काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आइतबार कपनको एउटा गोदाममा छापा हान्दा १ लाख ६८ हजार मास्क बरामद गरेको छ । प्रहरीले कपनमा छापा हान्ने क्रममा मास्क कालोबजारी गर्ने कार्यमा संलग्न भारतीय नागरिकहरु सुरजकुमार गोयल र सुवास महेश्वरीलाई पक्राउ गरेको छ ।
उनीहरुकै समूहले काठमाडौंको सतुंगलमा पनि ठूलो मात्रामा मास्क लुकाएर राखिएको देखिएको थियो । प्रहरीले सतुंगलस्थित रोहित श्रेष्ठको घरमा रहेको गोदाममा छापा हान्दा झन्डै साढे ८ लाख थान मास्क बरामद गरेको छ ।
प्रहरीले आइतबार साँझ सतुंगलस्थित गोदाममा सिलबन्दी गरेर सोमबार बिहान खानतलासी गरेको थियो । तलासीका क्रममा १ सय ७५ वटा बोरामा लुकाएर राखिएको अवस्थामा ८ लाख ५० हजारको हाराहारीमा मास्क बरामद भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।
मास्क लुकाइको भन्ने विशेष सूचनाको आधारमा शनिबार काठमाडौंको डल्लु क्षेत्रमा छापा मार्दा प्रहरीले ७८ हजार थान मास्कसहित ८ जनालाई पक्राउ गरेको थियो । यस्तै आइतबार साँझ कपनबाट १ लाख ६८ हजार र सतुंगलबाट ८ लाख ५० हजार गरी अहिलेसम्म करिब १० लाख ९६ हजार थान मास्क बरामद भएको जनाइएको छ ।