Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिदेशीय कप फाइनल आज : नेपाल र बंगलादेशको लक्ष्य गोल गर्ने अनि उपाधि जित्ने !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १६ २०७७
  • 4.4K
    SHARES

काठमाडौं । त्रिदेशीय कप फुटबलको उपाधिका लागि घरेलु टोली नेपालले आज बंगलादेशसँग खेल्दैछ । फाइनल खेल साँझ ५:३० बजे सुरु हुने छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मैदान उत्रिँदा दुवै टोलीको लक्ष्य गोल गर्दै उपाधि जित्नेछ । अझ घरेलु टोली नेपाल गोल र उपाधि दुवैका लागि भोको छ । यसका दुई कारण छन् । नेपालको सिनियर टिमले पछिल्लो ८ खेलमा गोल गर्न सकेको छैन ।

यस्तै पछिल्लो पटक नेपालले नोभेम्बरमा बंगलादेश भ्रमण गर्दा दुई खेलको सिरिज १-० ले गुमाएको थियो । त्यतिबेला बंगलादेशविरुद्ध पहिलो खेलमा २-० ले पराजित भएको नेपालले दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो ।

त्यो दुई खेल र त्रिदेशीयकै  समूह चरणको दुई खेलसहित नेपालले ८ खेलमा गोल गर्न सकेको छैन ।

सन् २०१९ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई विरुद्ध अन्जन विष्टले दुई गोल गरेयता नेपालले विश्वकप छनोट अन्तर्गत नै अष्ट्रेलिया, जोर्डन र कुवेतविरुद्ध गोल गर्न सकेन । यस्तै म्यानमारविरुद्ध मैत्रीपूर्ण खेलमा पनि गोल गर्न सकेन ।

त्रिदेशीय अन्तर्गत किर्गिस्तान ओलम्पिक टिम विरुद्धको खेलले अन्तर्राष्ट्रिय मान्यता नपाएपनि यसमा नेपालको सिनियर टिमले खेलेको थियो । यसलाई गणना गर्दा नेपालले गोल गर्न नसकेको ७४८ मिनेट भएको छ ।

बंगलादेशविरुद्ध समूह चरणमा गोलरहित बराबरी खेलेको नेपालले नोभेम्बरमा बंगलादेशसँग ढाकामा व्यहोरेको हारको बदला दशरथ रंगशालामा लिने योजनामा समेत हुनेछ ।

एकातर्फ नेपाललाई गोल गर्दै खेल जित्ने अनि उपाधि जित्ने र बंगलादेशसँग बदला लिने अवसर छ । अर्कोतर्फ नेपाललाई गोल गर्न र खेल जित्नमै चुनौती छ ।

फाइनलअघि प्रिम्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनलाई घरेलु दर्शकको अघि खेल्दा कत्तिको प्रेसर हुन्छ भन्ने प्रश्नमा प्रेसर नलिने बताएका थिए, ‘प्रेसरभन्दा पनि मोटिभेट हुने हो ।’

यस्तै कप्तान किरण चेम्जोङले दर्शकको अघि खेल्दा झन् ऊर्जा आउने बताए । ‘दर्शकको अगाडि खेल्दा कहिले प्रेसर लिन्न । उनीहरु हाम्रो लागि अतिरिक्त शक्ति हुन् ,’ उनले भने ।

फाइनलमा नेपालले दर्शकको साथ र घरेलु मैदानको साथ पाउने पक्का छ । अब त्यसको बदला नेपाली टिमले गोल र ट्रफी जित्दै दर्शकलाई खुशी फर्काउन बाँकी छ ।

त्रिदेशीय कपमा तीन खेल हुँदा जम्मा एक खेलमा स्पष्ट नतिजा आयो । बाँकी दुई खेल गोलरहित बराबरीमा सकियो । पहिलो खेलमा बंगलादेशले किर्गिस्तानलाई १-० ले हराउदा पनि आत्मघाती गोल निर्णायक भएको थियो ।

नेपाल र बंगलादेश गोल नै नगरी फाइनल पुगेका हुन् । अहिले गोल नगर्ने टिम फाइनल पुगेको र गोल गर्ने टिम बाहिरिएको भनेर ठट्टा समेत हुन थालेको छ । अन्तर्राष्ट्रिय फुटबलमै यस्तो घटना बिरलै भएको छ ।

बंगलादेशका प्रशिक्षक जेम्स डेलाई दुई खेलमा गोल भएन नि भन्दा उनले ‘हामीले दुई खेलमा क्लिनसिट पनि राख्यौँ नि’ भनेर जवाफ दिएका थिए ।

किन गोल हुन सकेन त ? नेपालका प्रशिक्षक बालगोपाल महर्जनले पछिल्लो समय गोल हुन नसकेको समस्या रहेको स्वीकार गरे । उनले दुवै खेलमा अट्याकिङ थर्ड स्कोर गर्न चुकेको बताएका थिए ।

बंगलादेशविरुद्ध समूह चरणको खेलपछि उनले अट्याकिङ थर्डमा सुधार गर्ने र खेलाडीहरुलाई काउन्सिङिङ गर्दै गोल गर्न मोटिभेट गराउने बताएका थिए ।

फाइनलअघिको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक महर्जनले अन्तिम खेलमा नेपालको मुख्य लक्ष्य गोल गर्दै नतिजा हात पार्नु र उपाधि जित्ने रहेको बताएका थिए ।

यस्तै प्रशिक्षक महर्जनले फाइनलमा प्लेइङ सेटमा पनि परिवर्तन हुन सक्ने संकेत गरे । ‘यसअघि नेपालले दुवै खेलमा एउटै प्लेइङ सेट खेलाएको थियो । फाइनल खेलमा प्लेइङ सेटमा परिवर्तन हुन सक्छ । त्यसका लागि हामी हेर्दैछौँ ,’ उनले भने ।

बंगलादेशका प्रशिक्षक जेम्स डे ले घरेलु टोली नेपालविरुद्ध फाइनल प्रतिस्पर्धात्मक हुने बताएका छन् । उनले भने, ‘फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । घरेलु टोलीलाई दर्शकको समर्थन छ र उपाधि जित्नको लागि पेभरेट छ । हामी पनि राम्रो खेल्दै उपाधि जित्न चाहन्छौं । उपाधि जित्न नसके पनि हाम्रो लागि यो राम्रो अवसर रह्‍यो ।’

प्रशिक्षक डेले यस त्रिदेशीय कपलाई जुनमा हुने विश्वकप छनोट र सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपको लागि तयारीको रुपमा रहेको बताए । त्यसैका लागि उनले यसअघिका दुई खेलमा फरक-फरक टोली प्लेइङ सेटमा खेलाउँदै परीक्षण समेत गरेका थिए ।

यस्तै बंगलादेशका कप्तान जमल भुएनले ट्रफी जित्नका लागि यो सुनौलो अवसर रहेको बताएका छन् । ‘हाम्रो लागि ट्रफी जित्नका लागि यो सुन्दर अवसर हो । हाम्रो टिम राम्रो छ । हामीसँग राम्रा खेलाडी छन् । अनुभवी खेलाडी पनि छन् । त्यसैले हामी जित्न सक्छौँ,’ उनले भने ।

त्रिदेशीय कप फाइनल

खेल : नेपाल भर्सेस बंगलादेश

मिति : २०७७७ चैत १६ गते

समय : साँझ ५:३० बजे

स्थान : दशरथ रंगशालमा, त्रिपुरेश्वर

(फोटो: एन्फा)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४