Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सन्तानबाटै अपहेलित ज्येष्ठ नागरिक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २४ २०७७
  • 5.8K
    SHARES

काठमाडौँ — मोरङको विराटनगर घर भएका ८९ वर्षीय षडानन्द सापकोटा तीनकुनेस्थित निःसहाय सेवा सदन बस्न थालेको सात वर्ष भयो । तागत छँदा खेतीकिसानी गरेरै विराटनगरमा चार कट्ठा जग्गा किने । सानो घर बनाएर पुर्ख्यौली थलो संखुवासभाबाट बसाइँ झरे । भारतको असम र पहाडतिर छरिएका छोराबुहारीलाई एक ठाउँ बनाएका उनी बुढेसकालमा भने एक्लिएका छन् । बुढ्यौलीले छोएपछि काम गर्न सकिएन, छोराबुहारी र श्रीमतीले समेत झिँजो मान्न थाले,’ उनले भने, ‘मलाई चित्त दुख्यो, साथीभाइले देखाइदिएर यता आएँ । खुसीसाथ बाँचेको छु ।’ घर छोडेदेखि छोरा र श्रीमतीसँग उनको कुराकानी भएको छैन । ‘बुहारीले बेलामौका फोन गरेर बोलाउँछिन्, घर फर्कन मनले मान्दैन,’ उनले भने, ‘उतिबेला बुहारीले मात्रै हेरेकी थिइन् भने पनि म यहाँ आउने थिइनँ ।’

सदनका सहायक प्रशासन अधिकृत योगेश अधिकारीका अनुसार यहाँ षडानन्दजस्ता ६० वर्षमाथिका नागरिक पारिवारिक बेमेल भएर, परिवारमा कोही नभएर, विधवा भएर सहारा लिन आइपुग्छन् । संविधान तथा ऐन–कानुनमा ज्येष्ठ नागरिकको हेरचाह र पालनपोषण गर्नु हरेक नागरिकको कर्तव्य हुने, राज्यले विशेष संरक्षण दिने व्यवस्था छ तर यो कागजी व्यवस्थाले कानुन बन्ने मूल थलो सिंहदरबार वरिपरिका ज्येष्ठ नागरिकलाई नै छुँदैन ।

काठमाडौं इनबहालका हरिगोविन्द खड्गीले टेम्पो, रिक्सा चलाएर श्रीमती, दुई छोरा र दुई छोरीसहित ६ जनाको परिवारलाई धानेका थिए । करिब दुई आना जग्गामा बनेको सानो घरमा परिवार अटेको थियो । छोराहरू हुर्केपछि अंशबन्डाको दाबी गरे । दिनरात कचकच सहन नसकेर श्रीमतीले पनि घरजग्गा बेचेर भाग लगाइदेऊ भन्न थालिन् । घरजग्गा नौ लाखमा बिक्री गरे । दुई छोराले आधा–आधा रकम बुझे । दुवैले आफू–आफू घर बनाएर बसे । हरिगोविन्द र उनकी श्रीमती घर बेचेको दिनदेखि छिमेकमै एक कोठा भाडामा लिएर बसेका थिए । पछि श्रीमतीको निधन भयो । जेठी छोरी विवाह गरेर गइन् । कान्छी छोरी दाइ–भाउजूसित बसेकी छन् । हरिगोविन्द भने ८० वर्षको बुढेसकालमा एक्लिएका छन् । ‘१५ वर्ष भयो कोठा भाडामा बस्न थालेको, घर भएर पनि छोराछोरीले बोलाउँदैनन्,’ उनी भन्छन्, ‘कमाइ छैन, बुढेसकालमा आधापेट खाएर पनि बाँच्नुपरेको छ ।’१२ वर्षयता ज्येष्ठ नागरिकबारे अनुसन्धान, तालिम तथा नीति नियमका क्षेत्रमा काम गरिरहेका कृष्णमुरारी गौतम उर्फ चट्याङ मास्टरको भनाइमा आर्थिक, सामाजिक, मानसिक, शारीरिक अवस्थाका कारण ज्येष्ठ नागरिक सन्तान र परिवारबाटै अलगिन्छन् या त अलग्याइन्छन् । ‘वृद्धवृद्धाहरू स्वभावैले बच्चाबच्चीको जस्तो माया र स्याहार चाहान्छन्, छोरोछोरीहरूले झर्को मान्छन्, विशेषगरी छोराहरूले पैतृक सम्पत्तिमा स्वार्थ राख्छन्, लाउनखान दिँदैनन् र घरैबाट निकालिन्छन्,’ उनी भन्छन्, ‘हरेक दुई दिनमा एक जना ज्येष्ठ नागरिकको बेवारिसे लास फेला पर्छ, अन्तिम सास फेर्ने बेला एक घुट्को पानी खान नपाएर, कसैको काखमा टाउको राख्न नपाएर मर्छन् ।’ १० वर्षअघि राष्ट्रिय मानव अधिकार आयोग र जेरिएट्रिय सेन्टर नेपालको सहकार्यमा नेपालमै पहिलोपल्ट गरिएको ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहारबारे प्रतिवेदन तयार गर्ने क्रममा यो तथ्य फेला पारेको थियो । यो क्रम अहिले पनि चलिरहेको गौतमले बताए ।

२०६८ सालको जनगणनाअनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिक करिब ३० लाख छन् । सरकारले गरेको ‘नेपाल ज्येष्ठ नागरिक अध्ययन सर्वेक्षण (नेपाल एजिङ सर्भे) २०१४’ ले नेपालका ९१.२ प्रतिशत ज्येष्ठ नागरिकका छोराछोरी आफूसँग नरहेको देखाएको छ । यीमध्ये ७२ प्रतिशतले मात्र बाबुआमालाई जीवन निर्वाहका लागि सहयोग गरेका छन् । सर्वेक्षणमा ८७ प्रतिशत ज्येष्ठ नागरिकले औषधोपचारको सहयोग अपेक्षा गरेका छन् । ८० प्रतिशतले सुरक्षित आवास र रुचिअनुसारको खाना तथा ६६.७ प्रतिशतले व्यक्तिगत हेरचाह भएको भए जीवन सुखमय हुने थियो भनेका छन् । देशभरका ७० जिल्लाका ६० वर्षभन्दा माथिका ८ हजार ६ सय २६ जना ज्येष्ठ नागरिकसँगको अन्तर्वार्तामा आधारित रहेर सर्वेक्षण गरिएको थियो ।

स्वास्थ्यमा पनि उपेक्षा

उमेर ढल्किँदै गएपछि प्राकृतिक रूपमै विभिन्न खाले शारीरिक र मानसिक परिवर्तन आउँछन् । शरीरको संरचना, अगंप्रत्यांगको प्रणाली र रोगसँग लड्ने क्षमतामा आउने परिवर्तनले कहिले साना समस्या मात्रै सिर्जना गर्छन् भने कतिले रोगकै रूप लिन्छन् । विशेषगरी ६० वर्ष उमेर कटेपछि ज्येष्ठ नागरिकमा आउने यस्ता समस्या परिवारले नबुझ्दा र बुझे पनि बेवास्ता गर्दा उनीहरूको मनोबल गिर्ने गरेको र गुणस्तरीय जीवनयापनमा ह्रास आउने गरेको ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेल बताउँछन् ।

‘उमेर बढेपछि अधिकांश बूढाबूढीलाई लाग्ने रोग भनेको बिर्सने रोग अर्थात् डिमेन्सिया र अल्जाइमर्स हो । हिँडडुल गर्न असजिलो हुने पार्किन्सन्स रोगबाट पनि उत्तिकै पीडित हुन्छन्,’ उनले भने, ‘मुटु, कलेजो र मिर्गौला जस्ता दीर्घरोग पनि धेरैलाई लाग्छ । हाड र मांसपेशीहरू कमजोर भएर दैनिकीमै असर गर्ने समस्या त सबैजसोलाई छ ।’ दैनिकी सामान्य बनाउन परिवारकै सदस्यमा निर्भर हुनुपर्ने, भोकनिद्रा कम लाग्ने समाज, साथीभाइ र भीडबाट टाढा भएर एक्लै बस्नुपर्ने बाध्यताले उनीहरूलाई डिप्रेसन जस्तो गम्भीर मानसिक रोग लाग्ने गरेको उनले बताए । ज्येष्ठ नागरिकमा आउने यस्ता समस्याबारे परिवार, समाज र राज्य नै अनभिज्ञ भएकाले उनीहरूको जीवन सम्मानजनक नभएको उनको भनाइ छ ।

बढ्दै गइरहेको एकल परिवार प्रणालीले वृद्धवृद्धाको समस्या अझ जटिल बन्दै गइरहेको छ । संयुक्त परिवारमा उनीहरूले हेरचाह पाउँछन्, बिरामी परे समयमै अस्पताल पुग्न सक्छन् र समस्या रोग बन्नबाट जोगिन्छ । एकल परिवारमा बसेका ज्येष्ठ नागरिकको दुःख हटाउन राज्यले नै पहल गर्नुपर्ने डा. कँडेल बताउँछन् । उनको अनुभवमा राज्यले ज्येष्ठ नागरिकको समस्या समाधानमा राज्यले ठोस कदम नै चालेको छैन । राज्यले हरेक अस्पतालमा ज्येष्ठ नागरिक उपचार वार्डको परिकल्पना गरेको छ, केही नियम र निर्देशिका पनि बनाएको छ । तर, ती व्यवस्था कागजमै सीमित छन् । कतिपय अस्पतालमा यस्ता वार्डको निर्माण भए पनि विशेषज्ञ र तालिमप्राप्त जनशक्ति अभावका कारण ती वार्ड प्रयोगविहीन छन् ।

सन्तान नभएका, घरबाट निकालिएका र समाजबाटै अपहेलनामा परेका बेवारिसे वृद्धवृद्धा बढी समस्यामा छन् । ‘उपचारका लागि अस्पताल पुगे पनि उहाँहरूलाई कुर्ने, हेरचाह गर्ने कुरुवा हुँदैनन् । ज्येष्ठ नागरिक उपचारमा सहुलियत दिन राज्यले बिमा र सामाजिक सुरक्षा कार्यक्रम बनाएको छ,’ उनले भने, ‘तर यस्ता सेवा लिन प्रशासन, नगरपालिका लगायत अन्य ठाउँमा धाउनुपर्ने झमेलाका कारण कार्यक्रम सफल छैनन् । राज्यले सुविधा मात्रै दिएर भएन सुविधा उपभोग गर्ने बाटो पनि सहज बनाइदिन आवश्यक छ ।’

ज्येष्ठ नागरिकको जीवनयापन सहज बनाउने परिवार, समाज र संस्थाको भर नपरी राज्यले आफै दायित्व लिनुपर्ने उनी बताउँछन् । यससम्बन्धी नीति, रणनीति र कानुन निर्माण हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४