काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले कोरोनाका कारण आगामी दिनमा देखिन सक्ने चुनौतीहरुलाई पूर्व आँकलन गरी तयारीका काम समयमा नै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले आगामी दिनमा देखिनसक्ने चुनौतीहरुलाई पूर्व आँकलन गरी कार्य सम्पादन गर्न, गराउन समिति गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।
त्यस्तै निषेधाज्ञा एवं बन्दाबन्दीको क्रममा महिला, बालबालिका, जेष्ठ नागरिक, फरक रुपले सवल एवम् लैंगिक अल्पसंख्यकहरु माथि हुनसक्ने हिंसा न्यूनीकरण, नियन्त्रणमा पूर्व तयारी गर्न पनि निर्देशन दिएको समिति सभापति निरु देवी पालले जानकारी दिइन् ।
बैठकले बिभिन्न वर्गमैत्री क्वारेन्टाइनको प्रबन्ध समयमा नै मिलाउन पनि निर्देशन दिएको सभापति पालले जानकारी दिइन् । कोरोनाको खोप अन्य केही देशमा समेत नपुगेको अवस्थामा नेपालमा उपलव्ध हुनु सकारात्मक भएको भन्दै पालले आगामी दिनमा यसको सर्वसुलभतामा पनि सरकारले ध्यान दिने विश्वास व्यक्त गरिन् ।
बैठकमा कर्णाली प्रदेशमा गरिएको महिला, बालबालिका, जेष्ठ नागरिक, पिछडिएको वर्ग र अपाङ्गता सम्बन्धी विद्यमान अवस्था र सम्बन्धित कानूनको कार्यान्वयनको अवस्थाको अध्ययन भ्रमणका बारेमा छलफल भएको थियो ।
अर्को बैठकमा उक्त भ्रमण प्रतिवेदनमाथि छलफल हुने समिति सभापति पालले बताइन् । यहि बैंशाख ८ देखि १२ सम्म समितिको ९ सदस्यीय टोलीले अध्ययन भ्रमण गरेको थियो ।