रमेश कुमार बोहोरा
काठमाडौं । बुधबार दुईवटा राप्रपाबीच एकता भएको छ । एकता घोषणासभामा उनीहरुले अब कहिल्यै पनि नफुट्ने प्रतिबद्धता जनाएका छन् ।
राप्रा नामका विभिन्न पार्टी एक हुने र विभाजन हुने रोग पुरानै हो । सानो स्वार्थका कारण पनि फुट्न जानेका उनीहरुको यो एकतालाई पनि त्यही ढंगले हेरिएको छ । कमल थापा अध्यक्ष रहेको राप्रपा र पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी दुबैजना अध्यक्ष रहेको राप्रपा (संयुक्त) बीचको एकतासभामा भेला भएका नेता तथा कार्यकर्ताले पनि पार्टीलाई एक ढिक्का बनाएर लाने प्रतिबद्धता जनाएपनि विश्वासिलो आधार भने बन्न सकेको छैन । पूर्व पञ्च भनेर चिनिएका उनीहरुमा एउटा निश्चित एजेण्डा नभएकाले पनि सधैं अलमलमा पर्दै आएका छन् ।
थापा राजसंस्थाको एजेण्डामा खुलेरै लागेका छन् भने राणाले गणतन्त्र स्वीकारिसकेका छन् । उता लोहनी भने विचार र सिद्धान्तमा त्यति प्रष्ट भइसकेका छैनन् । थापाले गिताको पुस्तक छोएर अब कहिल्यै पनि पार्टी नफुटाउने भनेर गरेको बचनबद्धता पनि केबल देखाउटीमात्र भएको छ । संसदमा रहेर राजसंस्था र हिन्दुराष्टको एजेण्डाको व्यापार गर्ने उनी पनि क्रमशः कमजोर भइसकेका छन् । जुनसुकै सरकार आएपनि सधैं उपप्रधानमन्त्री बन्नुपर्ने उनको अडानले उनको राजनीतिमा नराम्रो छाप छोडेको छ ।
थापा २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुर १ बाट पराजित भए । उता राणा र लोहनीको तुलनामा थापासँग केही मान्छे बढी भएपनि उनले कार्यकर्तालाई संरक्षण गरेर राख्न सकेका छैनन् । लोहनी आफूसँग भिजन भएकाले सबै मेरो पनि लाग्नुपर्छ भन्ने सोचमा छन्, राणा भने आफू झन् पुरानो राजनीति खेलाडी र विकासप्रेमी भएकाले सबैको विश्वास जित्ने दावी गर्छन् तर सबैमा कुनै न कुनै एक गुणको कमी भएकाले सबै नेताहरु संकटमा पर्दै आएका छन् ।