विरोध र्यालीमा नेपाल बार एशोसिएसनका साथै बृहत नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल इन्जिनियर्स एशोसिएसनलगायतका पेशाकर्मी संघसंगठनहरु सहभागी थिए । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) को सहभागितामा भएको विरोध र्यालीमा नागरिक समाजले पनि ऐक्यवद्धता जनाएको थियो ।
नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरु न्याय खोज्न सर्वोच्च अदालतदेखि बालुवाटारसम्म आइपुगेको बताए । उनले अन्याय र विचौलियाको पोषकको रुपमा प्रधानन्यायाधीश जबरा सर्वोच्चमा बसिरहेको भन्दै आफूहरुले उनलाई नमान्ने बताए । ‘हामीले उनलाई प्रधानन्यायाधीश मान्दैनौं । हामी अर्को प्रधानन्यायाधीशको खोजीमा छौं’ उनले भने।
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरा संलग्न इजलासका आदेश र फैसलाहरु संकलन गरेर अध्ययन गर्ने काम भइरहेको पनि बताए । उनले आफूहरुले न्यायपालिकाको शुद्धिकरणका लागि यो आन्दोल गरेको पनि बताए ।




