प्रधानमन्त्रीले मन्त्रीहरूलाई भने- मन्त्रिमण्डल पुनर्गठनको कुरा कहाँबाट आयो?
जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको हल्ला कहाँबाट आयो भन्दै आश्चर्य व्यक्त गरेका छन्।
मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफ्ना मन्त्रालयको कमाण्ड लिएर काम गर्न समेत मन्त्रीहरूलाई निर्देशन दिए।
‘मन्त्रिमण्डल पुनर्गठनको कुरा कहाँबाट आएका छन्। कसरी हल्ला चलेका छन्। मैले कहीँ बोलेको छैन,’प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक मन्त्रीले भने,’सबै मन्त्रीले आफ्ना मन्त्रालयको कमाण्ड लिएर चलाउनुहोला। मिडियामा आएका हल्ला अडकलका भरमा आएका हुन्।‘
उनले बेलाबखत मिडियाले कसलाई मन्त्री बनाउने र कसलाई फाल्ने गरेको समेत बताएका थिए।
‘आज एउटाको नाम हुन्छ भोलि अर्काको नाम हुन्छ। अहिलेसम्म कुनै छलफल चलेर होइन, अडकलका आधारमा भएका हुन्,’प्रधानमन्त्रीको भनाइ उदृत गर्दै ती मन्त्रीले भने,’तपाईंहरूले हल्लाका पछि नलागिकन काम गर्नुहोला।‘