काठमाडौं, / नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले तत्कालिन माओवादी केन्द्रका नेता तथा मन्त्रीहरूसँग छलफल अघि बढाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरूसँग छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलकाे पक्षमा फैसला गरेपछि एमाले र माओवादी केन्द्र आ-आफ्नो कित्तामा लागेका छन् ।
सर्वोच्च अदालतको फैसला आएकै तत्कालिन माओवादी केन्द्रको केही नेता तथा मन्त्रीहरूले प्रधानमन्त्री ओलीको साथ नछोड्ने बताएका थिए । गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री प्रभु शाह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा तामाङलगायत नेतासँग ओलीकाे साथमा रहेका छन् ।
यता माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले भने आफ्नो साथ छाडेका नेताहरूलाई कारबाही गर्ने तयारी गर्नुभएको छ । आजै दिउँसो माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिस डाँडामा बस्दैछ ।
उक्त बैठकमा ओली नेतृत्वको सरकारलाई दिएको समर्थ फिर्ता र आफ्नो समूह छाडेका नेताहरूमाथि कारवाही गर्ने विषयमा छलफल हुने जनाइएको छ ।