काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले दीगो विकास लक्ष्यका प्राथमिकतालाई कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानको १८औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले विश्वबाटै गरिबी अन्त्य गर्ने दीगो विकास लक्ष्यका १७ वटा प्राथमिकतालाई नेपालले पनि उत्तिकै प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले असल संवैधानिक अभ्यास र व्यवहारबाटै संविधानको प्रवद्र्धन हुने विचार व्यक्त गर्नुभयो । रेग्मीले संविधानको संरक्षण र प्रवद्र्धनका लागि भावी पुस्तालाई मार्गदर्शन गर्ने दायित्व वर्तमान राजनीतिक नेतृत्वको भएको उल्लेख गर्नुभयो ।
उहाले राज्यको निकायमाथि प्रश्न उठाउने ठाँउ दिन नहुनेमा जोड दिनुभयो । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विद्वत् वर्गका अनुसन्धानमूलक सुझाव एवं अध्ययन प्रतिवेदन विकासका अवरोध हटाउन तथा नीति निर्माणमा उपयोगी हुने बताउनुभयो ।