काठमडाैं,/ नेकपा (एमाले) को माधव-माधव समूहले आज (बुधबार) र भाेलि (बिहीबार) राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्दै छ । माधव-माधव समूहले मंगलबार पत्रकार सम्मेलन गरि सम्पूर्ण तयारी पूरा भएको जनाएकाे थियाे ।
बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको जानकारी दिइएको छ ।
उक्त समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी कठिन अवस्थाबाट गुज्रिरहेको घडीमा धैर्य र संयमताका साथ पार्टीको सुदृढ एकता र विधानसम्मत सञ्चालनका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकमा आग्रह गर्नुभयो । राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मतरुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल गर्न गइरहेका उहाँले जानकारी दिनुभयो ।
नेता भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणात्र प्रस्तुत गरिने, टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्न पाउने गरी छलफल र पारित गरिने उल्लेख छ । भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, सङ्घ तथा प्रदेशका सांसदलगायत दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताको उपस्थिति रहनेछ ।
पार्टी एकता विरोधी, विधान प्रतिकूल र एकलौटी कदमले सिर्जना गरेका पार्टी एकताका चुनौतीलाई एकताबद्धरुपमा प्रतिवाद गर्दै असफल पार्न आम पार्टी पङ्क्तिलाई आह्वानसमेत गरिएको छ । विज्ञप्तिमा जनताको बहुदलीय जनवादको मूल्य र मान्यताको रक्षा गर्दै पार्टीलाई एकाधिकारवाद, गुटवाद र विभाजनबाट बचाउँदै लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रुपमा विकास गर्नका लागि सबै नेता, कार्यकर्ता र आम जनमुदायको एकताबद्ध प्रयास यसबेला थप खड्किएको उल्लेख छ ।
यता एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली समूहले भने भेलमा सहभागी हुनेलाई कारबाही गर्ने चेतवनी दिएको छ । मंगलबार साँझ एमालेका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै माधव-झलनाथ पक्षले बोलाएको राष्ट्रिय भेलामा आफ्ना नेता/कार्यकर्ताहरूलाई सहभागी नहुन निर्देशन दिनुभएकाे छ ।
नेपाल-खनाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला बोलाएपछि ओली पक्षले भेलालाई अनधिकृत गुट भेलाको संज्ञा दिएको छ । ‘अनधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागि नहुने नेकपा एमाले सबै कार्यकर्ताहरूलाई विशेष निर्देशन गर्दछ,’ ओली पक्षका नेता पोखरेलद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवम् नियमावली बमोजिम हुने कुरा स्पष्ट गरिन्छ।’