काठमाडौँ । निर्वाचनको पीडाले ‘थिलथिलो’ काँग्रेसले जीवन भर्ने अपेक्षा गरिएको केन्द्रीय कायसमितिको बैठक आइतवार सकिएको छ ।
पराजयलाई स्वभाविक ‘लिनुपर्ने’ सभापति शेरबहादुर देउवापक्षको अडान र कठोर समीक्षा गर्नुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला समूहको प्रस्तावबीच बैैठक सकिएको हो ।
१४ दिन बसेको बैठकमा लिखित÷अलिखित दर्जर्नौ प्रस्ताव पेश भए । तर, बैठक सहमतिमा टुंगिन सकेन । बरिष्ठ नेता पौडेलले बैठक सकिँदासकिँदै पत्रकार सम्मेलन गरेर आफ्नो असन्तुष्टि पोखे ।
बैठकलाई काँग्रेसको संस्थापनपक्षले ‘उपलब्धीमूलक’ ठानेको छ भने पौडेल/सिटौला समूहले ‘झारा टार्ने’ भनेको छ ।
माग धेरै, सम्बोधन थोरै
बैठक बैशाखमा बस्यो तर नेता पौडेलेले फागुनमा सभापतिलाई लेखेको पत्रले पनि चर्चा पायो । पत्रमा पौडेलले निर्वाचनमा पार्टीको पराजयलाई सभापति देउवाको कार्यक्षमता र शैलीलाई जिम्मेवार ठानेका थिए । फागुन १३ मा वसेको केन्द्रीय कार्यसमितिको बैठकमा पौडेलले सभापतिलाई पत्र लेखेका थिए, जुन अहिलेको बैठकमा पनि चर्चामा रह्यो । देउवापक्षीय नेताले पत्रलाई आधार बनाई पौडेलप्रति खनिए ।
पौडेलले आफ्नो पत्रमा देउवालाई संसदीय दलको नेता, सभापति, प्रधानमन्त्री बन्ने इच्छा पूरा भएकोले सानो समूहको संरक्षक मात्रै नवन्न आग्रह पनि गरेका थिए । पौडेलले सभापतिलाई आफ्नो गुटको भरणपोषणमा केन्द्रित भएको आरोप लगाएका थिए ।
काँग्रेस पराजयको मुख्यकारण वामदलको गठबन्धनलाई मानिरहेको संस्थापन पक्षलाई पौडेलले वामगठबन्धन सहायक कारण मात्रै भएको उल्लेख गरेका थिए । पौडेलको तर्क थियो, ‘यो वास्तवमा सहायक कारण हो, मुख्य कारण कांग्रेसको आन्तरिक शक्ति नै अत्यन्त कमजोर हुन पुग्नु हो कांग्रेस नेता पौडेलले जन न्युज नेपाल खबरलाई बताए ।