काठमाडौं, पुस २१ । वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पाशुपत क्षेत्रका १८ सत्तल र २९ मन्दिर गरी ४७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ ।
पाशुपत क्षेत्रका ११ सम्पदाको पुनःनिर्माण चालु रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।विश्वरुपा मन्दिर, गौरीघाटलगायत सात सम्पदा निर्माण प्रक्रियामा छन् ।पच्चीस सम्पदाको काम शुरु गर्न बाँकी रहेको कोषका निर्देशक भरत मरासिनीले राससलाई जानकारी दिनुभयो ।भूकम्पले पाशुपत क्षेत्रका ९० सम्पदामा क्षति पुगेको थियो ।
गत हप्ता पाशुपत क्षेत्रको चन्द्रविनायक मन्दिर पुनःनिर्माण सम्पन्न भएको थियो ।मन्दिर पुनःनिर्माणपछि आज मङ्गलबार पनि चन्द्रविनायकमा भक्तजनको भीड लागेको छ ।चन्द्रविनायकको दर्शन गरेमा छाला एवं घाउखटिरा निको हुने धार्मिक विश्वास छ ।पाशुपत क्षेत्रको जयवागेश्वरी पुनःनिर्माणका लागि साँखु र लुुभुबाट माटो ल्याइने भएको छ ।
माटो ल्याइने निश्चित भए पनि मन्दिर पुनःनिर्माणका लागि आवश्यक काठको अभाव छ ।मन्दिर तल्लो भागमा नयाँ काठ राख्नुपर्ने भए पनि बजारमा पाउन नसक्दा पुनःनिर्माणमा समस्या आएको हो ।साढे पाँच वर्षअघिको गोरखा भूकम्पले देशभरका ९२० सम्पदामा क्षति पुगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।तीमध्ये हालसम्म ४६५ अर्थात् ५०.५ प्रतिशत पुनःनिर्माण सम्पन्न भएको छ ।हाल २७२ सम्पदाका पुनःनिर्माण जारी रहेको जनाइएको छ ।