Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘बलात्कारी होस् तँ’ भन्न किन डराउने !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ११ २०७७
  • 4.4K
    SHARES

काठमाडौं । गत असोजको एक शनिबार माइतीघर मण्डलामा कालो कपडा र कालो पट्टी बाँधेका युवतीहरू ‘बलात्कारी होस् तँ !’ भन्ने नारा जोडजोडले लगाउँदै कवाज खेल्दै थिए । फरक शैलीको यस्तो विरोध प्रदर्शनले धेरैको ध्यान तान्यो ।

केही सातामै प्रदर्शन विस्तार भयो । बलात्कारविरुद्ध दाङ, धनगढी, हेटौंडा लगायत सहरमा यही शैलीमा प्रदर्शन भयो । राज्यसत्ता र पुरुषसत्तालाई बलात्कारी मान्ने यो आन्दोलन दक्षिण अमेरिकी राष्ट्र चिलीबाट सुरु भएको हो । नेपालमा यस्तो आन्दोलन सुरु गर्ने श्रेय अभियन्ता प्रकृति भट्टराई बस्नेतको समूहलाई जान्छ । उनीहरुले सामाजिक सञ्जालमा ‘अझै कति सहने ?’ नामको समूह बनाएर आन्दोलन थालेको थिए । उनीहरु अहिले नागरिक समाजसँगै प्रतिगमनविरूद्ध पनि लडिरहेको छ ।

  • आन्दोलनको यो भित्री कथा पछि युवतिहरूलाई संगठित गरिरहेकी प्रकृति भट्टराई बस्नेतको कुरा गरौं ।

२०७४ साल, प्रतिनिधिसभा निर्वाचनको समय थियो । सेन्ट जेभियर्स कलेजकी विद्यार्थी प्रकृतिले सामाजिक कार्य (सोसल वर्क) को एक महिने इन्टर्नसिपको लागि आफ्नै टोल रहेको काठमाडौं क्षेत्र नं १ रोजेकी थिइन्, जुन चुनावी माहोलमा डुबेको थियो ।

क्षेत्र नम्बर १ मा नेपाली काग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनका अनिल शर्मा र साझा पार्टीका रवीन्द्र मिश्र चुनावी प्रतिस्पर्धामा थिए । जनप्रतिनिधि चुन्न पहिलो पटक मतदान गर्ने अवसर पाएकी उनले एकमहिने चुनावी माहोलमा नेपाली राजनीतिप्रतिको आफ्नो धेरै जिज्ञासा शान्त भएको पाइन् । उनमा राजनीतिप्रति चाख पनि बढ्यो । अनि पढाईसंगै नेतृत्व विकाससँग सम्बन्धित विभिन्न संस्थासँग पनि जोडिन थालिन् ।

कोरोना महामारी नियन्त्रणका लागि देशमा लकडाउन सुरु भएसँगै प्रकृतिको गतिविधि सुस्तायो । सोचेजसरी सामाजिक अभियानमा जोडिन सकिनन् । त्यहीबेला अमेरिकाको हार्वड इन्स्टिच्युटको नेतृत्व विकाससम्बन्धी एक वर्षे अनलाइन कोर्स पढ्ने अवसर पाइन् । यसले प्रतिकुल अवस्थामा नेतृत्व विकास गर्ने सीप सिक्दै साथीहरूसँग अन्तर्क्रियामा रहने मौका पाएँ’, उनी भन्छिन् ।

 

साउनपछि लकडाउन खुकुलिँदै गयो । जनजीवन पुरानै लयमा फर्किन थालेपछि प्रकृति, सगुन भेटवाल, भावना रावत र प्रियंका शाही मिलेर नयाँ शैलीमा सडकमा उत्रिने योजना बनाए । माइतीघरमा ‘तँ बलात्कारी होस्’ भन्ने नारा लगाउँदै गरिएको मार्च त्यसैको परिणाम थियो ।

‘त्यो मार्चले तत्कालै धेरैको ध्यानाकर्षण गर्‍यो ’, प्रकृति भन्छिन्, ‘अभियानले मात्र संगठित बनाउन नसक्ने देखेपछि आन्दोलनलाई दीर्घकालीन बनाउन संस्था दर्ता गर्‍यौं ।’

चार महिनाअघि दर्ता भएको गैरनाफामूलक संस्था ‘पोलिटिकल लिट्रेसी फर वुमेन’ को अध्यक्ष रहेकी २१ वर्षीया प्रकृति किशोरी तथा महिलाहरूलाई राजनीतिक शिक्षा र नेतृत्व विकासबारे तालिम दिने गरेको बताउँछिन् ।

उनका अनुसार, सबै प्रकारका हिंसा र विभेदसँग लड्न सक्ने बनाउनु तालिमको उद्देश्य हो ।

‘पोलिटिकल लिट्रेसी फर वुमेन’मा जोडिएका युवतीमध्ये केहीले राजनीतिक दलको सदस्यता लिएका पनि छन् । महिलाको सवालमा भने उनीहरू एक ठाउँ हुन्छन् र एकस्वरमा गाउँछन् :–

ओइ सरकार

सुन, सुन, सुन !

कान खोलेर सुन

समृद्धिको बाजामा

प्रतिगामी धुन ।

भ्रष्टाचार गरिस् तैंले ।

न्याय मारिस् तैंले

गरिस् हाम्रो अपमान

ओइ सरकार सुन

जनताको आवाज सुन !

 

 ‘ओइ सरकार सुन ! कान खोलेर सुन’

अहिले तीन सयभन्दा बढी युवती ‘पोलिटिकल लिट्रेसी फर वुमेन’मा आवद्व भएका छन् । ‘पर्याप्त तालिमकर्ता र कक्षा सञ्चालन गर्ने आर्थिक स्रोत नहुँदा नेटवर्किङ गर्न सकेका छैनौं’, प्रकृति भन्छिन्, ‘आन्दोलनमा भने दशौं हजारको साथ पाएका छौं ।’

यो ऐक्यवद्वतालाई देशभर फैलाउने सोचमा छिन् प्रकृति । ‘क्याम्पसदेखि पेशा–व्यवसायसम्मका युवतीहरूमा राजनीतिक चेतना विस्तार गर्ने चाहना हो’, उनी भन्छिन्, ‘पढेर मात्र होइन, सम्पूर्ण रुपले चेतनशील बनेमात्र महिलाहरू बलियो बन्छन् ।’

  • बलात्कारी सत्ताबिरुद्व जेहाद

काठमाडौंमै जन्मिएकी प्रकृति एक्ली छोरी पनि भएकीले परिवारमा विभेदको सामना गर्नुपरेन । किशोरावस्थामा पुगेपछि भने उनले यत्रतत्र विभेद देख्न–भोग्न थालिन् । सार्वजनिक यातायात, सभा–समारोह आदिमा आफैंले हिंसा महसुस गर्न थालिन् ।

उनी भन्छिन्, ‘आफू सरहका युवतीको बलात्कारपछि हत्या हुँदा निकै मन पोल्थ्यो, तर त्यसविरूद्ध के गर्न सकिन्छ भन्ने थाहा थिएन ।’

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाले उनलाई निकै उद्वेलित तुल्यायो । त्यसबिरुद्व निस्कन एक्लै सम्भव थिएन । त्यसक्रममा ‘अझै कति सहने’ भन्ने समूह बनेर प्रदर्शनमा निस्केको प्रकृति बताउँछिन् ।

यो समूहका सदस्यहरु ‘बलात्कारीलाई फाँसी’ भन्दैनन् । बलात्कारका घटनालाई सामाजिक मनोरोगको उपज मान्छन् ।

पुरुषसत्ता र चेतनामा परिवर्तन नभएसम्म बलात्कारका घट्ना भइराख्ने प्रकृतिको बुझाइ छ । ‘यस्तो अपराध न्यून गर्न सामाजिक चेतना र महिला सशक्तिकरण अत्यावश्यक हुन्छ’, उनी भन्छिन्, ‘चर्को नारा लगाउँदैमा समाजमा बलात्कार हट्दैन ।’

त्यसैले सानो समूह नै भएपनि आफूहरुले राजनीतिक चेतनाको कक्षा सुरु गरेको उनी बताउँछिन् । राजनीतिक चेतनासहितका युवतिहरूले एकदिन बलात्कारी सत्ता (मानसिकता) विरुद्व जेहाद थाल्ने उनको विश्वास छ । बलात्कारविरुद्ध युवतीहरूलाई संगठित गरिरहँदा प्रकृतिलाई धेरैले ‘बरु राजनीति नै गर्नू नि’ भन्छन् । ‘सडकमा जानेबित्तिकै राजनीति गर्न गएको सोचिन्छ । हामी त सामाजिक न्यायका लागि सडकमा गएका हौं’ उनी भन्छिन् ।

सचेत नागरिकले आफूमाथि भएका अन्याय र प्रतिगमनविरुद्ध निर्धक्क सडकमा जानुपर्नेमा उनी अडिग छिन् । उनको बुझाइमा, प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन सतप्रतिशत प्रतिगमन हो । त्यसको विरोधमा उनी बृहत् नागरिक आन्दोलनमा जोडिएकी छन् ।

उनी प्रतिगमनबारे अरुलाई पनि बुझाउन चाहन्छिन्, तर कतिपयले राजनीतिक पुर्वाग्रह राखेर प्रचण्ड–माधव समूहको समर्थक भन्छन् । कतिपयले डलरमा काम गरेको आरोप लगाउँछन् । कतिले सहरका धनीहरूले गर्ने सामाजिक अभियान भन्छन् ।

सडकमा ‘निर्दलीय’ नयाँ पुस्ता

नेपाली समाजमा उदार सोच र राजनीतिक चेतना कम हुँदा यस्ता मिथ्या आरोप खेप्न परेको प्रकृतिले बुझेकी छिन् । उनी भन्छिन्, ‘नेतृत्व विकासमा काम गरिरहेको मलाई राजनीतिक स्वार्थ राखेर सडकमा आउनु छैन । एउटा जिम्मेवार नागरिकको हैसियतमा सडकमा छु ।’

युवा पुस्ताले राजनीतिलाई बेवास्ता गरेको कुरामा प्रकृति सहमत छैनन् । बरु युवालाई राजनीति बुझाउन नसक्नु अघिल्लो पुस्ताको कमजोरी मान्छिन् । नयाँ पुस्तालाई आरोप लगाएर आफू चोखो बन्ने कुरा उनलाई चित्त बझ्दैन । त्यसैले रफटप भनिने, मनमौजी मानिने नयाँ पुस्तालाई राजनीति बुझाउन प्रकृतिहरु खटेका छन् ।

इतिहासबाट सिक्दै आजको पुस्ताले उदार राजनीतिक चेतना राख्नुपर्ने उनको मत छ । ‘अनुदार सोचले आफ्नो समुह र कुर्सीको मात्र राजनीति गर्छ’ उनी भन्छिन्, ‘यस्तै सोचले नेपाल पछाडि पार्दै लगेको छ । अबको पुस्ताले यो प्रथा दोहोर्‍याउनु हुँदैन ।’

प्रकृतिको बुझाईमा, समाजमा बलात्कार र राजनीतिमा प्रतिगमन पुरातन सोचको उपज हो, बलात्कार र विभेद जड सत्ताकै उत्पादन हो । ‘सबै प्रकारका विभेदको अन्त्य चेतना विकासबाट मात्र सम्भव छ’, उनले भनिन्, ‘त्यसैले म देशभरका युवालाई राजनीतिक सचेतनासहित सडकमा आउन अपिल गर्छु ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४