प्रतिनिधि सभाका २७५ सिटमध्ये यतिबेला चार सिट खाली छन् । माओवादी केन्द्रले नेकपा एमालेमा गएका आफ्ना चार सांसदलाई कारवाही गरेपछि खाली भएका चार क्षेत्रमा उपनिर्वाचनको मिति तोक्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ ।
तत्कालीन एमाले र माओवादी केन्द्रको बाम गठबन्धनबाट यी चारवटै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारहरू निर्वाचित भएका थिए । रौतहट क्षेत्र नम्बर ३ बाट प्रभु साह, अर्घाखाँची क्षेत्र नम्बर १ बाट टोपबहादुर रायमाझी, कैलाली क्षेत्र नम्बर ३ बाट गौरीशंकर चौधरी र कैलालीकै क्षेत्र नम्बर ४ बाट लेखराज भट्ट निर्वाचित भएका थिए । अबको केही महिनामा यी चारवटै क्षेत्रमा उपचुनाव हुँदैछ ।
माओवादीले जितेका यी चारवटै क्षेत्रमा ०७४ सालको चुनावमा एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । अहिले त्यो गठबन्धन भत्किएको छ भने स्वयं एमालेसमेत चोइटिएर कमजोर बनेको छ । यी चार क्षेत्रमा माओवादी पनि फुटेको छ । किनभने, जननिर्वाचित सांसदहरु नै माओवादी छाडेर एमालेतिर लागेको स्थिति छ । माओवादी केन्द्रका सांसदले दल त्याग गरेका कारण यहाँ माओवादी पनि कमजोर बनेको छ ।
त्यसैले यी चारवटा संसदीय चुनाव क्षेत्रमा गठबन्धनबिनै उम्मेवार खडा गर्ने हो भने एमाले वा माओवादी दुबैले जित हात पार्न मुस्किल देखिन्छ । किनकि, कम्युनिस्ट पार्टी फुटेको स्थितिमा यहाँ अहिले नेपाली कांग्रेस बलियो शक्तिका रुपमा देखिएको छ ।
उपनिर्वाचन हुन लागेका प्रतिनिधिसभाका चारवटै सिटहरु यसअघि माओवादीले जितेका सिट हुन् । अबको उपचुनावमा सत्तापक्षीय गठबन्धनले सबै सिटमा माओवादीलाई भोट हाल्छ या चार सिटमध्ये काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले एक–एक सिट भाग लगाउँछन् ? यो भने स्पष्ट भइसकेको छैन ।