काठमाडौं । पूर्व प्रधानममन्त्री डा. बाबुराम भट्टराईले कोरोना भाइरसभन्दा ‘ओली प्रवृत्ति’ खतरनाक भएको बताएका छन् । उनले यस्तो प्रवृत्तिलाई सदाका लागि बिदा गर्न आह्वान गरेका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले ‘ओली प्रवृत्ति’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति टिप्पणी गरेका हुन् । उनले भष्मासुर, हिटलर, स्टालिनलगायतको कार्यशैलीसँग ओली प्रवृत्तिलाई तुलना गरेका छन् ।
यद्यपि स्पष्ट नाम उल्लेख नगरी डा. भट्टराईले फेसबुकमा लेखेका छन्, ‘अति भएपछि खति हुन्छ भनिन्छ । त्यसैले अब छिटोभन्दा छिटो सबै पार्टीहरू, संसद, अदालत, मिडिया, नागरिक अभियन्ता र आम जनताको सक्रियतामा यो कोरोना भाइरसभन्दा खतरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाका निम्ति बिदा गरौँ ! नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ !’
भष्मासुरसँग तुलना गर्दै डा. भट्टराईले लेखेका छन्, ‘ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरुपयोग गर्दै आफ्नै पार्टीका नेता, सांसद, विपक्षी दल, मिडिया, नागरिक अभियन्ता र आम जनता सबैको टाउकोमा हात राख्ने र आतंकित पार्ने हर्कत गरिरहेको छ ।’
स्टालिनसँग तुलना गर्दै भट्टराईले ओलीलाई झापा आन्दोलनमा चौध वर्ष जेल बसेको जस भजाएर सत्ता पाएपछि निरंकुश शैली अपनाएको टिप्पणी गरेका छन् । ‘पार्टीभित्र र बाहिरका विरोधीहरूमाथि विविध ढंगले दमन गर्ने, स्वेच्छाचारी र लहडी पाराले विकासका सपना बाँड्ने तर गलत नीति अवलम्बन गरेर देशमा चरम बेरोजगारी लगायत आर्थिक संकट निम्त्याउने, कोरोना संकटको बेला पार्टी फुटाउने खेलमा लागेर चरम गैरजिम्मेवारी काम गरिरहेछ,’ भट्टराईले लेखेका छन् ।