Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनेरास्ववियुको विवाद सामाजिक सञ्जालमा भयो छताछुल्ल !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १६ २०७७
  • 6.5K
    SHARES

अनेरास्ववियुको विवाद सामाजिक सञ्जालमा भयो छताछुल्ल !

जन न्युज नेपाल खवर प्रतिनिधि : काठमाडौँ !

काठमाडौँ / सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले गत आइतबार ‘कुकुर भुक्दै गर्छ, । हात्ती लम्किदै गर्छ‘ भनेर ट्वीट गरे।

उनको ट्वीटमा दुई थरी प्रतिक्रिया आए। कतिले उनको कुरामा सहमति जनाए, कतिले विरोध गरे । उनलाई तालीभन्दा गाली नै धेरै आएको छ।

सोमबार तामाङले अर्को ट्वीट गरे- आफू सिसाको घरमा बसेर अरूको घरमा ढुंगा हान्ने मुर्खलाई के भनौ र !

उक्त ट्वीटबारे  पनि अनेरास्ववियुका नेता-कार्यकर्ता बहसमा उत्रिएका छन्।

तामाङका यी दुई ट्वीट र त्यसमा आएका प्रतिक्रिया हेर्दा थाहा हुन्छ- अनेरास्ववियुमा आन्तरिक कलहले गहिरो जरा गाडिसकेको छ।

विवादको पछिल्लो श्रृंखला भदौ १२ गतेदेखि सुरू भएको हो।

लकडाउन र निषेधाज्ञाले शैक्षिक क्षेत्रमा देखिएको अन्यौलतामा केन्द्रित रहेर तामाङले भदौ १२ गते शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई २१ बुँदे ज्ञापन पत्र बुझाएका थिए।

ज्ञापन पत्रमा उनको मात्रै हस्ताक्षर छ। संयोजक ऐन महरको सहमति नलिई एकतर्फी रूपमा ज्ञापनपत्र बुझाएको भन्दै अनेरास्ववियुका केही नेताले तामाङलाई कारबाही गर्नुपर्ने माग राखेका छन्।

अनेरास्ववियुको झण्डा र लेटरप्याडको दुरूपयोग गरेको भन्दै संयोजकको हस्ताक्षर नभएको कुनै पनि डकुमेन्ट आधिकारिक नहुने उनीहरूको तर्क छ।

पार्टी एकतासँगै पूर्वएमालेको भागमा अनेरास्ववियु परेकाले महर संयोजक छन् भने पूर्वमाओवादीका तामाङ सहसंयोजक बनेका हुन्।

अहिले पूर्वएमाले पक्षधरले तामाङको चर्को आलोचना गरिरहेका छन् भने पूर्वमाओवादी पक्षधर उनको बचाउमा लागेका छन्।

विशेष गरेर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधरका विद्यार्थी नेताहरूले तामाङलाई संगठनबाटै हटाउनु पर्नेसम्मका माग राखेका छन्। 

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर विद्यार्थी भने मौन देखिएका छन्। अनेरास्ववियूका संयोजक महर प्रधानमन्त्री ओलीनिकट हुन्।

जन न्युज नेपाल खवर प्रतिनिधि सँग कुरा गर्दै सहसंयोजक तामाङले सत्ताको गाना गाउने कि स्वस्थ आलोचना गर्ने भन्नेमा एक मत नहुँदा अहिलेको विवाद भएको बताए।   

‘कसैले सत्ताको गाना गाउने अनि कसैले स्वतन्त्र आँखाले हेर्ने भन्ने त मिलेको थिएन नै। तर पछिल्लो समय शैक्षिक सत्र समस्यामा परेकोबारे अनेरास्ववियुले विद्यार्थीको हकहितमा बोल्नपर्‍यो, चासो र चिन्ता देखाउन पर्‍यो भनेर मैले विज्ञप्ति निकालेपछि अहिलेको अवस्था उत्पन्न भएको हो,’ तामाङले भने, ‘विज्ञप्तिको विषय ठिक थियो कि थिएन भन्ने बहस कसैले गरेको छैन। विज्ञप्ति किन निकालेको भनेर अनेकौ ढंगले कोकोहोलो गरिएको छ। विद्यार्थी आन्दोलन र अनेरास्ववियुको नीति नबुझेकाको कोकोहोलो गरेका हुन् जस्तो मलाई लागेको छ।‘

सुरूसुरूमा दुबैको हस्ताक्षर आउने गरेको भए पनि पार्टीमा अन्तरविरोध देखा परेपछि त्यसको असर तलसम्म परेको उनले स्वीकारे।

‘दुई अध्यक्षको बीचमा, सचिवालय र स्थायी कमिटीमा समस्या देखा पर्‍यो। विधिवत् ढंगले देखा पर्‍यो अनि विधिवत् ढंगले समाधान हुँदैछ तर विद्यार्थीमा जस्ताको तस्तै आयो र त्यसको नेतृत्व ऐनजीले गर्नुभयो,’ उनले भने, ‘छुट्टाछुट्टै संगठन हुँदा पनि हामी वाचडग भएर काम गरेकै हो। तर उहाँले एकल ढंगले विज्ञप्ति निकाल्ने काम गर्नुभयो। अनि असार २३ गते हार्दिक होटलमा पूर्वमाओवादी र वरिष्ठ नेता माधव नेपाल पक्षधर बाहेककाको भेला गर्नुभयो। पार्टी एक ढिक्का हुन्छ भनेर भन्नु पर्ने बेलामा उहाँले नै भेला सुरू गरेकाले समस्या आएको हो।‘

संगठनको प्रथम नेतृत्वको हैसियतले सबैलाई मिलाउने र  समझदारीको वातावरण बनाउने प्रयत्न संयोजकले नै गर्नुपर्ने तामाङको भनाइ छ।

शिक्षा क्षेत्रका ८१ लाख विद्यार्थी अन्यौलमा परेको बेलामा समेत संगठनका संयोजक लामो समयसम्म मौन देखिएको भन्दै तामाङले त्यसपछि मात्रै आफूले वक्तव्य निकालेको तर्क गरे। 

‘वक्तव्य आइसकेपछि ऐनजी मातहत चल्नेहरूले तथानाम भनेका छन्। अहिले त हाम्रो संवाद पनि छैन,’ उनले भने, ‘गुटगत भेला गरेपछि संवाद भएकै छैन। हुन त कोरोनाको कारणले पनि यस्तो भएको होला। यद्यपी यी कुरालाई मिलाएर लैजान पार्टीका नेताहरूमार्फत् हाम्रो कुरा भइरहेको छ।

अनेरास्ववियुका संयोजक महरले भने कोरोनाको कारणले धेरै मुद्दा उठाउने परिस्थिति नबनेको बताए। कोरोना संक्रमण भएको र सरकार आफ्नो ढंगले लागिरहेकाले घरमै बसेर सहयोग गर्नुपर्ने  उनको भनाइ छ।

‘लकडाउनमा घरमै बसेर सहयोग हुन्छ भन्ने मेरो बुझाइ हो। त्यसकारणले त्यही गरियो। अब केही साथीहरूले के-के गरे भन्ने सुन्दैछु। छलफल पनि गर्न पाएको छैन। अब यसलाई मिलाउनुपर्छ,’ उनले भने,’उहाँ (तामाङ)ले केही समयदेखि यस्तै गरिरहनुभएको थियो। उहाँ फरक संगठनबाट अभ्यास गरेर आउनुभयो। त्यहाँ के हुन्थ्यो त्यो त उहाँले जान्ने कुरा होला। तर अनेरास्ववियु छलफल र बहसका आधारमा चल्ने संगठन हो। अनेरास्ववियुको पाँच दशक लामो इतिहासमा आफूहरू एउटा विधि, पद्दति र अनुशासनको संस्कारमा हुर्केर आएको भन्दै उनले जति अन्तरविरोध र मतभेद भए पनि विधि पद्दति भन्दा बाहिर कहिले पनि नगएको दाबी गरे।

‘पार्टीमा यत्रो लफडा चलेको छ। कसैले अराजकता देखाउँछ भने रोक्ने संयन्त्र पनि हामीसँग छैन। उहाँले त्यही मौकाको फाइदा उठाउनुभएको हो,’ महरले भने, ‘म चुप लागेरै बसेको हो। धेरैलाई संयोजकको अनुमतिमा होला भन्ने पनि परेको रैछ। अब हुँदाहुँदा विज्ञप्ति मात्रै होइन ज्ञापनपत्र पनि बुझाउनु भएछ।‘

संयोजकको सहमति नभइकन सह-संयोजकले ज्ञापनपत्र बुझाएको थाहा पाएकाले विरोध र प्रतिवाद भएको महरको भनाइ छ।

‘शैक्षिक मुद्दा विद्यार्थी नेताले नै उठाउने हो। यस्तो लकडाउनमा देखावटी रूपमा गरेर के अर्थ हुन्छ भन्ने हो  उनले भने, ‘मैले धेरै बुझेको पनि छैन त्यही भएर धेरै बोल्दिनँ पनि। मैले मिलाउनु पर्छ, साथीहरूका कुरा सुन्छु। पार्टीको अन्तरविरोधको केही प्रभाव तल परेकै हो। पार्टीमा एक ढंगले समाधान उन्मुख भएको छ भने यसलाई सबैतिर समाधान उन्मुख बनाएर लैजानुपर्छ।‘

सबै जिम्मेवार हुनु पर्ने भन्दै समस्या समाधानका लागि पहल गर्ने उनले बताए।

‘जे कुरा सुनिएको छ त्यो राम्रो भएको छैन। छलफल गरेर जानुको विकल्प छैन। किनकी कारबाही र कुटाकुट गरेर समाधान हुँदैन,’ महरले भने,’हाम्रा सबै संरचान तयार भएका छैनन्। त्यसकारणले माथि नेतृत्वमा बढीभन्दा बढी छलफल गरेर समाधान खोज्नुपर्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४