छोराको हत्यारालाई कारबाहीको माग गर्दै आएकी गंगामाया अधिकारी विचल्लीमा !
जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !
देशकै पुरानो अस्पतालका रुपमा रहेको विर अस्पताललाई सरकारले कोभिड अस्पतालका रुपमा सञ्चालन गरेपछि पहिलो तलाको क्याबिन नम्बर ७मा विगत ९ वर्षदेखि बस्दै आएकी गंगामाया अधिकारीको बिचल्ली भएको छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग राख्दै अनसनमा रहेकी अधिकारीलाई अस्पताल प्रशासनले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै क्याबिन खाली गर्न लगाए पछि उनको विचल्ली भएको हो ।
अधिकारी अनुसार डाक्टरले कोभिडका बिरामी भर्ना गरेपछि स्वास्थ्यको जोखिम हुने भएकाले क्याबिन खाली गरेको भएता पनि काठमाडौंमा आफ्नो बस्ने ठाउँ कतै नभएको भन्दै उनले अस्पतालले जहाँ व्यवस्था गर्छ त्यहीँ बस्ने बताइन् ।
अस्पताल प्रशासनले भने राष्ट्रिय ट्रमा सेन्टरमा बस्ने व्यवस्था गरिने बताएको भएता पनि अधिकारीले भने क्याबिन भएको ठाउँ माग गरेका हुदा ट्रमा सेन्टरमा क्याबिन नभएकाले अहिलेसम्म कुन ठाउँमा बस्ने भन्ने टुंगो लाग्न नसकेका अस्पताल प्रशासनले जनाएको छ ।
गत हप्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस) को बैठकले वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेपछि अधिकारीलाई ट्रमा सेन्टरमा सार्न लागिएको अस्पताल प्रशासनले जनाएको छ ।