काठमाडौं । नयाँ सरकार गठन गर्नका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रलाई बहुमत चाहिन्छ । तर, जनता समाजवादी पार्टी (जसपा) ले साथ नदिए दुबै दललाई नयाँ सरकार गठन गर्न असम्भव छ । रेशम चौधरीको रिहाइ गर्नेलाई सरकार गठनमा साथ दिने बताउदै आएको जसपा हाल दुई भाग विभाजित छ । यसकारण कांग्रेस र माओवादी केन्द्र अलमलमा परेका छन्।
जसपाका अध्यक्षद्वय अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएर सरकारमा जान खोजिरहेका छन् भने अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् ।
यसअघि नयाँ सरकार गठनका लागि कांग्रेसका सभापति शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पटक पटक भेट गरे पनि आफू प्रतिपक्षमै बस्ने प्रतिबद्धता जाहेर गर्दै आएको थियो । तर, समयक्रमसँगै कांग्रेस ओली सरकार हटाएर नयाँ सरकार बनाउन अघि सर्यो । त्यसपछि अहिले कांग्रेस र माओवादी केन्द्रका नेताहरु जसपाका अध्यक्षद्वय ठाकुर र महतोलाई फकाउने कसरतमा लागिपरेका छन् ।
आइतबार अध्यक्ष ठाकुर निवास पुगेरै उनीसँग कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वार्ता गरे । तर ठाकुरले त्यस्तो कुनै ग्रिन सिग्नल दिएनन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफू पदबाट बहिर्गमन भए उनैलाई प्रधानमन्त्री दिने बचन दिएपछि उनी ओलीतिरै झुकेका छन् ।
शुक्रवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकपछि प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्यो । उक्त सूसमाचार सुनेपछि उपत्यकाबाहिर रहेका अध्यक्ष प्रचण्डले अब छिटै वैकल्पिक सरकार बन्ने बताउनुभएको थियो ।
त्यसपछि जसपासँग लबिङ गरेर जसरी भए पनि ओली सरकार गिराउने खेलमा लागेका दुई दल अहिले जसपालाई फकाउन सकेको देखिँदैन । जसपाले आजकौ आजै दुई दलको सम्झौताअनुसार सहमती जनाए माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी छ ।
तर, तत्कालै जसपाले साथ दिने संकेत नदेखाएपछि माओवादी केन्द्र अलमलमा परेको छ । यही अलमलका कारण माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता पनि अन्योलमै रहेको छ ।
उता, नेकपा एमालेभित्र पनि हाल ओली र नेपाल–खनाल समूह गरी दुई भागमा विभाजित रहेको छ । नयाँ सरकार गठनका लागि नेपाल–खनाल समूहले ओलीलाई कुनै पनि अवस्थामा साथ दिने पक्षमा छैनन् । यसकारण जसपाको साथ नपाएमा र आफ्नै पार्टीको नेपाल–खनाल समूहले साथ नदिएमा प्रधानमन्त्रीओलीले बहुमत गुमाउन सक्नुहुने निश्चित देखिन्छ ।
प्रधानमन्त्री ओली दुई भागमा विभाजित जसपालाई फुटाएर १७/ १८ जना सांसदलाई आफूतिर तानेर बहुमत पुर्याउने प्रयास गर्ने सम्भावना रहेको पनि विश्लेषण गरिएको छ । तर, माओवादीले समर्थन फिर्ता नलिने र जसपाले कांग्रेस-माओवादीलाई साथ दिने निर्णय नगर्दासम्म ओली सरकारले नै निरन्तरता पाउने नै छ ।
हाल प्रतिनिधिसभामा नेकपा एमालेका १ सय २१ सांसद छन् । त्यस्तै, कांग्रेसका ६३ सांसदमध्ये दुई जना निलम्बनमा छन्। यसैगरी माओवादी केन्द्रका ५३, जसपाका ३३ र राप्रपा, जनमोर्चा र नेमकिपाका एक/एक जना सांसद छन् ।
अब, कांग्रेसलाई गठबन्धनसहतिको नयाँ सरकार बनाउन माओवादी केन्द्र र जसपा दुवै पार्टीको साथ चाहिन्छ । तर, हालसम्म जसपाभित्र मतभेद रहँदा नयाँ सरकार गठन हुने सम्भावना देखिँदैन ।
नेपालको संविधानअनुसार माओवादीले सरकारलाई गरिरहेको समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव पेश गर्नुपर्नेछ ।