१३ जेठ, नेपालगञ्ज । नेपालगञ्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडमा रु २५ करोडभन्दा बढी अपचलन भएको छ । सहकारी वित्तीय संस्थामा कार्यरत केही कर्मचारीबाट ठूलो परिमाणमा रकम अपचलन भएको संस्थाको सञ्चालक समितिले जनाएको छ ।
ग्राहकको करीब रु ५२ करोड मौज्दात जम्मा गरेको संस्थामा रु २५ करोड अपचलन हुँदा बचतकर्ताले जम्मा गरेको रकम निकाल्न पाएका छैनन् । बचतकर्तालाई दिने रकम नभएपछि आइतबारदेखि संस्थाको बोर्ड बैठकले बैंकिङ कार्यालय नै बन्द गरेको छ ।
बचत रकम झिक्न नपाएपछि ग्राहकले आइतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर आफ्नो बचत फिर्ता गराइदिन जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएका छन् । सहकारी वित्तीय संस्था लिमिटेडमा एउटै व्यक्तिको रु ३० लाखसम्म बचत रहेको छ ।
