Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल बिद्यार्थीसंघ को अबको कोण हो।


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ६ २०७५
  • 8.5K
    SHARES

 

जन न्युज नेपाल खबर डट कम

२०७५ बैशाख ६ बिहीबार

जहाँनिया राणा शासनको पतन र नेपालकै पहिलो संसदीय निर्वाचन २०१५ मा दुई तिहाइ बहुमत हासिल गरेको बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसको सरकारले सामन्ती शासन प्रणालीविरुद्ध आमूल परिवर्तन गरी गरिब नेपालीको जीवनस्तर सुधार्नका लागि चालेको कदमबाट हतप्रद राजा महेन्द्रले २०१७ पुष १ गते ‘कु’ गरेर लोकतन्त्र समाप्त पारे । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालगायत कांग्रेस नेता कार्यकर्तालाई छानीछानी कैद गरे । अनि आफ्नो अधिनायकवादी शासन लागु गर्न निर्दलीय पञ्चायती व्यवस्था जनतामाथि थोपरे । यही शाही निरंकुशताविरुद्ध बहुलवादी लोकतन्त्रको पुनः स्थापनाको संघर्षकै पृष्ठभूमिमा २०२७ साल वैशाख ६ गते सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)बाट नेपाल विद्यार्थी संघको उद्घाटन भएको थियो । दुर्गानन्द झादेखि राम, लक्ष्मण, कामेश्वर, कुशेश्वर, लिला, ठगि, महेश, केशव, भरत बाबु, लोकबहादुर हँुदै राजन गिरी सम्मका धेरै सहिदले लोकतन्त्रको स्थापना र विद्यार्थी हकहितका पक्षमा सहादत प्राप्त गरी निर्माण भएको रक्तरंजित कलम र मसाल अंकित झन्डा नै नेविसंघको बलिदानीपूर्ण इतिहासको गाथा हो ।

आफ्नो स्थापना कालदेखि नै जनताको स्वतन्त्रता, समानता र सर्वोच्चताको पक्षमा र प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक एवम् शैक्षिक, सामाजिक आन्दोलनहरूको अग्रमोर्चामा उभिएको नेविसंघको भूमिका अब भने परिवर्तीत हुनु आवश्यक छ । समसामायिक शासन प्रशासन तथा विद्यार्थी राजनीतिमा देखिएको विकृति, विसंगतिविरुद्ध मात्रै होइन गणतन्त्र नेपालले सुम्पिएको नयाँ दायित्व पूरा गर्न अग्रसर हुन आवश्यक छ ।

नेपाल विद्यार्थी संघभित्र आज केही समस्या तथा अलमल देखिएका छन । यसको प्रमुख कारण मातृ पार्टी नेपाली कांग्रेस पनि हो । पार्टी सभापति शेरबहादुर देउवादेखि लिएर अधिकांश नेता नेविसंघ पृष्ठभूमिका हुन् । त्यसैले होला पार्टी नेताका गुटउपगुटको प्रतिविम्ब संघमा पनि देखिएको छ । पार्टी नेताहरूको स्वार्थ बाझिँदा विद्यार्थी नेता पनि विभाजित भएका छन् । फलस्वरूप, शिक्षण संस्थामा संगठन फितलो हुन पुगेको छ । त्यसको असर स्ववियु निर्वाचनमा प्रष्टरूपमा देखिएको थियो । ठूला नेताको आशीर्वाद पाएका संघका पदाधिकारीहरू संगठनिक निर्णयमा भन्दा व्यक्तिगत स्वार्थी लहडमा चल्नाले आन्तरिक लोकतन्त्रको अभ्यास रुग्ण भएको छ । एक आपसमा चाकरी चाप्लुसीको कुसंस्कृति झाँगिएर विद्यार्थी हकहित तथा राष्ट्रका गम्भीर समस्या ओझेलमा परेका छन् । यसतर्फ न त पार्टीका शीर्ष नेताको चिन्ता देखिन्छ न विद्यार्थी नेताको सरोकार । पार्टी संगठनमा जसरी पनि स्थापित हुने र त्यसको आडमा विभिन्न शक्ति आर्जन गरी आफूलाई अब्बल दर्जामा पु¥याउने होड नेताहरूमै देखिएको छ । यस्तै मानसिकताबाट विद्यार्थी नेता पनि ग्रसित छन् ।

आजको समयमा स्कूले जीवनदेखि नै विदेशिने लक्ष्य राख्ने नयाँ पुस्तालाई राष्ट्रियता, लोकतन्त्र र समाजवादको उत्कृष्टतम आदर्शमा आकर्षित गर्नसक्नु पर्छ । साधारण गरिब किसानको समृद्धि र हक स्थापित गर्ने सिद्धान्त प्रतिपादन गर्ने जननायक बीपी कोइरालालाई समेत यी पात्रका  प्रवृत्तिले मानमर्दन गरेको छ । नेपाल विद्यार्थी संघको संगठन आधार भनेकै सरकारी क्याम्पस हुन् । तर, आज सरकारी क्याम्पसको अवस्था दयनीय छ । पठनपाठनको स्तर कमजोर र संगठन फितलो हुँदा विद्यार्थीको भर्नामा ह्रास आएको छ । फलस्वरूप, धनीका छोराछोरी निजी तथा गरिबका सन्तान गुणस्तरहीन सरकारी शिक्षण संस्थामा पढ्न बाध्य छन् । त्यसबाट समाजमा गरिब र धनीबीचको खाडल आगामी दिनमा अझ विकराल हुने देखिन्छ । यसतर्फ सिंगो देशको ध्यान जानुपर्ने हो तर हाम्रो नेताको चिन्तनको विषय वस्तुमा यस्ता विषय नपर्नु विडम्बना बाहेक के हुनसक्छ र ?

जनअधिकार तथा लोकतन्त्रका लागि पौने शताब्दी संघर्ष गरेको दलको भातृ संगठनले करिब पचास वर्षमा पुग्दा जम्मा ११ औँ महाधिवेशनमात्र गरेको छ भने जसबाट १८ जना अध्यक्ष भएका छन् । यसैबाट पनि प्रष्ट हुन्छ नेविसंघ कमजोर आन्तरिक लोकतन्त्र र टीके तदर्थवादले ग्रसित छ भन्ने । यस्तो गतिविधिले संगठन कहिल्यै सबल र चुस्त हुनसक्तैन । विधानअनुसार नेपाल विद्यार्थी संघको निर्वाचन प्रत्येक २ वर्षमा हुनुपर्नेमा कांग्रेस नेतृत्वले आफ्नो स्वार्थ सिद्धिमा प्रयोग गर्न सहज हुने तदर्थवाद संघभित्र बेलाबेलामा प्रवेश गराएका छन् । यसका लागि दलका नेता प्रमुख र विद्यार्थी नेता सहायक दोषी हुन् । फलस्वरूप दल र संगठनमा मौलाएको यस्तो विसंगतिपूर्ण कुचव्रmले नेता कार्यकर्ताको भावनात्मक सम्बन्ध यान्त्रिक हुन पुगेको छ । यसकारण सिंगो संगठन ऊर्जाविहीन बन्दै गएको त राष्ट्रिय राजनीतिमा खुम्चिएको कांग्रेस आकारबाट प्रष्ट हुन्छ । अब, कांग्रेसको नर्सरीको रूपमा रहेको नेपाल विद्यार्थी संघलाई प्रभावकारी बनाउनुको विकल्प मातृ पार्टीसँग छैन ।

हिलोमा कमलको फूल फूले झैँ, नेपाल विद्यार्थी संघको करिब आधा शताब्दी अघिदेखिको बलिदानीपूर्ण ऐतिहासिक पृष्ठभूमिको प्रभावले अझै पनि कैयाैँ प्रतिभाशाली लोकतन्त्रवादी साथीहरू  संघमा आवद्ध हुनुुहुन्छ । उनीहरू राष्ट्र र विद्यार्थी हकहितको आन्दोलन अब २१औँ शताब्दीसँग तादात्म्य राखेर छुटै कोणबाट उठाउन चाहन्छन् । यस्तो आन्दोलनको नेतृत्व गरेर आउने साथीको पक्षमा स्वयम आफूलाई आबद्ध गर्न चाहन्छु । आज नेपाल विद्यार्थी संघको ४९ औँ स्थापना दिवसको पावन अवसरमा विद्यार्थी राजनीतिमा मात्र होइन समग्र पार्टीपंक्तिलाई नै सही बाटामा ल्याउने अभिभाराको प्रारम्भ नेपाल विद्यार्थी संघले गर्नुपर्छ । स्थापना दिवसको मनाउँदै गर्दा संघका सबै सदस्यले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नवीन चिन्तनका साथ नयाँ इतिहास निर्माणमा जुटी समतामूलक समाज निर्माणमा अग्रसरता लिने सामूहिक प्रण गर्नु जरुरी छ । जन न्युज नेपाल खबर द्दारा प्रकाशित  समाचार :

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४