नैन सिंह कुँवर उक्त कलेजमा २०७५ साल मंसिरदेखि ०७७ साल चैतसम्म कार्यरत रहेको उनीसँग भएको कागजातले देखाउँछ । नैन सिंहको अनुसार कलेजले कोभिडको कारण देखाउँदै ०७७ साल वैशाखदेखि मंसिरसम्म ७५ प्रतिशत मात्रै तलब दिने र तत्काललाई २५ प्रतिशत दिएर बाँकी ५० प्रतिशत विद्यार्थीले शुल्क बुझाएपछि दिने प्रतिबद्धता गरेको थियो ।
सोही अनुसार कलेजले ०७८ भदौमा अन्य शिक्षक, कर्मचारीलाई गत वर्षको वैशाखदेखि असारसम्मको ५० प्रतिशत दियो तर नैन सिहंलाई भने नदिएपछि उनले कलेजमा बुझ्दा विद्यार्थीले शुल्क नबुझाएको दिन नसकेको उत्तर दिएको कुँवर बताउँछन् । उनी भन्छन्, ‘म फूल टाइम काम गरेको थिएँ । अरु सबैलाई दिएको छ खाली मलाई मात्रै छाडेको भनेर दिएको छैन । सोद्घा विद्यार्थीले शुल्क तिरेपछि भन्छ ।’
कलेजले आफूले जागिर छोडेपछि तलब नदिनको लागि बाहाना बनाएको उनको आरोप छ । भन्छन्, ‘सबै विद्यार्थीलाई पूर्ण रुपमा शुल्क उठाइसकेको छ । मैले कलेज छोडेको भनेर मलाई नदिनलाई बाहाना बनाएको हो ।’ उनले गत चैतमा जागिर छोडेका हुन् । कक्षा ११ र १२ लाई भौतिक विज्ञान पढाएको बताउने नैन सिंहलाई कलेजले विद्यार्थीले शुल्क तिरेपछि बैशाख, जेठ, असारसम्मको ५० प्रतिशत दिने त्यसभन्दा पछाडिको नदिने भनेको बताउँछन् ।
कलेजले पाउनुपर्ने पारिश्रामिक दिन आनाकानी गरेपछि उनी श्रम मन्त्रालयमा उजुरी गर्न गत पाँच गते पुगेका थिए । मन्त्रालयले उनको उजुरीको आधारमा पत्र काटे पनि कलेजले पत्र नलिएको उनको भनाइ छ । उनी भन्छन्, ‘श्रम मन्त्रालयको पत्र बोकेर हिजो म गएँ । कलेजले मन्त्रालयकै कर्मचारीले ल्याउनुपर्ने भनेपछि मन्त्रालयको कर्मचारी आउँदा पनि सर नभएको भन्दै लिनुभएन ।’
विद्यालयका प्रधानाध्यापक राजन प्रसाद काफ्लेले भने शिक्षकले अरु कर्मचारीको भन्दा फरक हुनुपर्ने माग गरेपछि समस्या भएको बताए । उनले भने, ‘उहाँले अरु कर्मचारीले पाएको रेसियोमा हुँदैन भन्नुभएपछि यस्तो भएको हो । अरु कर्मचारीकै रेसियोमा हुने भएको भए आजै उहाँले पाउनुपर्ने तलब निकासा हुन्छ ।’
श्रमबाट आएको पत्र सोमबार प्रशासन बिदा हुने भएकोले नबुझेको र आज बुझ्ने उनले बताए ।

