Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२१ वर्षीय युवाले बनाए पुराना किताब किनबेच गर्ने थलो !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २८ २०७७
  • 9.4K
    SHARES

काठमाडौँ / सामान्य आर्थिक अवस्था भएको परिवारमा हुर्केका विद्यार्थीलाई नयाँ कक्षा पुग्दा एउटै कुराले सताउँछ- महँगा पाठ्यक्रमका किताब। स्कुल र कलेजको भारी भर्ना शुल्कले यसै तनाव थपिरहेकै हुन्छ। त्यसमाथि हरेक वर्ष किन्नुपर्ने महँगा पाठ्यक्रम किताब धेरैको समस्यामा पर्छ।

अझ काठमाडौंमा एक्लै कोठा लिएर बसेका विद्यार्थीलाई यो निकै ठूलो चिन्ता हुन्छ। विद्यार्थी र परिवारको यही समस्यालाई बुझेर २१ वर्षीय विवेक पराजुलीले ‘साझा किताब‘ सञ्चालन गरेका छन्।

‘साझा किताब‘ एक अनलाइन प्लेटफर्म हो जहाँ जोकोहीले नयाँ तथा पुराना किताब किन्न वा बेच्न सक्छन्।

तीन महिनाअघि खुलेको यो प्लेटफर्म विवेकले आर्थिक स्थिति कमजोर भएका विद्यार्थीका लागि सस्तो मूल्यमा पुराना किताब उपलब्ध गराउने उद्देश्यले बनाएका हुन्। 

सिभिल इञ्जिनियरिङका विद्यार्थी उनी आफैंलाई हरेक सेमेस्टर महँगा नयाँ किताब किन्नुपर्थ्यो। आफ्नो र अन्य सबै विद्यार्थीको यो समस्या समाधान गर्न उनले पुराना किताब किनबेच गर्ने थलो ल्याएका हुन्।

‘हरेक सेमेस्टरका लागि नयाँ किताब किन्नु पर्छ र ती महँगा किताब अर्को सेमेस्टरमा काम लाग्दैनन्,’ विवेक भन्छन्, ‘पुराना किताब माग्न पनि कोही दाइदिदीहरूसँग चिनजान हुनुपर्छ। नत्र पैसा खर्च गर्नुबाहेक विकल्प हुँदैन।‘

उनले थपे, ‘एक वर्ष प्रयोग गरेपछि किताब अर्को पटक काम लाग्दैन र धेरैले त्यसलाई कवाडीमा बेचिदिन्छन्। बरु आफूभन्दा कमजोर आर्थिक स्थितिका अरू विद्यार्थीलाई ती किताब दिन पाए उनीहरूले त पढ्न पाउँछन्।‘

 उनको यो सोच लकडाउनका बेला पूरा हुन पायो। विवेकका अनुसार लकडाउनको खाली समयमा उनलाई केही काम गर्ने इच्छा थियो र आफ्नै समस्या पनि समाधान हुने भएकाले ‘साझा किताब‘ सञ्चालन तयारीमा लागे।

‘साझा किताब‘ लाई आधिकारिक रूपमा ल्याउन वेबसाइट बनाउनु पर्ने थियो। तर त्यसका लागि खर्च जुटाउन उनलाई नै समस्या हुन्थ्यो। विवेकलाई सानैदेखि सूचना-प्रविधि क्षेत्रमा रूचि थियो। त्यसैले आफैंले लकडाउनभर वेबसाइट बनाउन सिकेको उनले बताए।

वेबसाइट सार्वजनिक हुने बित्तिकै उनले त्यसमा पुराना किताबका फोटो मूल्यसहित राख्न थाले।

‘सुरूमा हामीले आफूसँग भएका किताबहरूको फोटो खिचेर राख्यौं। पछि पुराना किताब पाउने पसलसँग सहकार्य गरेर अन्य पाठ्यक्रमका किताब पनि राखेका थियौं,’ उनी भन्छन्, ‘बिस्तारै पुरानाका साथै नयाँ किताबबारे पनि सोधपुछ आउन थाल्यो। त्यसैले अहिले पुराना र नयाँ दुवै खाले किताब समावेश गरेका छौं।‘

ग्राहकहरूले देखाएका जिज्ञासाकै कारण बजारमा किताबको पनि व्यवसाय गर्न सक्ने आधार पाएको विवेक बताउँछन्।

पुराना वा नयाँ किताब किन्न साझा किताबको आधिकारिक वेबसाइट वा फेसबुकमार्फत् सम्पर्क गर्न सकिन्छ।

हाल भने उनीहरूले होलसेल पसलसँगको सहकार्यमा नयाँ किताब उपत्यकाभर होम डेलिभरी गरिरहेका छन्। उपत्यका बाहिरबाट आएका अर्डर भने ‘पार्सल‘ गरेर पठाइरहेको विवेकको भनाइ छ।

पुराना किताबहरू खोजेर बेच्ने प्रक्रिया सहज भने छैन। त्यसैले यसको जिम्मा उनले बेच्ने र किन्नेबीच नै छोडिदिएको उनी बताउँछन्। उनका अनुसार कसैलाई आफ्ना पुराना किताब बेच्ने इच्छा छ भने उनीहरूले साझा किताबको वेबसाइटमा किताबको फोटो खिचेर मूल्यसहित राख्न सक्छन्। त्यसैगरी सस्तोमा पुराना किताब खोजेकाले आफूलाई चाहिएको किताब साइटबाटै हेरेर किन्न सक्छन्।

विवेक पराजुली

विवेकले भने, ‘किन्ने मान्छेले सिधै बेच्नेसँग सम्पर्क गरेर किताबबारे बुझ्न र किन्न सक्छन्। यसमा साझा किताबले केबल एउटा माध्यमका रूपमा सेवा पुर्‍याउँछ।‘

आफ्नो वेबसाइटमा बिक्रेताले कस्तो अवस्थाका किताब राखेका छन् भन्नेबारे पनि उनीहरू ध्यान दिन्छन्। उनका अनुसार धेरै पुरानो संस्करण वा च्यातिएका किताब छ वा छैन भनेर टिमले बेलाबेलामा जाँच गरिरहेका हुन्छन्। साझा किताबको काममा विवेकलाई अरू चार जना साथीको सहयोग छ।

साझा किताबलाई भविष्यमा इ-कमर्स बुक स्टोरका रूपमा ल्याउने सोच विवेकको छ। त्यसमा विद्यार्थीले स्कुल वा कलेजका र साहित्यका किताब पनि अनलाइनमार्फत अर्डर गरेर किन्न सक्ने छन्।

‘हामी आफैं पनि विद्यार्थी हौं। अहिले काम गर्ने जाँगर छ र थुप्रै आइडिया पनि सोचिरहेका छौं। तर केही काम सुरू गर्न हामी सँग लगानी छैन,’ उनी भन्छन्, ‘अहिले गरिरहेको कामबाट हामीलाई पकेट खर्च आउन पनि मुश्किल छ।‘

तर विवेकले आत्तिएका छैनन्। अहिलेको समस्या समाधान हुने आशाले उनी र उनका टिम काममा लागि परेका छन्। अझ आफूले गरेको काम कुनै विद्यार्थीको भविष्यको एउटा पाटो बन्न पाउँदा गर्व महसुस हुने विवेक बताउँछन्।

साझा किताबसँग वेबसाइट, फेसबुक पेज वा ९८६०९७४७१७ मा सम्पर्क गर्न सकिन्छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४