Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बा ! म तिम्रो नालायक छोरो !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १८ २०७८
  • 8.4K
    SHARES

बा ! हे मेरा बा !
मेरो माटो र सीमाना बनाइदिने बा !
तिमीले बिछ्याएको देश र उपदेश
या पछ्याएको स्वदेशभरि लमतन्न मोरो !
म निरस, तिम्रो छिनेको डोरो !
म तिम्रो नालायक छोरो !
म समय हाँक्न लायक कसरी हुनु ?
पढ्न सकेँ, सड्न सकिनँ 
कसैको बुई चढ्न सकिनँ 
कसैका मुट्ठीमा गड्न सकिनँ
टुप्पाबाट बढ्न सकिनँ !
न जानें झेल बेमेल, न बनें कागको बेल  
न म स्कुल फेल, न जानु कुनै जेल  
धिक्कार भो तिम्रो छोरो !
म स्वाँठ !
हातमा सीप र मगजमा दीप 
अनि ढुकढुकीमा मेरा प्रमाणपत्र झैं धिपधिप 
मुठी परान बोकिरहेकोछु 
बोली छैन, सिर्फ गोर्खा र पुर्खा खोकिरहेछु  
सडकछेउ र गेटबाट 
ख्वामित स्कुलफेलज्यू, 
झेलज्यू र जेलज्यूलाई 
दण्डवत सलाम ठोकिरहेको छु 
म अधमरो बिचरो !
म तिम्रो नालायक छोरो !

मलाई लायकै ठानेर हो कि   
माटोको उम्दा गायक ठानेर हो कि !  
मलाई तिमीले आर्जेको नासो छोडेर गयौं,
टुलुटुलु हेरेँ,
आफैंलाई भयङ्कर भयले घेरेँ 
समाचार, आकार र ऐनाहरूमा 
आफ्नो कायर अनुहार बेस्कन केरेँ 
बन खाए पनि, मन खाए पनि 
बारम्बार बलात्कारले बहिनी
अनि धनयुद्व र कतारले हजार भाइको तन खाए पनि 
मेरो बोली फुटेन   
नझुक्न भन्थ्यौ, झुकेर बाचेँ  
नलुक्न भन्थ्यौ, लुकेर बाचेँ 
तिम्रो अनुहारमा हिलो छ्याप्दा
पराइले आमाको अस्मिताको सप्को च्यात्दा 
म चुपचाप ख्वामितका सवारीलाई सलाम ठोकेर बसेँ 
जिब्रो टोकेर बसेँ 
सर्टिफिकेटको मुठो काखी बोकेर बसेँ
तब त म खसेँ
यति तल, जहाँबाट म तिमीलाई मेरो मुख देखाउन सक्दिनँ  
ए बा ! तिमी माथिबाट हेरिरहेका हौला !
एकोहोरो एकोहोरो !
बा ! तिम्रो म अधमरो छोरो !

र पनि म बोल्नेछैन ! अहँ म बोल्नेछैन !
सिएको मुख खोल्ने छैन 
मोल छैन मेरो, सस्तै छु, पलपल खस्तैछु,  
चोकमा आफ्नै बेकाम प्रमाणपत्र लिलाम गर्न बस्तैछु 
म मेरो जुनीको धुनीको खरानी घस्दैछु
बा ! मेरो गरिब परिचयले 
‘कमन सेन्स’को गन्जी पोल्न मानेन 
मेरो दुस्साहसी लयले 
खजानाको खल्ती खोल्न मानेन !
तनका कपडा सब त्यागेर 
नाङ्गै मन्चमा बोल्न मानेन 
तब त भोकमरीमा छु म 
तब त शोकभरिमा छु म 
म कहीं निश्वास सत्रहजार छुँदैछु  
म कहीं बाकसभित्र बन्द, अरब-कतार रुँदैछु 
त्राहिमाम ! थकित सासको सप्को विस्मृत धुँदैछु 
या आँफैले पक्रेको अपराधीलाई 
आफैंले चढाएको सलामबाट आँफै बलात्कृत हुँदैछु 
मलाई नभेटे 
भत्केका गल्ली; नखनेका पहाडी बाटा 
र खाद्यान्नको लाइनमा खोज्नु !
मेरा लास पनि समाचार हुन्नन् 
समाचार बिचरो ख्वामित वरिपरी घुम्छ  
कानुनले प्रभुका पाउ चुम्छ  
आकाश खसेर के हुन्छ ? खस्छ, रुन्छ  
म अर्को पाइला झरिदिन्छु 
पंख छैन मेरो, उत्तानो परिदिन्छु 
म जिउँदा जिउंदै कतिचोटी मरिदिन्छु 
र पनि सलाम ठोक्न उठेको हुन्छु ख्वामितलाई 
सडकपेटीको म बिचरो !
धिक्कार ! अधुरो रैती अधमरो !
बा ! म तिम्रो नालायक छोरो !

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४