कार्की केहिदिन यता इनरुवामै बस्दै आउनुभएकाे छ । सरकारविरुद्धको आन्दोलनमा सहभागि हुँदै आउनुभएका कार्कीलाई मुख्यमन्त्री राईले उहाँ बस्नुभएकाे इनरुवास्थित फुलबारी होटलमै गएर भेट्नुभएकाे हाे ।

मुख्यमन्त्री राई र काँग्रेस नेता कार्कीबीच झण्डै पौने एक घण्टा कुराकानी भएको स्रोतले बतायाे । होटलमा काँग्रेसका स्थानीय नेताहरु समेत रहेपनि मुख्यमन्त्रीले एक्लै भेट्न चाहनुभएकाले दुवैबीच गोप्य छलफल भएको बताइएको छ ।
कार्की कांग्रेसभित्र प्रभावशाली नेता मानिने भएकाले समेत मुख्यमन्त्री राईले कुर्सी जोगाउन कांग्रेसको साथ खोजेको कांग्रेसीहरुको अनुमान छ । यद्यपि दुई नेताबीच के विषयमा छलफल भयो भन्ने विषय चाँही बाहिरिएको छैन् ।
काग्रेस नेता कार्कीले स्वयंले समेत मुख्यमन्त्री राईसँग भेटघाट भएको स्वीकार गर्नुभएकाे छ । कार्कीले प्रदेश १ का मुख्यमन्त्री राईले आफूसँगको भेटमा वर्तमान परिस्थिति र समसामयिक घटनाक्रमको विषयमा छलफल गरेको बताउनुभयाे । उहाँले केन्द्रको निर्णय बमोजिम नै नेपाली कांग्रेस अघि बढ्ने बताएको जानकारी दिनुभयाे ।
मुख्यमन्त्री राईविरुद्ध प्रदेश १ मा नेकपाका बहुमत सांसदले अविश्वास प्रस्ताव दर्ता गरेयता प्रदेश सरकारमा सत्ता समिकरणको जोडघटाउ सुरु भएको छ ।
अविश्वासको प्रस्ताव र आगामी रणनीतिको विषयमा बिराटनगरमा कांग्रेस नेता डा. शेखर कोइरालालाई प्रदेश १ को अविश्वास प्रस्तावका प्रस्तावक नेकपाका केन्द्रीय सदस्य इन्द्रबहादुर आङबोले भेटेर आफूहरुलाई सघाउन आग्रह गर्नुभएकाे थियाे ।
आङबोले कोइरालालाई गुहार्दै गर्दा मुख्यमन्त्री राईले भने काँग्रेसकै अर्का नेता कार्कीलाई भेटेर साथ र सहयोग माग्नुभएकाे हाे । प्रदेश १ मा अविश्वास प्रस्ताव पारित गर्नेदेखि लिएर मुख्यमन्त्रीको कुर्सी जोगाउन समेत काँग्रेसको भूमिका महत्वपूर्ण हुने देखिएको छ ।
सोही कारण समेत नेपकामा दुबै समूहका नेताहरुको दौडधुप नेपाली काँग्रेसका नेता तर्फ बढेको छ ।