एजेन्सी । बिल गेट्स र मेलिन्डा गेट्सले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । दुवै जनाले २७ वर्षको वैवाहिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् ।
अब आफुहरु दम्पतीका रुपमा सम्बन्ध कायम राख्न नसक्ने अवस्थामा पुगेको उनीहरुले बताएका छन् । ट्वीटर गर्दै दुवै जनाले भनेका छन्, ‘राम्रो सोच विचार तथा सम्बन्ध सुधारका लागि धेरै काम गरेपछि हामी वैवाहिक सम्बन्ध अन्त्यको निर्णयमा पुगेका छौँ ।’
सन् १९८० को दशकमा मेलिन्डाले बिल गेट्सको माइक्रोसफ्टमा काम थालेपछि उनीहरुको भेट भएको थियो । उनीहरुका तीन सन्तान छन् ।
दुवै जनाले संयुक्त रुपमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशन सञ्चालन गर्दै आएका छन् । यो संस्थाले संक्रामक रोग नियन्त्रण प्रयासका लागि अर्बौँ डलर खर्च गरेको छ । बालबालिकालाई खोपको समेत सहयोग गर्दै आएको छ । बिल गेट्स विश्वका धनी व्यक्तिको सूचिमा चौथो स्थानमा छन् । उनको सम्पत्ती १२४ बिलियन अमेरिकी डलर छ । उनले सन् १९७० को दशकमा स्थापना गरेको माइक्रोसफ्टबाट सम्पत्ती आर्जन गरेका हुन् । सम्बन्ध विच्छेदपछि पनि दुवै जनाले एकसाथ काम गर्ने बताएका छन् ।