दमकमा भुसको आगोसरि फैलिँदै कोरोना ।
जन न्युज नेपाल खबर
नमुना दहाल कार्की ।
दमक नगरपालिकामा कोरोना संक्रमण तीव्र भएको छ । समुदायस्तरमा भुसको आगोसरि कोरोना फैलिन थालेपछि स्थानीय त्रसित भएका छन् ।
क्वारेन्टाइनमा रहेका व्यक्तिमा मात्र नभई समुदायस्तरमा संक्रमणको दर बढेको हो। शनिबार मात्र दमकमा १६ जनामा संक्रमण पुष्टि भएको छ।
नगरपालिकाका जन स्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार संक्रमण पुष्टि भएकामध्ये एकजना औषधि व्यवसायी हुन्। उनको सम्पर्कमा सयौँ मानिस छन् ।
थपिएका संक्रमितमध्ये आठ जना क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् भने बाँकी कन्ट्याक टेसिङबाट नमूना संकलन गरिएका समुदायका व्यक्ति हुन्।
विद्युत प्राधिकरण दमक वितरण केन्द्रका ६ जनामा एकैसाथ संक्रमण देखिएपछि समुदायस्तरमा संक्रमणको रफ्दार बढेको हो। यसरी लगातार संक्रमित भेटिने क्रम बढेपछि गत शनिबारदेखिनै दमकमा लकडाउन गरिएको थियो ।