रमेश कुमार बोहोरा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको उपचारपछि प्रधानमन्त्री पनि उत्साहित भएका छन् ।
उनको उपचारअघि विभिन्न ठाउँमा मैनबत्ति बालेर स्वास्थ्यलाभको कामना गरिएको थियो । १३ वर्षअघि भारतमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीले नेपालमै उपचार गराउनुलाई धेरैले सकारात्मक कदमका रुपमा हेरेका छन् । उनी उपचारमा जानुअघि आफू स्वस्थ्य भएर फर्कने र जोश जाँगरका साथ काम गर्ने प्रतिवद्धता जनाएका थिए । ओलीले जहिले पनि आँटिला र जोशिला व्यक्तिका रुपमा चिनिएकाले गर्दा पनि उनले आफ्नो स्वास्थ्यलाई खासै चिन्ताको रुपमा लिएनन् । विरामी भएपनि आफूलाई केही पनि नभएको भन्दै आएका ओलीको अबको यात्रा के हुने हो भन्ने अनुमान पनि गरिएको छ । ओलीले देश र जनताका पक्षमा काम गर्ने भनिरहेका बेला के साँच्चै उनी त्यसप्रति प्रतिबद्ध हुन्छन् कि हुँदैनन् भन्ने पनि प्रश्न उठेको छ ।
सरकार बनेको २ वर्ष बितिसकेको छ तरपनि जनताले सोचेअनुसारको विकास र समृद्धि नभएकाले विभिन्न आलोचनाका बीच ओली दौडिइरहेका छन् । भारतले ४ वर्षअघि लगाएको नाकाबन्दीको विरोधमा आफ्नो प्रष्ट अडान लिएकाले गर्दा पनि जनताले उनलाई पत्याएर पार्टीको नाममा धेरै मतदान गरे । नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) मिलेर बनेको नेकपाले चलाएको सरकारप्रति जनता क्रमशः निराश हुँदै गएका छन् । एकातिर पार्टी एकता भएपनि व्यवहारमा त्यस्तो देखिन सकेको छैन । बोली र व्यवहारमा आकाश जमिन फरक भएकाले पनि जनताले दिनैपिच्छे प्रश्न गर्ने अवस्था सिर्जना भएको हो ।
स्थायी सरकार बनेपछि विकास र प्रगति हुन्छ भन्ने नेकपाको भनाई केवल आश्वासनमा मात्र सिमित भएको छ । एकपटक जनताले मत दिँदैमा सधैं उनीहरु आफ्ना पक्षमा छन् भन्ने पनि होइन । कार्यकाल नसकिँदै सांसदलाई फिर्ता गर्ने व्यवस्था नभएकाले पनि बीचमा जनता आफ्नो पक्षमा छन् कि छैनन् भन्ने बुझ्न नेताहरुलाई समस्या परेको छ ।
२०७० सालको संविधानसभामा यसबारे छलफल भएपनि निर्णय हुन सकेन । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे प्रशस्तै छलफल भएपनि सांसदहरुले नै अहिले नै हामी यो अवस्थामा पुगिसकेका छैनौं भनेर विरोध जनाएका थिए । यसरी फिर्ता गर्ने व्यवस्था लागू भएको खण्डमा भने जनप्रतिनिधिहरु सधैं जनताप्रति जिम्मेवार बन्नेमा शंका हुने थिएन ।