Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ऐतिहासिक चौदण्डीगढी क्षेत्रमा घुम्न जाँने पर्यटक बढ्दै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ७ २०७८
  • 2.4K
    SHARES

उदयपुर,  –  चौदण्डीगढी नगरपालिकाको पहाडी क्षेत्रमा रहेको ऐतिहासिक चौदण्डीगढी क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ । मङ्सिर लागेपछि घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । गत वर्ष चैतदेखि यस वर्ष कात्तिकसम्म कोभिड–१९ सङ्क्रमण महामारी र लकडाउनका कारण पर्यटन आगमन ठप्प भएको सो क्षेत्रमा विस्तारै आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका चौदण्डी पर्यटन विकास व्यवस्थापन समितिका संयोजक रोहित तामाङले बताउनुभयो । कोभिड–१९ का कारण लामो समयदेखि उक्त क्षेत्रमा पर्यटक आगमन ठप्प थियो । छिमेकी भारतबाट समेत पर्यटक चौदण्डीको भ्रमणमा आउन थालेको संयोजक तामाङले बताउनुभयो ।

चौदण्डीगढी नपाका प्रमुख खगेन्द्र राईका अनुसार चौदण्डीगढीको पर्यटन विकासको पूर्वाधारका सम्पूर्ण काम निर्माण तथा व्यवस्थापन भइसकेका कारण पर्यटकलाई आवतजावत गर्न सहज भएको हो । “अब पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ”, उहाँले भन्नुभयो । चौदण्डीमा भ्यूटावर, खानेपानीसहित सडक व्यवस्थापन कार्य सम्पन्न भइसकेको छ । त्यसैले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।

नगरपालिकाले प्रदेश सरकार र सङ्घीय सरकारसँग सहकार्य गर्दै चौदण्डीको पर्यटन विकासमा नयाँ योजना सञ्चालन गरेको नगरप्रमुख राईले बताउनुभयो । समुद्री सतहबाट एक हजार ८०० मिटर उचाइमा अवस्थित चौदण्डीगढीबाट उत्तरी क्षेत्रको महत्वपूर्ण आठ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । यहाँबाट प्रदेश नं १ को धनकुटा, भोजपुर, खोटाङ र सङ्खुवासभाको अवलोकन गर्न सकिन्छ ।

यस्तै तराईका सुनसरी, झापा, मोरङ, सप्तरी र सिरहाका साथै सप्तकोशी नदीको सुन्दर दृश्य र दक्षिण भारतको विहार क्षेत्रसहित वीरपुर, सुपौलाको अवलोकन गर्न सकिने संयोजक तामाङ बताउनुहुन्छ । सन् १७७३ सम्म ऐतिहासिकरूपमा पूर्वकै सेनवंशको राजधानी र राज्य रहेको उदयपुरको पूर्वी पहाडी क्षेत्र चौदण्डीगढीमा केही वर्षयतादेखि पर्यटन विकासको पूर्वाधार तीव्ररूपमा तयार हुँदै गएको छ ।

विगतमा चौदण्डीगढीमा रहेका सेनराजाका दरबारको पर्खाल तथा महत्वपूर्ण वस्तुका भग्नावशेषको संरक्षण र दरबार क्षेत्र वरपर घेराबेरा गरेर यसलाई अझ व्यवस्थित बनाउने तथा दरबार परिसरको संरक्षणसमेत भइरहेको छ । सन् १७७१ सम्म पूर्वका चौदण्डी, विजयपुर र कमला क्षेत्रसम्म एउटै चौदण्डी सेनराज्य रहेको पूर्वप्रध्यापक डा अपार लम्साल बताउनुहुन्छ । सन् १६७१ मा पूर्वको सेनराज्य विभाजनपछि विजयपुर र चौदण्डीगढीमा विभाजित भई चौदण्डीगढी राज्य रहन गएको इतिहासविद् बताउँछन् ।

चौदण्डीका पहिला राजा जगत सेन थिए भने त्यसपछि विक्रम सेन, मुकुन्दसेन तृतीय र चौथौ अन्तिम राजा बुद्धिकर्ण सेन रहेको इतिहास छ । सन् १६ जुलाई १७७३ मा गोर्खाका राजा पृथ्वीनारायण शाहको फौजका अभिमानसिंह बस्नेत, स्वरुपसिंह कार्कीलगायतको नेतृत्वमा चौदण्डीगढीमा आक्रमण गरी नेपालमा गाभिएको इतिहास छ । कोभिड सङ्क्रमणका कारण पर्यटन विकासका केही अधुरा काम बाँकी रहेको र पर्यटक आगमन बन्द हुन पुगे पनि मङ्सिर लागेसँगै पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको चौदण्डी नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४