संविधान सभा सदस्य समेत रहनु भएका जवेगु नेकपा माओवादी केन्द्रमा कुनै जिम्मेवारी नपाएकाले आफू एमालेमा प्रवेश गर्न लागेको उहाँको प्रतिकृया छ ।
नेकपालाई सर्वोच्च अदालतले खारेज गरेसँगै उहाँ एमाले प्रवेश गर्न लाग्नु भएको हो । उहाँले न्यूज २४ सँग कुरा गर्दै भन्नुभयो, ‘२०७५ सालमा एमाले र माओवादी केन्द्र एकता भयो । स्थानीय निर्वाचन भयो, प्रदेशको निर्वाचन भयो । तर पार्टीले कुनै जिम्मेवारी दिएन ।’
अबको राजनीति नेकपा एमालेमा रहने उहाँले बताउनु भयो । एमाले र माओवादी केन्द्र एकतापछि पनि कुनै जिम्मेवारी पार्टीले नदिएको उहाँको गुनासो छ ।
‘एकतापछि पनि यतिको समय पार्टीले जिम्मेवारी दिएन, हालसम्म पनि माओवादीमा पार्टी सदस्य पनि थिइन । कि त पार्टीले कारवाही गरेको भनेर भन्नु पर्थ्यो की त केही न केही जिम्मेवारी दिनु पर्थ्यो।’ उहाँले भन्नुभयो, ‘जिम्मेवारी भन्नाले संसद र मन्त्री भन्ने होइन।’
औपचारिक रुपमा केही दिनमा एमाले प्रवेश गर्ने उहाँले बताउनु भयो । नेता जवेगु २०७० सालमा पाँचथरबाट समानुपातिकबाट संसदमा निर्वाचित हुनु भएको थियो ।
२०७३ सालमा दोस्रो पटक पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनु भएको बेला नेता जवेगुले पशुपंक्षि बिकास राज्यमन्त्री र संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो ।