काठमाडौं । समाजवादी पार्टीले कारवाही गरेकी सरिता गिरीले पार्टीको सो कदमविरुद्ध अदालत जाने बताएकी छिन् । पार्टीले हिजो गरेको निर्णय वैधानिक नरहेको भन्दै सांसद गिरीले त्यसको विरुद्धमा आफू आज अदालत जाने बताइन् । आफू अदालत जाने तयारी गरिरहेको र आजै सर्वोच्च अदालतमा रिट दायर गर्ने उनले बताइन् ।
कुनै पनि सांसदलाई कारवाही गर्न संसदबाट निर्णय हुनुपर्ने दाबी गर्दै उनले संसदले सिफारिश गरेको आधारमा पार्टीको केन्द्रीय समितिले मात्र कारवाही गर्न सक्ने प्रष्ट पारिन् । ‘राजपा नेपालसँग एकीकरण गरेर जनता समाजवादी पार्टी बनिसकेको छ । केन्द्रीय समिति भंग भइसकेको छ । अन्य सबै गतिविधिहरु जनता समाजवादी पार्टीको तर्फबाट गरिएको छ तर मेरो बारेमा निर्णय गर्नका लागि मात्र समाजवादी पार्टीलाई क्रियाशील गरिएको छ’ उनले भनिन् ।