Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘ओलीजीले बालुवाटारलाई नै देश ठान्नुभयो’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २४ २०७७
  • 5.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला मंगलबार बालुवाटारमा सर्वदलीय बैठकको निम्तो मानेर फर्किएका छन् । प्रधानमन्त्रीले यसरी बैठक बोलाउनु सकारात्मक भए पनि बैठकमा ओलीको प्रस्तुती देखेर सिटौला निराश देखिएका छन् ।

देशको वास्तविक अवस्थाबारे प्रधानमन्त्री ओली ‘अपडेट’ नभएको र गुमराहमा परिरहेको सिटौलाको निश्कर्ष छ । कुवाको भ्यागुतोले कुवालाई नै संसार ठानेजस्तै प्रधानमन्त्री ओलीले पनि बालुवाटारलाई नै देश ठानेको सिटौलाले बताए ।प्रधानमन्त्री ओलीको प्रस्तुतिबारे टिप्पणी गर्दै सिटौलाले अनलाइनखबरसँग भने, ‘उहाँको आजको प्रस्तुति हेर्दा उहाँले कुवाको भ्यागुतोजस्तो बालुवाटारलाई नै देश ठान्नुभएको छ ।’

प्रस्तुत छ, सिटौलासँग गरिएको छोटो कुराकानी-

आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको थियो, के रहेछ प्रधानमन्त्रीको एजेण्डा ?

प्रधानमन्त्रीजीको खासै एजेण्डा र प्रस्ताव थिएन । उहाँले शुरुमा विषय प्रवेश गरेर कोरोना संक्रमण महामारीको कुरा उठाउनुभयो । हामीले परीक्षण, उपचार सबै कुरामा प्रयास गरिरहेका छौं, भ्याक्सिन पनि जनतालाई छिट्टै उपलब्ध गराउँछौं भन्नुभयो । सरकारले राम्रो काम गर्दागर्दै पनि आलोचना मात्रै भएको छ, यहाँ प्रतिक्रियावादी शक्तिहरुले शीर ठाडो पार्ने मौका पाइरहेका छन् भन्नुभयो ।आफ्नै दलभित्रको विषयमा पनि कुरा गर्नुभयो । हिजो विप्लव माओवादीले शिक्षकको घाँटी रेटेर मारेको विषयमा पनि कुरा गर्नुभयो । उहाँले विषय प्रवेश गर्दा गरेको जुन चर्चा हो, त्यसमा खासै एजेण्डा थिएन ।

उसोभए, सर्वदलीय बोलाउनको उद्देश्य के रहेछ ?

लामो समय भएको थियो सर्वदलीय बैठक नभएको, त्यसैले म अब सबै दलहरुको विचारलाई कदर गरेर अगाडि जान्छु भन्ने सन्देश दिनलाई हो सायद । कहिलेकाँही प्रतिपक्षी दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठक गर्नु र उनीहरुको कुरा सुन्नुलाई राम्रो नै मान्नुपर्छ ।

सर्वदलीय बैठकको खास निष्कर्षचाहिँ के निस्कियो त ?

उहाँले विषय प्रवेश गरेपछि नेपाली कांग्रेसका तर्फबाट हामीले प्रष्टरुपमा भनेका छौं, सरकारको तीन वर्षको कार्यकालको मूल्याङ्कन गर्दा सरकार असफल देखिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था छ, यसमाथि अहिले प्रतिक्रियावादीको शीर उठ्न थाल्यो भन्ने प्रधानमन्त्रीले भन्नुभयो, यसको मूल कारण पनि सरकार नै हो । उहाँ नै हो ।

तपाईले (प्रधानमन्त्रीले) संवैधानिक निकायहरुलाई पनि स्वतन्त्र ढंगले काम गर्न दिनुभएन । प्रहरी प्रशासनलाई पनि स्वतन्त्र काम गर्न दिनुभएन् । धेरै ठाउँमा दमन गर्नुभयो, तनहुँको एउटा हो, अरु पनि थुप्रै घटना छन् । कोभिड-१९ को महामारीबाट जनतालाई जोगाउन ठोस व्यवस्थापन गर्न सक्नुभएन । गरिव जनता उपचार गर्न नसकेर घरमै मर्न बाध्य छन् । निजी क्षेत्रमा गएर उपचार गर्न सक्ने ल्याकत छैन गरिव मान्छेको । तमाम कुरामा सरकारले बेवास्ता गरेका कारण जनताको मनोवल गिरेको छ । जनता निराश छन् तपाईको सरकारप्रति प्रधानमन्त्रीजी, यो तपाईले आत्ममूल्याङकन गर्नुस् भन्यौं  ।

कमसेकम आज धेरै समयपछि बोलाएर यति कुरा भन्ने मौका दिनुभयो ।

कांङ्ग्रेसले जस्तै अरु दलले पनि सरकारको आलोचना गरे ?

आज त्यहाँ जनमोर्चाले पनि खासगरी सरकारको आलोचना नै गरेको छ । जनता समाजवादी पार्टीले पनि आलोचना नै गरेको छ । नारायणमान बिजुक्छेकाे पार्टीका प्रतिनिधिले पनि आलोचना गरे । आज त्यहाँ सरकारले राम्रो काम गरेको छ भनेर एकजनाले पनि बोल्नुभएन ।

सत्तापक्षका अन्य नेताहरुले नि ?

सत्तापक्षका शीर्ष नेताहरु सबै हुनुहुन्थ्यो । आज उहाँहरु कसैले पनि बोल्नुभएन ।

कसैले पनि सरकारको प्रतिरक्षा गरेनन् त ?

अहँ गरेनन् ।

आलोचनाको बचाऊमा प्रधानमन्त्रीले चाहिँ के जवाफ दिनुभयो ?

सरकारको आलोचना भएको छ र सुझाव पनि दिनुभएको छ त्यसलाई मैले गम्भीर रुपमा लिएको छु भन्नुभयो । यस्तो बैठक म फेरि पनि राख्छु भन्नुभयो ।

प्रतिपक्ष नेपाली कांग्रेसले यस अगाडि नै सरकारले काम गर्न सकेन भन्ने निष्कर्ष निकालिसकेको छ । नेकपाभित्रैबाट प्रधानमन्त्री फेर्नुपर्ने माग भइरहेको छ, यसमा कांग्रेसको धारणा के हो ?

मलाई कस्तो लाग्छ भने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सरकारले देशको हितमा तीन वर्षको अवधिमा धेरै काम गर्न सक्थ्यो, तर गर्न सकेन । यो नेपाली कांग्रेस पार्टीको निष्कर्ष हो । अब यस्तो सरकारलाई राजनीतिक र नैतिक हिसाबले सरकारमा बसिरहने अधिकार रहँदैन भन्ने हामीले केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरिसकेका छौं ।

हामी अहिलेसम्म सरकारले राम्रो काम गरोस्, किन डिस्टर्भ गर्ने भनेर बसेका हहौं । तर, अब यही मंसिर २९ गते हामीले ७७ वटै जिल्लामा, देशब्यापीरुपमा सरकारका गलत कामकारवाही विरुद्धमा विरोध प्रर्दशन गर्दैछौं  । हाम्रो विरोध प्रर्दशन संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छ र सरकारका गलत कामकारवाहीको विरुद्धमा छ ।त्यो विरोध प्रर्दशन अब एकदिने मात्र हुँदैन, त्यसलाई निरन्तरता दिने कार्ययोजना हामी बनाउँछौं । अब महाधिवेशनको तयारीलाई पनि काम अगाडि बढाउनुपर्छ र सरकारको विरोध कार्यक्रमको पनि योजना अगाडि बढाउनुपर्छ भनेर मैले प्रस्ताव गरिसकेको छु । अबको बैठकमा कुराकानी हुन्छ ।

तपाई कांग्रेसले आन्दोलन गर्छ भन्दै हुनुहुन्छ, आज प्रधानमन्त्रीले आफूलाई सच्याउन लागेको कुनै संकेत पाउनुभएन र ? किनभने, यसरी सर्वदलीय बैठक बोलाएर प्रधानमन्त्रीले सबैको कुरा सुन्न चाहनुभएको होइन ? 

प्रधानमन्त्रीजीको आजको विश्लेषण गराईले मलाई के लाग्यो भने उहाँको सोच र सूचना एकदमै सीमित छ । उहाँले बालुवाटारलाई नै देश ठान्नुभयो । उहाँले देशमा जनताको दुःख कष्टलाई बुझ्न सक्नुभएको छैन । जनतामा हाहाकार छ, उहाँले सुन्न, देख्न सक्नुभएको छैन ।

किन ? आजको उहाँको प्रस्तुति त्यस्तो थियो ?

धेरै टिप्पणी गर्नुभन्दा पनि उहाँको आजको प्रस्तुति हेर्दा उहाँले कुवाको भ्यागुतो जस्तो, बालुवाटारलाई नै देश ठान्नु भएको छ । उहाँले सरकारलाई समस्या छ, केही भन्नुभएन । सरकार सफल नै सफल भएको जस्तो, राम्रो राम्रो गरेको जस्तो ठान्नुभएको छ ।

जबकि यति धेरै भ्रष्टाचारका कुरा भएका छन् । अनियमितताको कुरा उठेको छ । प्रहरी प्रशासनमा यत्रो राजनीतिकरण भयो भन्ने विषय उठेका छन् । मजदुरहरुको गुनासो, बेरोजगारी बढेको छ । पर्यटन बन्द छ । शिक्षा ध्वस्त भएको छ । चारैतिर हाहाकार छ । तर, प्रधानमन्त्रीजी भन्दै हुनुहुन्छ कि कुनै समस्या छैन ।आजको प्रस्तुतिले मलाई के लाग्यो भने प्रधानमन्त्रीको जुन घेरा छ, उहाँ एकदम सीमित ठाउँमा हुनुहुन्छ । धेरै साँघुरो र संकीर्ण घेरामा हुनुहुन्छ, जुन नेपालका लागि दुर्भाग्यपूर्ण छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४