Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल द्वन्द्वकालीन अपराधमा न्याय प्रदान गर्न विफल–एम्नेष्टी इन्टरनेशनल नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १३ २०७७
  • 9.1K
    SHARES

काठमाडौं, माघ १३ । नेपाल द्वन्द्वकालीन अपराधमा न्याय प्रदान गर्न विफल भएको एम्नेष्टी इन्टरनेशनल नेपालले जनाएको छ ।दशक लामो सशस्त्र द्वन्द्व अन्त्य भएको १४ वर्षभन्दा बढी समय बितिसक्दा पनि सशस्त्र द्वन्द्वका पीडितहरू अझै सत्य, न्याय र परिपूरणको पर्खाइमा रहेका एम्नेष्टी नेपालले जनाएको हो ।

मंगलबार एक विज्ञप्ति निकाल्दै एम्नेष्टीले भनेको छ, ‘सन् २०१५ मा भएको दोश्रो समीक्षा र २०२१ मा भएको तेश्रो समीक्षाका क्रममा नेपालले संक्रमणकालीन न्यायमा उल्लेखनीय प्रगति भएको दाबी ग¥यो । तथापि, द्वन्द्वपीडितका सरोकारलाई गम्भीर ढङ्गमा उपेक्षित गरिएको छ र उनीहरूलाई सत्य, न्याय र परिपूरण प्रदान गर्ने दिशामा कुनै सार्थक प्रयासहरू भएका छैनन् ।’

एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले ‘नेपालले बारम्बार अन्तर्राष्ट्रिय मञ्चहरूमा अनेक प्रतिबद्धताहरू देखाउने गरेको छ । तर ती प्रतिबद्धताहरूलाई वास्तविकतामा रूपान्तरण गर्ने सवालमा भने अहिलेसम्म निकै नै कम मात्र उपलब्धी हासिल गरेको छ । सन् २०१५ मा भएको दोश्रो समीक्षायता संक्रमणकालीन न्यायका सवालमा कुनै उल्लेखनीय प्रगति भएको छैन भने कतिपय आधारभूत मानवअधिकारका सवालमा स्पष्ट रूपमा प्रतिगमन भएको छ,’ भन्नुभयो ।

सन् २०१४ र २०१५ मा सर्वोच्च अदालतले गरेको आदेशअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गरी अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको बनाउनमा पछिल्ला सरकारहरू असफल भएको पनि जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘गत हप्ता भएको समीक्षामा अहिलेसम्म सम्बोधन हुन नसकेको संक्रमणकालीन न्यायका अलावा परिषद्का सदस्य राष्ट्रहरूले नेपाललाई अन्य विभिन्न मानवअधिकार सवालहरूमा पनि प्रश्न गरे जसमा अभिव्यक्ति स्वतन्त्रता, सङ्गठन खोल्न र शान्तिपूर्ण तवरमा भेला हुन पाउने स्वतन्त्रतामाथि भएको अतिक्रमण, राष्ट्रिय मानवअधिकार आयोगको स्वतन्त्रता र प्रभावकारीतामाथिको संकुचन, विभेदजन्य नागरिकतासम्बन्धी प्रावधान, दलित, यौनिक अल्पसङ्ख्यक र महिलामाथिका हिंसा, आप्रवासी श्रमिकहरूमाथि भएको शोषण र दुर्व्यवहार, आदिवासी जनजाति समुदायहरूको बहिष्करण र सीमान्तीकरण र यातनाको व्यापक अभ्यास आदि रहेका छन् ।’

‘नेपालले समीक्षाका क्रममा उठाइएका मानवअधिकारका सवालहरूलाई सम्बोधन गर्नुपर्दछ र कानुन, नीति तथा व्यवहारमा आवश्यक परिवर्तन गर्नुपर्दछ । पहिल्यैदेखि सुनिश्चित गरिएका मानवअधिकारलाई समेत संकुचनमा पार्ने गरी कतिपय प्रस्तावित कानुनहरूमा व्यवस्था गरिएका पश्चगामी प्रावधानहरूलाई अधिकारीहरूले खारेज गर्नुपर्दछ,’ थपिलयाको भनाइ छ ।

‘अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सङ्कुचनमा पार्ने खालका श्रृङ्खलाबद्ध कानुनहरू प्रस्ताव गरेर र सरकारको आलोचकका रूपमा रहेकाहरूलाई गिरफ्तार गर्ने र दुःख दिने जस्ता सरकारद्वारा भएका गतिविधिका कारण पछिल्ला केही वर्षयता विभिन्न स्वरूपका नागरिक स्वतन्त्रताका विषयहरू खतरामा परेका छन् । आफ्नो काम गरेकै कारण पत्रकारहरूलाई गिरफ्तार गरिएको छ र गायकहरूलाई उनीहरूका गीतमा भएका शब्द सामग्रीकै आधारमा कैद गरिएका छन् । अनलाइनमा आफ्नो विचारलाई शान्तिपूर्वक राखेकै कारण वा अधिकारीहरूलाई आलोचना गरेकोमा धेरै व्यक्तिहरूलाई हिरासतमा लिइएको छ ।’

मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक, सूचना प्रविधि विधेयक, नेपाल विशेष सेवा विधेयकलगायतका सरकारले दुई वर्षमा प्रस्ताव गरेका श्रृङ्खलाबद्ध मस्यौदा कानुनहरूमा अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिको गापनीयताको अधिकारलाई हदैसम्म सङ्कुचन गर्ने खालका प्रावधानहरू रहेको एम्नेष्टीले भनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४