काठमाडौं । अर्थतन्त्र बुझेका अर्थमन्त्री युवराज खतिवडा भनिएपनि उनको २ वर्षे कार्यकाल जनताको पक्षमा त्यति राम्रो हुन सकेको छैन । कर्मचारीतन्त्रबाट आएका उनको सोच कर्मचारीमुखी नै रहेको आरोप लागिरहेको छ । दुईवर्षसम्म उनका गतिविधिले अर्थतन्त्रमा सुधार गर्न सकेको छैन । तर, बुझ्नेहरु भने उनको योजना दीर्घकालीन भएको र आगामी दिनमा अर्थतन्त्रमा सुधारका संकेत देखिने बताउँदै आएका छन् । सामान्य अवस्थामा भित्री ढंगले काम गर्दै आएका उनी फेरि पनि राष्ट्रिय सभामा दोहोरिने संकेत देखा परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको एकमात्र उम्मेदवार भएकाले पनि खतिवडाको पुनरागमन हुने सम्भावना बढेको हो । अर्थतन्त्रलाई उकास्न नसकेको, शेयर बजार डुबाएको र जनताको पक्षमा योजना बनाउन नसकेको आरोप उनलाई लागेको छ । प्रधानमन्त्री ओलीले च्यापेपछि खतिवडा फेरि पनि ६ वर्षको लागि राष्ट्रियसभामा मनोनित हुने सम्भावना बढेर गएको छ । यदी उनी कुनै कारणले फेरि मनोनित भएनन् भने अवको बजेट उनले नै ल्याएर विदा हुनेछन् । संविधानले कुनै पनि व्यक्तिलाइ सांसद नभएपनि ६ महिनासम्म मन्त्री हुने व्यवस्था गरेको छ । संविधान अनुसार नै जेठ १५ गते बजेट ल्याउनु पर्ने बाध्यता छ ।