हत्याको मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका लोकबहादुर कार्की
काठमाडौं । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी प्रमुख अरुण विसीले बताए ।
‘अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिएका हौं’ उनले भने, ‘थप अनुसन्धान इलाका प्रहरी कार्यालय, चैनपुरले गरिरहेको छ ।’बिसीका अनुसार सामूहिक हत्यामा ज्यान गुमाउने मध्ये एक जनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएको छ र नरेशले मोबाइल लुकाएको हुनसक्ने प्रहरीको आशंका छ ।
लोकबहादुरले ६ जनाको हत्या गर्दा उनी पनि घटनास्थल आसपासमै रहेको हुनसक्ने प्रहरी अनुमान छ । घटनापछि उनले मोबाइल चोरेर लगेको हुनसक्ने प्रहरी स्रोत बताउँछ ।संखुवासभाको मादीमा २१ भदौमा ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव भेटिएको थियो ।
अनुसन्धानका क्रममा छिमेकी लोकबहादुरले आफूलाई हेला गर्ने गरेका कारण चिर्पट प्रहार गरेर तेजबहादुरको हत्या गरेको खुलेको थियो । त्यसक्रममा घरका अन्य सदस्यले देखेपछि सबैलाई हत्या गरेको साबिती बयान लोकबहादुरले दिएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।