प्रचण्ड-नेपाल पक्षीय नेकपाले बुधबार संसदीय दलको बैठक बोलाएको छ। प्रचण्ड-नेपाल पक्षीय नेकपाको मंगलबारको बैठकले माधव नेपाललाई अध्यक्ष चयन गरेको छ। बुधबार १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने एक नेताले जन न्युज नेपाल खबरलाई जानकारी दिए।
‘भोलि संसदीय दलको बैठक छ। संसदीय दलको नेता प्रचण्डलाई बनाउँछौं,’ नेपाल निकटका ती नेताले भने, ‘केन्द्रीय कमिटीमा निर्णय भएको छैन। तर नेताहरुका बिचमा त्यो सहमति भइसकेको छ।’
यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो।
प्रचण्ड-नेपाल पक्षीय प्रतिनिधि सभा सदस्यको सोमबार पनि बैठक बसेको थियो। बैठकमा ९० जना सांसदको उपस्थिति थियो।
