काठमाडाैं, १४ पुष । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव एक डिग्री मापन गरिएको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत वर्ष पुस १४ गते काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव तीन डिग्री रहेकामा यस वर्ष एक दशमलव एक पुगेको छ ।
तापक्रम घटेपछि काठमाडौँ उपत्यकामा बढी चिसो महसुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ ।
यसअघि यस वर्ष काठमाडाैंकाे न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो । गएको शनिबार न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । आइतबार र सोमबार मौसम बदली भएकाले तापक्रम बढ्दा काठमाण्डौमा केही न्यानो थियो ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव एक डिग्री र १७ देखि १९ सम्म पुग्ने अनुमान गरिएकाे छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस सात दशमलव शून्य डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको न्यूनतम तापक्रम सात दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
यस्तै अहिले काठमाडाैं उपत्यकालगायत देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । बिहान लागेको हुस्सु कुहिरो बिस्तारै हट्दै जाने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार आज राति भने सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । अन्य क्षेत्रको मौसम भने सफा रहने छ ।