- ‘मैले भनेको नमान्दा ओली बालुवाटारबाट बालकोट पुगे’
आफूले भनेको नमान्दा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको प्रधानमन्त्री पद गुमाउनु परेको बताउँदै प्रचण्डले यसपटक भने त्यसो नहुने बताए । प्रचण्डले भने, ‘मैले भन्याजति केही काम नगर्ने कसम खाए केपी ओलीले । त्यही भएर उनी बालुवाटारबाट बालकोट पुगे । अहिले सातै प्रदेशबाट सरकारबाट हात धुनुपर्या छ ।’
उनले अगाडि भने, ‘मैले त एउटा सपना देखेको थिएँ, कम्युनिष्टलाई एक गरेपछि देशमा स्थायीत्व होला, छिटोछिटो विकास होला, सामाजिक न्याय होला भनेर केपी ओलीलाई मैले नै दुईचोटी प्रधानमन्त्री बनाएँ । तर ती नायक होइन, खलनायक परेछन् । भिलेन पर्या हुनाले मैले भनेको जति केही काम नगर्ने ।
ओली नेतृत्वको अघिल्लो सरकारलाई प्रचण्डले ‘झुटो बोल्न सिपालु सरकार’ भनेर टिप्पणी गरे । तर अहिलेको सरकारलाई त्यसो हुन नदिने उनले बताए । उनले भने, ‘अघिल्लो सरकार जनतालाई ठग्न सिपालु सरकार, काम नगर्न सिपालु, अहिले हामीले त्यसो हुन दिएका छैनौं ।’
भूमि व्यवस्था मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि महोत्तरीमा लालपूर्जा वितरणको प्रक्रिया सुरु भएको भन्दै प्रचण्डले अन्य प्रदेशमा पनि त्यस्तै कामको थालनी गर्ने आश्वासन दिए । ‘भर्खरै भूमि व्यवस्था मन्त्रालय हाम्रो बनेपछि महोत्तरी जिल्लामा लालपूर्जा वितरणको प्रक्रिया सुरु गरिएको छ । अब पश्चिम, मध्य, पूर्व सबैतिर एकैसाथ लालपूर्जा वितरण गर्न सकिने छ,’ प्रचण्डले भने । उनले कैलाली जिल्लाको विकासका लागि पनि आफूले पहल गर्ने आश्वासन दिए ।
