Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गणेश र भैरव : प्रतिस्पर्धाबाट फेरिए दुई जीवित देवता !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ४ २०७७
  • 8.8K
    SHARES

काठमाडौं । जीवित देवताका रुपमा उपत्यकाको महत्वपूर्ण सांस्कृतिक विरासत मानिँदै आएका गणेश र भैरव देवतालाई काठमाडौंका स्थानीयले शुक्रबार र शनिबार दुई दिन लगाएर प्रतिस्पर्धाका आधारमा प्रतिस्थापन गरेका छन् ।

जीवित देवी कुमारीको जति चर्चा हुने गरेको छ, उनको र राज्यको समेत रक्षक मानिने भैरव र गणेश देवताको भने अलि कम चर्चा हुँदै आएको छ । यिनै जीवित देवतामध्ये गणेश र भैरवको चयन प्रक्रिया शनिबार पूरा भएको हो ।

शाक्य विहार संघका महासचिव संघरत्न शाक्यका अनुसार गणेश र भैरव बन्नका लागि १८ महाविहारअन्तर्गतको शाक्य कुलकै बच्चा हुनुपर्छ । बाबुपटि्टका तीन पुस्ता र आमा पनि काठमाडौंकै स्थानीय हुनुपर्छ । शरीरमा कुनै पनि घाउचोट नलागेको हुनुपर्छ ।

यी शर्तहरु पूरा हुने बच्चाहरुमध्ये एकजनालाई भैरव र अर्का एकजनालाई गणेशका रुपमा चयन गर्ने गरिन्छ । जसरी कुमारीलाई रजश्वला हुनुभन्दाअघि नै बिदाइ गरिन्छ, त्यसरी नै गणेश र भैरवको चूडाकर्म हुनुअघि उनीहरुबाट देवताको आभूषण र बस्त्र प्रतिस्थापन गरी नयाँ चयन भएका देवतालाई पहिर्‍याइन्छ ।

  • रुजन अब देवताबाट सामान्य नागरिक !

 

काठमाडौंको ओमबहालमा रहेको जोर गणेश मन्दिरको पश्चिमपटि्ट मञ्जुश्री नक महाविहारको सम्मुखमा घर भएका रुजन शाक्यलाई आफू जीवित भैरव देवताबाट मान्छे बन्न लागेको पूर्वजानकारी थियो । त्यसैले उनले अब देवताबाट मान्छे बनेपछि स्वच्छन्द हिसाबले भ्रमणमा जान सक्ने भन्दै परिवारलाई भ्रमणको योजना बनाउन आग्रह गरेका छन् । हिजोसम्मका देवता रुजनले ‘मान्छे’ बनेपछि गर्ने कामहरुको योजना बनाइसकेका छन् । ‘त्यति ठूलो योजना त केही छैन, आनन्दले परिवारसँग घुम्न जाने हो, धित मरुन्जेल फुटबल खेल्ने हो ।’ उनी आफ्नो योजना सुनाउँछन् ।

यही योजना अनुसार उनीहरु आगामी शुक्रबार चन्द्रागिरि हिलमा गएर रात बिताउने गरी भ्रमणमा निस्कन लागेका छन् ।
यो रुजनको पहिलो नगर बाहिरको बसाइ हुनेछ । भगवानको हिसाबले नहेरेर व्यक्तिको हिसाबले हेर्दा उनी शनिबारदेखि बन्धनमुक्त भएका छन् ।

अब उनले मन लागेको वस्त्र पहिरिन सक्छन् । मन लागेको ठाउँमा जान सक्छन् र मन लागेको कुरा खान सक्छन् । उनी भन्छन् ‘मैले केही स्वतन्त्रता त पाउँछु होला, तर पहिलेको जस्तो सम्मान पाउन सक्दिनँ । मलाई बाहिरका मान्छेले भेट्दा अब कस्तो व्यवहार गर्छन् होला भन्ने खुल्दुली भइरहेको छ ।’भगवान बन्ने बेलामा रुजनमा खासै चेतना थिएन । जतिबेला उनीभित्र चेतनाको विकास हुँदै गयो, भोजभतेरमा मनलाई गाह्रो ढंगले सम्हाल्नुपरेको सम्झन्छन् । ‘म त्यति धेरै भोजभतेरमा त गइनँ, तर गएका बेला साह्रै मन कुँडिन्थ्यो’ उनी सम्झन्छन् ‘सँगैका साथीभाइहरु धित मरुन्जेल नाच्थे, मचाहिँ एउटा आसनमा सीमित हुनु पर्दथ्यो ।’

यद्यपि, झण्डै एक दशक जीवित भैरव देवताको स्वरुपमा रहँदा आफूले कुनै समस्या भोग्नु नपरेको उनी स्मरण गर्छन् ।
फुटबल खेल्न औधी रुचि थियो रुजनलाई । तर, चोटपटक लाग्यो भने भगवानका रुपमा नरहने भएकाले उनी साथीहरुसँग निर्धक्कसँग फुटबल खेल्न सक्दैनथे । स्कुलमा साथीहरुले घुमघामका अनेक किस्सा सुनाउँदा उनी मलीन अनुहार लगाएर अर्काेतिर लाग्थे । शुक्रबारसम्म भैरव भगवानका रुपमा रहेका रुजन शनिबारदेखि सामान्य मान्छे बनेका छन् ।

रुजनले १२ वर्षसम्म भगवानका रुपमा सम्मानित जीवन बिताए । मान्छेका आँखाले हेर्दा आफ्ना केही इच्छाहरूलाई उनले तिलाञ्जली पनि दिनुपर्‍यो । फुटबल खेल्न जाँदा पनि चोटपटक लाग्छ कि भनेर मन खोलेर खेल्न पाएनन् । शाक्य महाविहार संघका महासचिव शाक्यका अनुसार भगवानको शरीरमा कुनै पनि खोट लाग्न नहुने शास्त्रीय मान्यताका कारण दुर्घटना या अन्य कारणले शरीरमा चोट लाग्यो भने तत्कालै भगवान परिवर्तन गर्नुपर्छ । त्यसैले पनि रुजनको हरेक गतिविधि अनुशासित हुने गरेको थियो ।

तर, अब रुजनले जस्तोसुकै पोषाक लगाउन सक्छन् । तथापि झट्टै आधुनिक कपडाप्रति खासै मोह नरहेको उनी बताउँछन् । जन न्युज नेपाल खबरसँगको कुराकानीमा उनले भने, ‘म यही कपडामा अभ्यस्त भइसकेँ, अब सिधै पश्चिमा पोशाक लगाउनका लागि मलाई नै अप्ठ्यारो महसुस हुन्छ ।’

  • प्रतिस्पर्धाबाट छानिए नयाँ देवता

 

अघिल्लोपटक गणेश र भैरवको चयन प्रक्रियामा स्पष्टता थिएन । गणेश र भैरव बनेकाहरूको कुलमा रहेका अर्काे कोही योग्य व्यक्ति भए सोही व्यक्तिलाई गणेश या भैरवका रुपमा पुज्ने गरिन्थ्यो । तर, यसपटकदेखि यो प्रक्रिया बदलिएको शाक्य महाविहार संघले जनाएको छ ।

शाक्य महाविहार संघका महासचिव शाक्यका अनुसार यसपटक सबै महाविहारमार्फत् गणेश र भैरवका लागि योग्य शाक्यपुत्रको आवेदन माग गरिएको थियो । यसपटक झण्डै एक वर्षको प्रक्रिया पूरा गरेर नयाँ गणेश र भैरवको चयन गरिएको हो ।

गणेश र भैरव बन्नका लागि १२ जनाको आवेदन परेको थियो । त्यसमध्येबाट भैरवका लागि २ जना र गणेशका लागि २ जनाको नाम शाक्य महाविहार संघले नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई पठाएको थियो ।

शाक्यकाअनुसार ती बच्चाहरुको चिना पञ्चाङ्ग निर्णायक समितिले विश्लेषण गरेर नयाँ भैरव र गणेश चयन गरेको हो । समितिले विश्लेषणका क्रममा ग्रहहरुको स्थिति, बच्चाको जन्मयोग आदिलाई आधार मान्ने गर्छ । चिनामा राज्यसँग बाझिने कुनै योग नभएको र धेरैभन्दा धेरै गुण भएकामध्ये एक जनालाई भगवानको रुपमा चयन गर्ने गरी अहिले नयाँ नियम बनेको शाक्य बताउँछन् ।

केही अन्योलका बीच भैरवको बस्त्र आभूषण एवं आसन प्रतिस्थापनका लागि शनिबारको समय तोकिएको थियो । शनिबार विवाह पञ्चमीसमेत रहेको र भैरवको प्रतिस्थापन पनि पञ्चमीकै दिन गर्नुपर्ने भएकाले यस दिन साइत जुराउनुपर्ने आवश्यकता थिएन ।

सोहीअनुरुप शुक्रबार चौथीको दिन नियमानुसार श्री गणेशलाई परिवर्तन गरिएको हो ।

  • जीवित भगवानको दैनिकी

 

गणेश र भैरव देवताका रुपमा चयन भएकाहरुले आन्तरिकरुपमा तन्त्रयानी विधिबाट उनीहरुले गर्नुपर्ने पूजाआजाको छुट्टै विधान रहेको शाक्य बताउँछन् । उनीहरुले खानाको शुद्धाशुद्धीमा ध्यान दिनपर्छ । निश्चित बस्त्र मात्रै लगाउन पाइन्छ । कुनै पनि भोजमा सहभागी हुँदा अरूले भन्दा पहिले नै खानुपर्छ । भैरव बनेपछि बौद्ध सम्प्रदायको तन्त्रयान शाखाअन्तर्गत तोकिएका सबै विधिहरु पूरा गर्नुपर्ने निवर्तमान भैरव रुजन शाक्यका मामा विश्व शाक्य बताउँछन् ।

भैरव र गणेशको दैनिकी कुमारीको जस्तो कट्टरचाहिँ छैन । उनीहरुका लागि कुमारी घरजस्तै छुट्टै घर पनि छैन । आफ्नै घरमा बस्ने हो, पूजा गर्न आउनेहरु घरमा नै आउँछन् । घरमा नित्य पूजा हुन्छ । राज्यले नित्य पूजाका लागि दिएको पूजा खर्चले इन्द्रजात्रामा गरिने पूजा र दसैंमा गरिने पूजासहित नियमित पूजा पनि गर्ने प्रचलन रहेको शाक्य बताउँछन् । भैरव र गणेश दुवै विद्यालय पनि जान्छन् । तर, विद्यालय जानेबेलामा उनीहरुले विद्यालयको नभई गणेश भैरवकै पोशाक लगाउनुपर्ने हुन्छ । उनीहरुले खाना खाने समयमा शुद्धाशुद्धीमा ध्यान दिनुपर्छ ।

इन्द्रजात्राको समयमा चारपटक र बडादसैंका दिन एकपटक गरी भैरव र गणेशको रथ पाँचपटक बाहिर निकाल्ने गरिन्छ । इन्द्रजात्रामा कुमारीसँगै भैरव र गणेशको पनि जात्रा निकाल्ने गरिन्छ । तिथि एउटै परेको भए पनि इन्द्रजात्राको कथा र यी जीवित देवी/देवताहरुको कथा भने भिन्न रहेको शाक्य महाविहार संघका महासचिव रत्नसंघ शाक्य बताउँछन् ।

  • भैरव र गणेशको महिमा

जीवित देवता भैरव र गणेश धार्मिक सहिष्णुताका प्रतीक पनि हुन् । गणेश र कुमारीलाई तलेजु मन्दिरका पुजारीले पुजा गर्नुपर्ने शास्त्रीय मान्यता छ ।

शाक्य महाविहारअन्तर्गत रहेका शाक्य कुलपुत्रहरु अर्थात् बौद्ध सम्प्रदायका व्यक्तिलाई समग्र हिन्दुहरुले गणेश र भैरवको रुपमा पुज्ने गर्छन् । शाक्य महाविहार संघका महासचिव शाक्य पनि यो पर्व धार्मिक सहिष्णुताको पर्वको रुपमा पनि मान्न सकिने बताउँछन् । तर, बौद्ध सम्प्रदायले गण अर्थात् राज्यको रक्षाका लागि गणेश र भैरवको समेत पूजा गर्ने गरेकाले धेरै बौद्धहरुले महादेव पुत्र गणेश नभएर गण (राज्यको रक्षार्थ बनेको गण)नायक गणेशको पूजा गर्ने गरिएको उनी बताउँछन् ।

गणेश र भैरवका रुपमा पुज्ने चलनको ऐतिहासिक पाटो नियाल्दा यसको सुरुवात नेपाल एकीकरण ताका भएको पाउन सकिन्छ ।
काठमाडौंका अन्तिम मल्लकालीन राजा जयप्रकाश मल्लका पालादेखि सुरु भन्ने विश्वास रहेको श्रीगणेश र श्रीभैरवको परम्परा आजसम्म चलिआएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४