काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले देशको स्वाधिनता र जनताको सार्वभौमिकता रक्षार्थ सर्वहारा वर्गीय नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकत्ता बढेको बताएको छ ।
नेपाली जनतासमक्ष देशभक्तिपूर्ण संस्कृति निर्माणको सशक्त आह्वान गर्दै पार्टीले हालै आयोजना गरेको ‘मेची–महाकाली देशभक्त जनसांस्कृतिक अभियान’ सफलतापूर्वक सम्पन्न भएकोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोपाल किरातीले यस्तो बताएका हुन् ।
अध्यक्ष किराँतीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशद्रोहीको अपराध गरेमा आफ्नो पार्टीले निर्माण गर्ने जनसेनाले टुँडीखेलमा झुण्डयाउने समेत उद्घोष गरे ।
अध्यक्ष किराँतीको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘२५ औं जनयुद्ध दिवसको अवसरमा ०७६ फागुन १ गते पूर्वको मेचीनगरमा उद्घाटन गरी २७ गते पश्चिमको महाकालीनगरमा समापन गरिएको पैदल यात्राको अभियान कष्टसाध्य र गौरवपूर्ण रह्यो । केन्द्रीय अभियान टोलीमा पार्टी अध्यक्ष क. गोपाल किराती, प्रदेश १ अध्यक्ष क. विमल निरौला, प्रदेश ३ उपाध्यक्ष क. प्रकाश दाहाल, राष्ट्रिय पहिचान मोर्चाका प्रतिनिधि तथा किराती राट्रिय मुक्ति मोर्चाका अध्यक्ष क. शाहस राई र अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष क. कुमार राई बान्तवा हुनुहुन्थ्यो । उक्त अभियानमा प्रदेश २ अध्यक्ष क. बब्लु ठाकुर, प्रदेश ५ अध्यक्ष क. अबिन गोतामे र पार्टी उपाध्यक्ष तथा प्रदेश ७ ईन्चार्ज क. रंगनाथ ढकाल लगायत सम्बन्धित प्रदेशमा दर्जनौ कम्रेडहरुले ऐतिहासिक यात्रा गर्नुभयो ।’
मेची–महाकाली पैदल यात्राको आफ्नो पार्टीको अभियान ईन्डो–प्यासिफिक सैन्य रणनीति र एमसिसी सम्झौताद्वारा नेपाललाई साम्राज्यवादी युद्धको अखडा बनाउने अमेरिका तथा नेपाली भूमि हडप्ने विस्तारवादी भारतविरुद्ध देशभक्त जनप्रतिरोध सँस्कृति निर्माणको सन्देश स्थापित गर्न सफल भएको समेत अध्यक्ष किराँतीले दाबी गरे । ‘हात्ती र बाघको जोखिमका कारण निकुञ्ज ईलाकामा बस÷गाडी प्रयोग गर्नु परेको मेची–महाकाली पैदल अभियान नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा अभूतपूर्व राजनीतिक अभियान बन्यो ।’–उनले भने ।
विज्ञप्तीमा थप भनिएको छ,‘देशभक्त जनसाँस्कृतिक अभियानको प्रारम्भिक चरणलाई निम्न बुँदामा संश्लेषण गर्न सकिन्छ ः १. नेकपा (माओवादी केन्द्र) देश र जनताको पक्षमा फेरी पनि बलिदान गर्न दृढतापुर्वक अग्रसर छ । त्यसर्थमा माओवादी केन्द्र देशको प्रवक्ता बन्न सक्छ । २. अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवाद र स्थानीय दलाल पुँजीवाद विरुद्ध दीर्घकालीन प्रतिरोध संघर्ष लड्न देशभक्त जनसेना निर्माणको अपरिहार्य आवश्यकता छ ।’
नेपाली सेना र प्रहरी सरकारी फौज भएकोले सरकारको निर्देशनमा रहनुपर्ने उक्त पार्टीको ठम्याई रहेको छ । विज्ञप्तीमा भनिएको छ,‘तर, खड्ग ओली सरकार भने नेपाललाई अफगानिस्तान वा इराक बनाउन खोज्ने अमेरिकी साम्राज्यवाद र सिक्किम, भुटान वा फिजी बनाउन खोज्ने भारतीय विस्तारवाद सामु लम्पसार परेको छ । अतः देशको स्वाधीनता र जनताको सार्वभौमिकता रक्षार्थ सर्बहारावर्गीय नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकता बढेको छ । यद्यपि जनसेना निर्माण कहिले र कसरी गर्ने भन्ने सम्बन्धमा पार्टीमा व्यवस्थित छलफल एवं नेपाली जनसमुदायमाझ बहस अभियान सञ्चालन गरी शान्तिपूर्ण सडक आन्दोलन हुँदै निर्वाचन उपयोगको कार्यनीति र महान जनविद्रोहको रणनीतिमा अघि बढ्नुपर्छ ।’
अध्यक्ष किरातीले मोहन बैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ सँग कार्यगत एकताको लागि छलफल भैरहेको पनि स्पष्ट पारे । आफ्नो पार्टी एमसीसी र सीमाको विषयमा दश दलीय मोर्चामा आवद्ध रहेकोबारे उनले प्रकाश पारे ।
महासचिव कर्णजीत बुढाथोकीले आन्तरिक तथा बाहृय हस्तक्षेप आफ्नो पार्टीलाई स्विकार्य नहुने स्पष्ट पारेका छन् । उनले भने,‘हामी आम जनताको अपार माया र स्नेहका साथ अघि बढेका छौं । अहिलेको शासक वर्गले मुलुकमा फेरी द्वन्द्व र युद्ध चाहेकोजस्तो हर्कत गरिरहेको छ ।’
कार्यक्रममा पार्टीका उपाध्यक्ष तिलक थापाले उपरोक्त ऐतिहासिक अभियानमा सक्रिय सहयोग गर्ने मित्रहरु र शुभेच्क्षुक सबैमा आभार प्रकट गर्दै विभिन्नस्तरमा जारी देशभक्त जनसाँस्कृतिक अभियानद्वारा कठोर देशभक्त जनसँस्कति निर्माण आन्दोलनमा जुट्न नेपालीजनसमक्ष जोडदार आह्वान गरेका थिए ।
साथै, उक्त पार्टीले कोरोना भाइरस विरुद्ध ऐक्यवद्धता जाहेर गर्दै हात मिलाउने प्रचलन अन्त्य गरी पार्टी अभिवादनमा लालसलाम र सामाजिक शिष्टाचारमा नमस्ते÷सेवारो÷जोजोलपा अख्तियार गर्न पार्टीपंक्ति र समर्थक जनसामुदायमा हार्दिक आग्रह समेत गरेको छ ।