हिमपातपछि जहाज पनि विमानस्थलमै थन्किएका छन । तारा एयरका दुईवटा जहाज सिमकोट विमानस्थलमै थन्किएका हुन् । एउटा जहाजमा रहेको ब्याट्रीमा सामान्य समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली लिएर अर्को जहाज आएको थियो । मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि दुवै जहाज रोकिएको सिमकोट नागरिक विमानस्थका प्रमुख विष्णु प्रसाद अधिकारीले बताए ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका प्रायः वस्तीहरुमा ४ फिट भन्दा बढी हिउँ जमेको छ । अहिले सदरमुकाम सिमकोटमा १ फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८ डिग्रीमा झरेको छ ।
लामो समयदेखि बर्षा नहुँदा समस्यामा परेका कृषक भने हिमपातले हर्षित भएका छन् अहिले जेष्ठमा पाक्ने जौ, गहुँ र उवा छर्ने समय भएकाले हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात भईरहेकाले यहाँका स्थानियलाई सतर्क रहन प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले आग्रह गर्नुभएको छ ।