसायिक फर्महरू दर्ता छन् । केही समय अघिसम्म करिब एक हजार २०० हारहारीमा मात्र रहेको नाडाका कम्पनी सदस्यहरू अहिले तीन गुणासम्म बढेका हुन् ।

  • सहमति प्रयास जारी छ: नाडा

दुई पक्ष चुनावी भिडन्तमा उत्रिसक्दा यता नाडाले अझै सहमतिको प्रयास जारी रहेको जनाएको छ । सकेसम्म आपसी सहमतिमा नेतृत्व चयन गर्ने र बाँकी पदाधिकारीहरूको समेत टुंग्गो लगाउने जनाएको नाडाले अन्तिम दिनसम्मपनि सहमतिको प्रयास जारी राखिने जानकारी दिएको हो ।

‘सहमति भन्ने कुरा निर्वाचनको अघिल्लो घडीसम्म पनि हुनसक्छ । त्यो अवस्था र लचकतामा भर पर्ने कुरा हो । सकेसम्म सहमतिमै जानुपर्छ भन्ने नाडाको बटम लाइन हो । अध्यक्षको हैसियतले सोही बमोजिम जानुपर्छ भनेर मैले पहल गरिरहेको छु । हेरौं के हुन्छ । सहमति जुटेन, सहमतिका लागि दुई पक्ष नै तयार भएनन् भने त जाने चुनावमै हो । हामीले यसलाई स्वीकार्नुपर्छ,’ अध्यक्ष कृष्णप्रसाद दुलालले भने ।

#नाडा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४