रमेश कुमार बोहोरा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पछिलो समयमा बिबादित बनेकी छिन् । अन्य कारणले नभई उनी आफ्नै क्रियाकलापले यो अवस्थामा आएकी हुन् । राष्ट्रपतिले आफ्नो सम्मानित पदको मर्यादा राख्नुभन्दा पनि पार्टीमा हस्तक्षेप गरेकाले उनी राष्ट्रपति मात्र कि नेकपाकी नेतृ पनि ? भनेर प्रश्न गर्ने प्रशस्तै ठाउँ र आधारहरु छन् । भण्डारी हिजो नेकपा एमालेको उपाध्यक्षसमेत भइसकेकाले उनलाई अझैपनि त्यही माया लागिरहेको छ । श्रीमान् मदनकुमार भण्डारीको त्रिशुलीमा रहस्यात्मक निधन भएपछि एकाएक राजनीतिमा चम्किएकी उनलाई अहिले आएर केपी शर्मा ओलीले साथ दिएकाले उनी सर्वोच्च शिखरमा पुग्न सफल भइन् । मदनलाई एमालेले मात्र होइन सबैले साझा नेताका रुपमा मान्ने गर्दथे र त्यतिबेला सबैले ‘बिचरा’ भनेर नै उनी चर्चित भइन् । निर्वाचनमा उठ्दा जितेकी उनले नेपालको राजनीतिमा ठूलो योगदान नगरे पनि अवसर भने पाइरहिन् ।
ओलीको कृपा पाएर दोस्रो कार्यकालमा पनि राष्ट्रपति बन्न पाएकी उनमा क्रमशः घमण्ड पन पलाउँदै आयो । घमण्ड र अहमताका कारण उनी अहिले नराम्ररी बदनाम भएकी छिन् । नेकपाको राजनीतिमा ठाडो हस्तक्षेप गर्ने उनले संस्थाको मर्यादा बचाउनभन्दा पनि पार्टीमा आफ्ना मान्छेलाई व्यवस्थापन गर्नतिर लागिन् । पार्टीमा पछिल्लो समयमा चर्को बिबाद भइरहँदा उनले दिनैपिच्छे विभिन्न नेतासँग तिव्र भेटघाट गरेकी छिन् । देश र जनताको प्रत्येक विषयमा गम्भीर र जिम्मेवार बन्नुपर्ने उनले पार्टीमोह त्याग्न नसकेकाले आलोचना खेप्नुपरेको छ । अहिले पार्टीमा आन्तरिक बिबाद भएकाले भण्डारी जसरी भए पनि प्रधानमन्त्रीको पद जोगाइदिने पक्षमा छिन् भने प्रधानमन्त्री पनि जसरी भए पनि राष्ट्रपतिको पद जोगाइदिने अभियानमा छन् । केही दिनअघि पार्टीको बैठकमा ओलीले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव गर्दा गर्ने चलखेल पार्टीभित्रबाटै भएकाले त्यो खतरा टार्न आफूले हतारमा आएर संसदको चालु अधिवेशन अन्त्य गरेको बताएका थिए । प्रतिनिधिसभामा कायम संसदको २५ प्रतिशत सांसदले महाअभियोगको प्रस्ताव दर्ता गरे राष्ट्रपतिले पनि दैनिक कामकाज गर्न पाउने थिइनन् । पार्टी एकता भएर नेकपा बनेपछि त्यसको प्रतक्ष्य फाइदा ओलीले र भण्डारीले पाएका छन् भने हिजोको नेकपा (माओवादी केन्द्र) ले पनि निकै फाइदा लिएको छ । तर एमाले र माओवादी नै एक अर्काको सहयोगले आफूहरु यो अवस्थामा आइपुगेको स्वीकार्न चाहँदैनन् । बेलाबेला यही विषयलाई लिएर पार्टीभित्र चर्को बिबाद र मतभेद हुँदै आएको छ ।