भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ । भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ । ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च छ ।
त्यसैले पनि अन्तर्राष्ट्रिय जगत्मा नेपाली अलैँचीको माग उच्च छ । “पछिल्ला वर्षहरूमा नेपाली अलैँचीको भाउ एकदम बढेको छ । किसान आफैँले प्रशोधन गर्दासमेत सचेतना जनाउन थालेका छन्”, अध्यक्ष कार्कीले भने, “पछिल्लो समय त धेरै जिल्लामा उत्पादन हुन थालेपछि उत्पादन राम्रो भएको छ ।” नेपालमा झण्डै ३० जिल्लामा अहिले अलैँची उत्पादन हुन्छ ।
व्यापार चिह्न कार्यान्वयनमा कठिनाइ
नेपाली अलैँची चिनाउन चार वर्षअघि बनेको व्यापार चिह्न अझै कार्यान्वयनमा आउन सकेको छैन । सरकारले विसं २०७३ असार १९ गते जारी गरेको ट्रेडमार्कलाई केही समयअघि मात्रै पाकिस्तानले स्वीकृति जनाएको थियो । स्वीकृतिपछि पाकिस्तानमा व्यापार चिह्न लगाएर अलैँची लग्न सकिने भए पनि विविध कारणले लगिएको छैन । भारत–पाकिस्तानबीचको द्वन्द्वका कारण नेपालमा व्यापार चिह्नसहितको अलैँची पाकिस्तान लैजान नसकिएको व्यवसायी बताउँछन् । सरकारले लोगो जारी गरेलगत्तै भारत, पाकिस्तान र युएईमा दर्ता प्रक्रिया अघि बढाइएको थियो । एक वर्षअघि नै पाकिस्तानबाट लोगो स्वीकृत भएर आयो भने अन्य देशबाट आएको छैन ।
“कूटनीतिक कदम व्यापक बनाउनुपर्छ । हाम्रो कूटनीतिक कदम सुस्त भएकाले समस्या भएको हो”, अध्यक्ष कार्कीले भने, “पाकिस्तानसँग भने व्यापार गर्दाभारतलाई समेत सन्तुष्ट बनाएर गर्नुपर्ने हुन्छ ।” सरकारले कूटनीतिक पहल गरेमा केही सहज हुने अध्यक्ष कार्कीको भनाइ छ । चार वर्षअघि सरकारले ‘एभरेस्ट विग कार्डिमम’ नामक व्यापार चिह्न जारी गरेको छ । व्यापार चिह्न कार्यान्वयनपछि अलैँचीमा सुधार गरेर विदेश निर्यात गर्न अलैँचीलाई तीन गुणस्तरमा वर्गीकरण गरिएको छ । सबैभन्दा गुणस्तरीय अलैँचीलाई जेम्बो जेट, मध्यम गुणस्तरीय अलैँचीलाई स्टेन्डर क्वालिटी र कम गुणस्तरीय अलैँचीलाई चलनचल्तीको मापनमा वर्गीकरण गरिएको छ ।
आर्थिक वर्ष ०७५–७६ मा ५२ लाख ४० हजार ३२९ किलो अलैँची निर्यात भएकामा आव ०७६–७७ मा ५० लाख १२ हजार ६९४ किलो निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क छ । आव ०७५–७६ मा रु चार अर्ब २८ करोड ४१ लाख ९९ हजारको अलैँची निर्यात भएकामा गत आव ०७६–७७ मा रु चार अर्ब एक करोड ९२ लाख १४ हजारको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ ।